२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पुगेर प्रधानमन्त्रीले के-के भने ? हेर्नुहोस्

११ आश्विन २०७५, बिहीबार ०९:३७

असोज ११, न्यूयोर्क | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त रूपमा दिएको अन्तर्वार्तामा एउट मानिस सम्पूर्ण मानिस हुनुपर्ने र जसले मानवलाई पूर्णता दिनसक्छ त्यही नै पूर्ण प्रजातन्त्र भएको स्पष्ट गर्नुभयो । “हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन”, एक प्रश्नको उत्तरमा उहाँले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले अघिल्लो पटक र यस पटक अमेरिका भ्रमण गर्दाको नेपालको अवस्था निकै फरक रहेको बताउँदै नेपाली जनताले प्राप्त गरेको उपलब्धिका विषयमा विश्वलाई जानकारी दिने र नेपाली जनताको प्रगतिमा उनीहरूको सहयोग जुटाउने आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीसँग लिइएको अन्तर्वार्ताको सम्पादित अंशः 

प्रश्न: यस पटक प्रधानमन्त्रीका रूपमा आउँदा कस्तो अनुभव भइरहेको छ ? 

– म सन् २००६ मा अमेरिका आउँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रूपमा प्रतिनिधिमण्डलको नेताका रूपमा आएको थिएँ, अहिले प्रधानमन्त्रीका रूपमा आएको छु । त्यसबेला शान्ति प्र्रक्रिया चलिरहेको थियो । संविधानको स्वरूप अनिश्चित थियो । संविधानसभाको निर्वाचन भएको थिएन । राजतन्त्रको अन्त्य भएको थिएन । 

विघटित संसद् पुनःस्थापना भएको थियो । संसद्ले आफ्नो अधिकार सबल ढङ्गले प्रयोग गरेको थियो । राजतन्त्रका अधिकारलाई समाप्त पारी संवैधानिक हैसियतमा राखिएको थियो । पुनःस्थापित संसद्ले राजसंस्थाका सम्पूर्ण अधिकार आफूमा राखेको थियो । राजतन्त्र जीवित थियो तर राष्ट्रप्रमुखको हैसियत नरहेपछि राजतन्त्र भ्रमका रूपमा थियो । त्यसलाई पुनः बिउँतिन नदिन विधिवत् अन्त्य गर्नुपर्ने थियो । राज्यको पुनःसंरचनासम्बन्धी प्रश्न, शान्ति प्रक्रिया र बृहत् शान्ति सम्झौता टुङ्गो लागेका थिएनन् । युद्धविरामसम्म भएको थियो र पुनःस्थापित संसद्लाई पुनःगठन गर्ने कुरा चलिरहेको थियो । सङ्क्रमणमा प्रवेश गरेको तर टुङ्गो लागेको थिएन र जनता शक्तिशाली हुने संविधान बन्ने अपेक्षा थियो । मानिसमा जिज्ञासा थियो, ‘‘माओवादीले हतियार बिसाएको छ अब के हुन्छ ?’’ यी प्रश्नको जवाफ नआएको अस्थिर अवस्था थियो । 

आज संविधान, गणतन्त्र र सङ्घीयता आएका छन् । सङ्घीयताका तीन तहका निर्वाचन भएका छन् । दुई सदनात्मक संसद् बनेको छ । प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकाय बनेका छन् । स्थानीय तहका ७५३ पूर्ण सरकारका रूपमा र ७७ जिल्ला समन्वय समिति बनेका छन् । 

माओवादी सम्पूर्ण रूपमा हतियार बिसाएर शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक धारमा हिँडेको छ । लडाकु व्यवस्थापन गरी सरकारमा आएको छ र शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक बाटामा हिँडिरहेको पुरानो पार्टी नेकपा एमालेसँग एकता गरी एकीकरण भएको छ । आमूल परिवर्तनको अवस्था छ । भिन्न परिवेशमा भिन्न अनुभव गरेको छु । आफैँले सञ्चालन गरेको र आफैँले नेतृत्व दिएको शन्ति प्रक्रियालाई पूर्णता दिएर आएको असाधारण उपलब्धि र अनुभव साझेदारी गर्ने अवसर पाउँदा बेग्लै अनुभव हुन्छ । अगाडि बढ्ने आशा र विश्वास हुन्छ । 

प्रश्न: महासभा महाधिवेशन बाहिर भेटघाटमा कस्ता अभिव्यक्ति आए ? 

मैले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गरेँ । बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेँ । क्यानडाका प्रधानमन्त्रीसँग द्विपक्षीय भेट गरेँ । भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेट गरेँ । औपचारिक वा अनौपचारिक ढुङ्गले भेटघाट भइरहेका छन् । 

हाम्रो शान्ति प्रक्रिया र लोकतान्त्रिक आन्दोलन अनौठो कथाजस्तो भएको छ । सुन्दा उहाँहरू खुशी हुनुहुन्छ र अगाडि जाने कुरामा उहाँहरूले विश्वास र सहकार्यको सङ्केत दिनुभएको छ । कोलम्बियाका राष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया उदाहरणीय भएको बताउनुभयो । अरूले पनि शान्ति प्रक्रिया पूरा भएको, स्थायित्व आएको, संविधानको सर्वग्राह्यता स्वीकार्य भएको र निर्वाचन भएकामा खुशी व्यक्त गर्नुभएको छ । अब नेपाल अगाडि बढ्छ भन्ने विश्वास उहाँहरूमा मैले पाएको छु । 

प्रश्न: भोलिको महासभालाई सम्बोधन गर्दा के सन्देश दिन खोज्नुभएको छ ? 

– नेपालले उपलब्धि हासिल गरेका कुरालाई प्रस्तुत गरिनेछ । नेपालमा शान्ति स्थापना भएको र अब विश्वशान्ति, बन्धुत्व, सहकार्य, पारस्परिक सहकार्यको पक्षमा रहेको कुरा उल्लेख गरिनेछ । गरीबी, भोकमरी र अशिक्षा नभएको मानव समाजलाई व्यवस्थापन गर्न सरकार बनेको छ । यस कारणले समृद्धिभन्दा समस्यातर्फ जाने अवस्था नहोस् भन्नेमा हामी सचेत छौँ । 

हाम्रो मित्रता सबैसँग छ शत्रुता कसैसँग छैन । सार्वभौमसत्ता सम्पन्न मूलुकका रूपमा काम गरिनेछ, पारस्परिक सम्बन्ध, मित्रता र सहकार्यलाई अगाडि बढाइनेछ । हामीले ल्याएको प्रजातन्त्रप्रति हामी दृढ छौँ र बलियो बनाउन सजग छौँ । हाम्रो आधार ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । पूर्ण प्रजातन्त्र त्यो हो जसले मानवलाई पूर्णता दिनसक्छ, राजनीतिक अधिकारको नाराका रूपमा मात्र होइन । हामी आफ्नो प्रयासलाई अगाडि बढाउने अरू मित्रलाई त्यसैमा लगाउने प्रयासमा छौँ । 

सहयोग, लगानी र ऋण आफ्ना आवश्यकताका आधारित भएर स्वीकार गर्ने कुरा हुन् । हामी सम्पूर्ण अन्तर्राष्ट्रिय मामिला न्यायोचित र जायज भएको ढङ्गले चलाउन चाहन्छौँ, अनुचित शर्तमा होइन । हामी देश, जनता र सम्पूर्ण मानवताका लागि काम गर्न चाहन्छौँ । सम्पूर्ण प्रयास लोकतान्त्रिक बाटाबाट जनताको सहभागिता र संलग्नतामा सम्पन्न गरिनेछ । राष्ट्र निर्माणको अभियानमा अगाडि बढ्न, आर्थिक उन्नतिको अभियान चलाउन, सुशासन र स्वच्छता कायम गर्न तथा समृद्धि हासिल गर्न पनि अरू मित्रको सहयोग चाहिन्छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीतिमा हामी स्पष्ट छौँ र संयुक्त राष्ट्र सङ्घको भावनाअनुसार अगाडि बढ्छौँ । 

प्रश्न: ‘समृद्ध नेपाल सुखी नेपाली’ आन्तरिक रूपमा अति आवश्यक छ तर विभाजित विश्वमा नेपालले कसरी सहयोग प्राप्त गर्ने ? 

– संयुक्त राष्ट्र सङ्घमा महासभाका अध्यक्ष र महासचिवले राखेका कुराले अर्थ राख्छ । उहाँहरूको सोचाइमा राष्ट्रहरूको भावनाको प्रतिनिधित्व र आवश्यकताको प्रतिनिधित्व भएको पाइयो । राष्ट्र सङ्घको सोचाइले विषय दिन्छ । महासभाका अध्यक्षका अभिव्यक्ति सामाजिक जागरणको पक्षमा महत्वपूर्ण छ । अध्यक्षका सात बुँदाले पूर्ण लोकतन्त्र इङ्गित गर्छ । कसैले सैद्धान्तिक आग्रहले शब्द चुट्न सक्छ । हाम्रो प्रश्न शब्दसँग होइन समाजवादोन्मुख सामाजिक व्यवस्थासँग छ । 

हाम्रो समाज खाली प्रतिस्पर्धा, राजनीतिक अधिकार वा अरू प्रकारका स्वतन्त्रताको हकमा सीमित हुनुहुँदैन । जनताको जीवनमा सम्पूर्णतामा परिवर्तन हुनुपर्छ । एउट मानिस सम्पूर्ण मानिस हुनुपर्छ । एउटा परिवार मात्रै सम्पूर्ण परिवार हुन सक्दैन, सम्पूर्णता सम्पूर्ण क्षेत्रमा हुनुपर्छ । समाजको सम्पूर्णता र समृद्धि सम्पूर्ण क्षेत्रमा हुनुपर्छ । हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन । हामीलाई खाना, नाना र छानासहितको प्रजातन्त्र चाहिन्छ । सबै कुरा भएको प्रजातन्त्र हामीलाई चाहिन्छ । महासभाका अध्यक्षका प्राथमिकताका बुँदामा यी धेरै कुरा स्पष्ट भएको छ । 

राष्ट्रका अवस्था, स्थिति र चाहना भिन्न होलान् र ती कुरालाई राष्ट्रले अभिव्यक्त गर्न सक्छ । हामी आफ्ना अवस्था बदल्न चाहन्छौँ । हामी दुनियाँमा शान्ति, समृद्धि, समानता र न्याय चाहने जनता तथा राष्ट्रको प्रतिनिधित्व गर्छौं । हामी न्यायोचित हितको प्रतिनिधित्व गर्छौं । आवश्यक नभए मानिसले राम्रो चिज पनि किन्दैन । हामी राम्रो काम प्रस्तुत गर्छौं र राम्रोतर्फको यात्रा बलियो हुन्छ । 

प्रश्न: शान्ति स्थापनामा आएको रकम घट्दो छ । विरोध पनि छ नि ? 

विरोध केका लागि ? संयुक्त राष्ट्र सङ्घमा स्तरीय ढङ्गले स्पष्टताका साथ आफ्नो कुरा राखिँदा, नेपाली जनताका कुरा दुनियाँलाई बताउँदा, नेपाल उन्नति र विकासको बाटामा जान चाहेको छ भन्ने कुरा जानकारी दिन लाग्दा, नेपालको प्रतिष्ठा माथि उठाउँदा विरोध हुँदैन । नेपालमा बहुमतको स्थिर सरकार बन्यो वा स्थायी सरकार आयो भने नेपालले भ्रष्टाचार रोक्छु, सुशासन दिन्छु, अब आर्थिक उन्नतितर्फ ध्यान दिन्छु भन्यो भने विरोध हुँदैन । 

हारियो भनी आफैँलाई नोक्सान गर्ने विरोधको अर्थ हुँदैन । विरोधको आधार चाहिन्छ, आलोचना आधारयुक्त हुनुपर्छ, सुझाव र टिप्पणी आधारयुक्त हुनुपर्छ । विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन । निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफँै एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ । जनतालाई मूर्ख बनाउँछु भन्दा जनताले बुझ्छन् । आफ्नै मर्यादाका लागि उपयुक्त ढङ्गको व्यवहार सबैलाई उचित हुन्छ । 

प्रश्न: शान्ति सेनामा खर्च कटौतीको कुरा नि ? 

– शान्ति सेनामा खर्च धेरै महत्वपूर्ण कुरा होइन, शान्ति महत्वपूर्ण कुरा हो । युद्धको खेती र निर्यात बन्द गरे यस्तो खर्च आवश्यक पर्दैन । 

प्रश्न: भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएका वार्ताका विषय ? 

भारतसँग रहेको मित्रतालाई सुदृढ र बलियो बनाउने विषयमा छलफल भएको थियो । 

प्रश्न: स्थायी कूटनीतिक प्रतिनिधि नियुक्त गर्ने कुरा ? 

हाल नेपाली नियोगमा कार्यवाहक प्रमुख सक्षम र अनुभवी हुनुहन्छ । धेरै हतार गर्नुपर्दैन । यस्तो कुरा कर्मकाण्ड होइन, काम चलाउन निकै अनुभवी समूह छ, हतारो गर्नुपर्ने अवस्था छैन । धेरै काम गर्नुपर्ने भएकाले विलम्ब भएको हो, अब छिट्टै राजदूतको चाँजोपाँजोको काम हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य