२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडित अझै चर्केको घरमा

२०७८, १७ बैशाख शुक्रबार ०६:५६

लक्ष्मी गारु । वैशाख १७, भादगाउँ । गोरखा भूकम्पले भक्तपुरको टौमढीस्थित भैरवनाथको मन्दिर र ङातापोलमा मात्र होइन दरवारपरिसरका धेरै सम्पदा र नगरमा मात्र ६ हजार बढी घरमा नोक्सान पुर्यायो । त्यसबेला क्षती पुगेको भैरवनाथ र ङातापोल मन्दिर पुनःनिर्माण भइसकेको छ ।  अन्य धेरै सम्पदाहरुको पुनःनिर्माण सकिएको छ भने केहीको धमाधम भइरहेको छ ।

भैरव र ङातापोल मन्दिरको पुनःनिर्माणमा हजारौ स्थानीयले श्रमदान गरे । त्यहाँ श्रमदान गर्ने मध्ये एक हुनुहुन्छ भक्तपुर गःहिटीकी सरस्वती सिख्वाल । सम्पदा पुनःनिर्माणमा श्रमदान गरेपनि २०७२ सालको भूकम्पले चर्केको उहाँको घर भने अझै पुनःनिर्माण हुन सकेको छैन । सिख्वालको मात्र होइन गोरखा भूकम्पले नोक्सान पुगेका धेरै घरहरु अझै पुनःनिर्माण हुन बाँकी रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) भक्तपुरको पछिल्लो तथ्याङ्कले पनि भक्तपुरमा निजी आवास पुनःनिर्माण सन्तोषजनक नदेखिएको पाइएको छ । कार्यालयका अनुसार भक्तपुरमा जम्मा २८ हजार ६५० लाभग्राही छन् । ती लाभग्राहीमध्ये हालसम्म २५ हजार १५४ अर्थात् ८७ दशमलव ७९ प्रतिशतले मात्र अनुदानका लागि सम्झौता गरेका छन् । कार्यालयका अनुसार भक्तपुरमा हालसम्म १३ हजार १९६ जनाले दोस्रो किस्ता र १२ हजार ३३२ जनाले तेस्रो किस्ता लिएका छन् ।

“लाभग्राहीमध्ये प्रथम किस्ता लिने ८८ प्रतिशत त छ तर दोस्रो र तेस्रो किस्ता लिने लाभग्राही भने थोरै छ”, एकाइ प्रमुख आनन्दप्रसाद आचार्यले भन्न्ुभयो, “यहाँ पहिलो किस्ता लिएकामध्ये ४६ प्रतिशतले दोस्रो र ४३ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् ।” 

भक्तपुरका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाका ७ हजार ७१४ लाभग्राहीमध्ये ५ हजार ८०१, चाँगुनारायण नगरपालिकाका ११ हजार ८९ जनामध्ये १० हजार १२२, मध्यपुर थिमि नगरपालिकाका २ हजार ३२२ लाभग्राहीमध्ये २ हजार ९९ र सूर्यविनायक नगरपालिकाका ७ हजार ५२५ लाभग्राहीमध्ये ७ हजार १३२ जनाले अनुदान सम्झौता गरेको कार्यालयले जनाएको छ ।

परिवारका सदस्यहरुबीच अंशसम्बन्धी, जग्गाको सिमाना विवाद, नक्सा पासका लागि सर्जमिन हुन नसक्नु, पहिले बनेका घरको नक्सा पासमा देखिएको समस्या लगायतका कारण कतिपय लाभग्राहीले पहिलो किस्ता नै बुझ्न सकेका छैनन् भने कतिपय लाभग्राहीले दोस्रो किस्ता लिन सकेका छैनन् ।

भक्तपुरमा निजी आवास पुनःनिर्माण नहुनुमा जग्गामा बहुस्वामित्व पनि एउटा प्रमुख कारणको रुपमा देखिएको छ । थोरै क्षेत्रफलको जग्गामा पनि बहुस्वामित्व भएका कारण पुनःनिर्माणमा समस्या देखिएको हो । गःहिटीकै पूर्ण सिख्वालले भन्नुभयो, “हाम्रो चार दाजुभाइ छौँ, पैसा नभएर होइन काकाहरुसँग साँधसिमानामा कुरा नमिलेकोले घर पुनःनिर्माण गर्न नसकिएको हो ।”

त्यस्तै गःहिटीकै बद्रीप्रसाद सिख्वालले थोरै जमिनमा पनि तीन भाइको स्वामित्व भएका कारण घर पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो । केहीले भने आर्थिक स्रोत नभएको र सरकारले दिएको अनुदानले घर निर्माण गर्न अपुग हुने भएकोले पनि घर पुनःनिर्माण गर्न नसकिएको बताउँछन् । “कृषि पेशाबाट हुने आम्दानीले चार जना छोराछोरीको पठनपाठन, खान लगाउन नै धौँ धौँ छ, सरकारले दिने भनेको तीन लाख हो, अरु पैसाको लागि कि त जग्गा बेच्नुपर्छ, कि ऋण लिनुपर्छ”, भक्तपुरका नानीराम दुवालले भन्नुभयो । 

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सानो भूगोल तथा घना जनसङ्ख्या रहेको भक्तपुर जिल्लाका हकमा कतिपय स्थानीय नीतिले पनि समस्या भएको बताउँनुहुन्छ । “आवास निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड तथा नक्सा पासका समस्या छन्, यहाँ गुठीका समस्या छन्, कैयौं निजी गुठी छन् जुन कतै दर्ता छैनन्, त्यसले पनि समस्या बनाएको छ,” उहाँले भन्नुभयो ।  

भक्तपुरमा नीजि आवासको पुनःनिर्माण सन्तोषजनक नभएपनि विद्यालय पुनःनिर्माण भने सन्तोषजनक देखिएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई(शिक्षा)का इञ्जिनियर अजयकुमार साहले ९७ विद्यालयमा ७५ विद्यालयको पुनःनिर्माणको काम भएको बताउनुभयो । सबैभन्दा धेरै चालु आर्थिक वर्षमा विद्यालय पुनःनिर्माणको काम अघि बढेको बताउँदैं उहाँले भन्नुभयो, “यसै आवमा २५ विद्यालयको पुनःनिर्माणको काम भएको छ, जुन असार मसान्तसम्ममा सबै पुरा हुन्छ ।” केही विद्यालयको नगरपालिकाले नक्सा स्वीकृत नगरेको र केहीमा जग्गा अपुग भएका कारण पुनःनिर्माणको काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

यस्तै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख रमामैया मानन्धरले जोखिम वर्गको घर पुनःनिर्माणमा आफूहरुले कार्यालय बाटै डकर्मी खटाइ पुनःनिर्माण गरिदिएको दावी गर्नुभयो । उहाँले भक्तपुर र मध्यपुर थिमि नगरपालिकाले आफ्नो कार्यालयका डकर्मीलाई हाजिर हुन नदिएकाले काम गर्न समस्या भएको बताउनुभयो । 

गोरखा भूकम्पका बेला भक्तपुरका २१३ वटा सम्पदामा नोक्सान पुगेको थियो । ती मध्ये ११७ वटा पुनःनिर्माण भइसकेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इञ्जिनीयर मोहनसिंह लामाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको छ भने २० वटा पुनःनिर्माण शुरु हुने चरणमा रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो