
काठमाडौँ | पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार शुक्रबार बिहान भएको दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको हो । उनका अनुसार ओख्ले भीर भन्ने ठाउँबाट बस करिब दुई सय मिटर तल खसेको छ ।
मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जानकारी एसपी कार्कीले दिए । प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर घटनाको विवरण संकलन गरिरहेको छ ।