पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३०, चितवन | नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ ।

नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवसरमा खाना महोत्सव आयोजना गरिएको शाक्यले बताउनुभयो ।

बिहीबार साँझदेखि शुरु भएको महोत्सवको उद्घाटन भरतपुर महानगरपालिकाका प्रमुख रेणू दाहालले गर्नुभएको थियो । नेवाः पुचः नारायणगढको आयोजनामा भइरहेको यो महोत्सवमा विभिन्न खानाका परिकारसहित ६० वटा स्टल राखिएका छन् भने चार वटा विशेष स्टल रहेका छन् ।

फेस्टिबलमा करीब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । ‘क्याम्पाचौर जाऔँ, नयाँ वर्ष मनाऔँ’ भन्ने मूल नाराका साथ आयोजना भएको खाना महोत्सवमा नेवारीलगायत विभिन्न जातजातिको खाना प्रदर्शन गरिएको छ । यस अतिरिक्त राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।

यसअघि नेवाः पुचःले चितवन महोत्सवका बेला खाना महोत्सव गर्दै आएको थियो । रासस