कात्तिक १७, नुवाकोट (रासस) | मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ ।

लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही कात्तिक ४ गते त्यहाँको अदालतले गरेको फैसलामा २० वर्ष कैद सजाय तोकेकाले उनका परिवारले अहिलेसम्मको कारागारमा बसेको अवधिसमेत गणना गराउनका लागि सरकारले पहल गरिदिन माग गरेको हो ।

शुक्रबार विदुरमा घलेकी बहिनी सरलाले सन् २००३ को मेदेखि हालसम्म कारागार बसेको समयको गणना नहुँदा अन्यायमा परेको बताइन् । “पन्ध वर्ष जेल सजाय भोगिसकेको छ । अब बढीमा चार/पाँच वर्षमा छुट्नुपर्छ ’’ उनले भनिन्, “अहिलेसम्म जेल बसेको समय गणना गराउन सके अबको पाँच वर्षमा छुट्ने थियो ।”

मलेसियामा रोजगारीमा गएका घले नियमित विदामा नेपाल फर्किनेक्रममा साथीले घलेलाई लागू औषधमा फसाएको घलेकी बहिनी सरला घलेले बताइन् । ‘‘होटेलमा बसिरहेको ठाउँमा गणेश तामाङ नाम भएका साथी झोलासहित प्रवेश गरे । प्रहरीले पिछा गरेको थाहापाई तामाङ झोला त्यही छाडेर भाग्न सफल भए । घलेलाई प्रहरीले पक्राउ ग¥यो । यो घटना ३० मे २००३ को हो। साथीले जानाजान फसाएको हो । मेरो दाजु निर्दोष छ’’ उनले भनिन, “नेपाल सरकारको पहलमा मृत्युदण्डको सजाय माफी भए पनि अहिलेसम्मको सजाय गणना भएमा दाइ चाँडै छुट्नु हुने थियो । सबैले पहल गरिदिनु पर्यो ।”

हाल ३८ वर्षीय घले २०५७ सालमा रु दुई लाख ऋण गरी मलेसिया गएका थिए । नियमित बिदामा घर फर्कनेक्रममा उनी पक्राउ परेका थिए । उनी कारागार परेको र मृत्युदण्डको सजायको फैसला भएको सुनेपछि चिन्ता रहेका उनका आमाबुबाको मृत्यु भई सकेको र नातिलाई मृत्युदण्डबाट जोगाउन प्रयासरत हजुरबा धनबहादुरको पनि मृत्यु भइसकेको छ ।

घलेकी १९ वर्षीया छोरी झरनाले बाबुलाई नेपाल फर्काउनका लागि पहल गरिदिन आग्रह गरिन् । “मैले फोटोमा मात्र बुबालाई देखेको छु । उहाँलाई भेट्ने रहर पूरा गराउन सहयोग गरिदिनु होला” झरनाले भनिन् । हाल मामाघरमा बसेर स्नातक अध्ययन गर्दै गरेकी झरनाले जोड दिइन्, “बुबाको कुरा सुन्दा उहाँ निर्दोष हुनुहुन्छ । साथीका कारण जेल परेर त्यहाँको कानूनले सजाय दिएपनि अहिलेसम्म जेल बसेको समय गणना गरिदिए हुने थियो । उहाँ चाडै नेपाल आउन पाउनुहुन्थ्यो ।घलेको मृत्युदण्डको माफी नेपाल सरकारको पहलका कारण रोकिएको थियो । अहिले पनि सरकारले पहल गरिदिए २० वर्ष सजायको फैसलामा अहिलेसम्म कारागार बसेको सजाय समेत गणना भए सहज हुने घलेको परिवारले आग्रह गरेका हुन् ।