२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनको खोजीमा बालुवा चाल्दै गाउँले, १ ग्राम सुन भेटे २५ हजार कमाइ

९ कार्तिक २०७५, शुक्रबार १०:४१

कात्तिक ९, मलावी | मलावीको नाथेन्जेमा चार महिना मात्र भयो स्थानीयबासीले सुनको खोजी गर्न थालेको, तर जीवनमा आमुल परिवर्तन ल्याउने लालशामा मलावीका अन्य ठाउँमा सुनको खोजी गर्ने हजारौंले जताततै माटो खनेको, पन्छाएको र एक ठाउँबाट अर्को ठाउँ सारेको वर्षौं भइसक्यो । 

राजधानी लिलोङ्ग्वेबाट २० किलोमिटर दक्षिणमा रहेको नाथेन्जेमा कुनै व्यक्तिले यो बहुमूल्य धातुको सानो टुक्रा देख्नासाथ चिच्याउँछन् र त्यसलाई हेर्न निकै मासिन भेला हुन्छन् । 

छिमेकी मुलुकका व्यापारीहरुले एक ग्राम सुनका लागि ३४ अमेरिकी डलरसम्म गाउँलेलाई दिन्छन्, स्थानीय एक अधिकारीले बताउनुभयो । तर त्यसका लागि पहिले सुन त भेट्टाउनु पर्यो । अति कठिन काममा जुटेका यी मानिसले प्रचण्ड गर्मीमा गरेको दुःख अनुसार कमैमात्र सफलता प्राप्त गर्दछन् । अधिकांश अवस्थामा उनीहरुलाई निराशा मात्र हात पर्दछ । 

अधिकांश महिला सहभागी हुने यी सुनको खोजी गर्नेहरु नेथेन्जे नदीका किनारामा बनाइएका गहिरा खाल्डोमा टाउको उँधो पारेर दिनरात सुन खोज्दछन् । उनीहरु यी खाल्डाबाट बालुवा निकाल्छन्, केहीपर टाउकामा बोकेर लैजान्छन् र सुकाउँछन् । उनीहरुले त्यसलाई होसियारीपूर्वक पखाल्छन् र कतै सुनको टुक्रा छ कि भनेर ध्यानपूर्वक नियाल्छन् । 

टान्डीजेनी नाटानीलाई सुन के हो भन्ने राम्रोसँग थाहा पनि थिएन । एकदिन उनी एकजना साथीसँग सुनखानीमा काम गर्न गएपछि मात्र उनलाई यसको महत्व थाहा भएको थियो । “मलाई यो बहुमूल्य धातु हो भन्नेसम्म मात्र थाहा थियो,” पाँच बच्चाकी आमा नाटानीले बताउनुभयो । 

“पहिलो दिन, मैले २५ हजार क्वाचा (३४ डलर) कमाएँ र त्यसो गर्दै मैले झण्डै एक लाख क्वाचा बनाएँ । मैले यो पैसाले बच्चाहरुको स्कुलमा खर्च गरें,” उहाँले भन्नुभयो । 

गाउँकी अर्की महिला फतिमा चिकालिपोले ७ डलरमा ५० वर्गमिटरको जमिन खरिद गरेको बताउनुभयो । जहाँसम्म उहाँले मिश्रित प्रतिफल पाउनु भएको छ । उहाँले भन्नुभयो, “सुरुआति दिनहरुमा राम्रै थियो तर आजभोलि त दिनभरी खन्दा पनि केही भेटिन्न । त्यसैले, मैले कुनै राम्रो प्रतिफल पाउन सकेको छैन ।” 

“साथै सुनको बजारभाउ पनि घटेको छ । हामीले एक ग्राम सुन २५ हजार क्वाचामा बेच्ने गरेका थियौं । अहिले २० हजार क्वाचामा बेच्नु परिरहेको छ ।” 

घरेलु उपकरणको प्रयोग गरेरै लुमविरा र डिजोन्डीका गाउँलेहरु पनि यो पेशामा आबद्ध भएका छन् । तर उनीहरु सुन पखाल्ने कलामा केही अनुभवी देखिन्छन् । सुनका कारोबारी र रोजगारी सिर्जना गर्नेहरु पनि गाउँमा देखा पर्न थालेका छन् । उनीहरुले सुनको खोजी गर्नेहरुका लागि अस्थायी आवासको समेत व्यवस्था गर्दछन् । 

“यहाँ अति धेरै काम गर्नु पर्दछ,” स्थानीय एक व्यक्ति मिस्हेक चिलायीसोनले बताउनुभयो । उहाँले यहाँ ५५ डलरमा एउटा जमिनको टुक्रा खरिद गर्नुभएको छ । “लेदो बालुवा मिश्रित माटो बोक्ने महिलालाई हामी पैसा दिन्छौं । फेरि, त्यस्तो माटो नदी किनाराबाट अर्को ठाउँमा ट्रकमा राखेर लैजान्छौं र त्यहाँ सुनको खोजी गर्न माटो पखाल्छौं ।” 

चिलायीसोनले लिलोङ्गे बस्ने एकजना भारतीय न्याथेन्जेमा आएको खबर फैलिएसँगै सुनको खोजी व्यापक भएको बताउनुभयो । यी भारतीयसँग भौगर्भिक अनुसन्धानको प्रतिवेदन समेत रहेको र त्यसमा यहाँ सुन पाइन्छ भन्ने रहेको गाउँलेको भनाइ छ । उहाँले भन्नुभयो, “केही समयपछि नै त्यो मान्छे भाग्यो किनभने यहाँ उत्खनन गर्ने अधिकार नभएको थाहा पाएपछि प्रहरीले उसलाई पक्राउ गर्न खोजेको थियो । तर उसले आफ्ना दुईजना मान्छेलाई सुनको कारोबारका लागि यहीँ छाडेर गएको छ ।” 

परम्परागत गाउँले मुखिया काटोन्डोले सुन पाइनु यस ठाउँका लागि अत्यन्त राम्रो पक्ष रहेको बताउनुभयो । “हामीलाई ठूलै मद्दत भएको छ । त्यहीकारण धेरै मानिस सुनको खोजीमा लागेका छन् किनभने यसवर्ष यहाँको खेतीपाती ज्यादै बिग्रेको छ । नत्र यहाँ भोकमरि हुने निश्चित थियो । अहिले यहाँ मानिसले पैसा कमाउन पाएका छन् र परिवारका लागि मकै किन्न उनीहरुलाई सहज भएको छ ।” 

तर गैरकानुनी सुन उत्खननले ठूलै समस्या निम्त्याएको छ, र सरकारले आयवृद्धिका लागि यो व्यवसायलाई नियमन गर्न खोजिरहेको छ । “सरकारले गैरकानुनी उत्खननलाई मान्यता दिने प्रक्रिया थालेको छ,” खानी विभागका निर्देशक जाल्फ सलिमाले बताउनुभयो । उहाँले सरकारले अनुमतिपत्र दिने प्रक्रिया शुरु गर्न लागेको र अवैध खानी सञ्चालन बन्द गरिने जानकारी दिनुभयो । 

सलिमाले मलावीका न्याथान्जे र अरु पाँचवटा सुन उत्खनन क्षेत्रको सुनको गुणस्तर बारे अझै स्पष्ट नभएको बताउनुभयो । सुनको मुख्य स्रोतबाट तलतिर बगेको सुनको गुणस्तरका बारेमा थप खोजी गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

मलावीमा बेलायती उपनिवेशकाल सन् १८६० मा भौगर्भिक सर्वेक्षण गरिएको थियो । बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि मलावीमा त्यस्तो विस्तृत सर्वेक्षण हुन सकेको छैन । 

न्यासा माइनिङ कोअपरेटिभ्सका अध्यक्ष पर्सी मालेटाले सरकारले अवैध सुन उत्खनन बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले सुनका खानीलाई सफलतापूर्वक सञ्चालन गर्न दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

“हामीले स्थानीय सुन खोजकर्तालाई तालिम दिन सरकारसँग आग्रह गरिरहेका छौं ताकि उनीहरुले सहकारी वा खानी सञ्चालन क्लब बनाउन सकून् । यसबाट उनीहरुमा बढी ज्ञान हुने र सुनलाई औपचारिक बजारमा बेच्न मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो । “खरिदकर्ताहरुले अवैध बाटो हुँदै यहाँको सुन विदेश लैजान्छन् । त्यसैले मलावीले ठूलो परिमाणमा सुन गुमाउँदैछ ।” 

उहाँले मोजाम्बिक, तान्जानिया, जाम्बिया र जिम्बाबेका खरिदकर्ताहरुले प्रति ग्राम २४ देखि ३४ डलरमा मात्र दिने गरेको बताउनुभयो । दक्षिण मलावीबाट यहाँ आएका डामिनो माटेङ्गाका लागि भने अहिलेकै व्यवस्था ठीक लागेको छ । 

“व्यवसाय धेरै राम्रो छ र मैले परिवारलाई राम्रैसँग पालनपोषण गर्न पाएको छु,” उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो