१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

८ जेष्ठ २०७८, शनिबार ०४:१९

जेठ ८, नवलपुर | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि दैनिक ५०० मजदुर सडक विस्तारको काममा खटिएका थिए”, आचार्यले भन्नुभयो, “निषेधाज्ञामा दैनिक ३०० मजदुर काममा छन् ।” निषेधाज्ञाका बेला घर गएका मजदुर काममा फर्किन नपाउँदा मजदुरको सङ्ख्या केही घटेको आचार्यले बताउनुभयो ।

सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, ढल निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । “यस सडकखण्डमा १२ ठूला पक्की पुल तथा २२ साना पक्की पुल बन्दैछन्”, आचार्यले भन्नुभयो, “साना पुल निर्माणका लागि सडक डाइभर्सनदेखि ठूला पुल निर्माणका लागि फाउण्डेशन तयार पार्ने काम भइरहेको छ ।” यस सडकखण्डमा पर्ने १२ वटा फलामका पुल हटाएर ठूला पक्की पुल निर्माण गर्न लागिएको हो ।

गैँडाकोटको जयश्रीखोला, झराहीखोला, देवचुलीको लोकाहा र कावासोतीको पत्थरखोलामा ठूला पुल निर्माणका लागि पुलको जग बस्ने ठाउँमा पाइप गाड्ने काम भएको छ । त्यस्तै गैँडाकोटको थुम्सीबाट अमरापुरीसम्म आठवटा साना पुल निर्माणको काम भइरहेको छ । “सानामध्ये दुईवटा पुलको निर्माण अन्तिम चरणमा पुगेका छन्, दुईवटाको स्ल्याप ढलान भइसकेको छ विङवाल निर्माणपछि ती पुलमा सवारी साधन सञ्चालन गर्न सकिन्छ”, आचार्यले भन्नुभयो, “अन्य पुलमा पनि जग खन्ने र पिलर निर्माणको काम भइरहेको छ ।”

आयोजनाअन्तर्गत गैँडाकोटबाट अरुणखोलासम्मका रुखहरुको कटान लगभग पूरा भएको आचार्यले बताउनुभयो । “गैँडाकोटबाट अरुणखोलासम्म बिजुलीको पोल भएको स्थानमा बाहेक दुवैतर्फको रुख कटान सकिएको छ”, इञ्जिनीयर आचार्यले भन्नुभयो, “अरुणखोलाबाट दुम्किबाससम्मका रुख भने कटानको काम भइरहेको छ ।” रुख कटान भएको स्थानमा माटो भर्ने कामसमेत अगाडि बढिरहेको आचार्यले बताउनुभयो । 

रुख कटान सकिएको स्थानमा माटो भर्ने तथा ढल निर्माण गर्ने काम तीव्ररूरुपमा अगाडि बढाइएको छ । “केही स्थानमा टिकास ड्रेन निर्माण हुँदैछ, जुन ड्रेन बाहिर बनाएर ल्याएर राखिन्छ । त्यो बनाउने काम पनि यार्डभित्र भइरहेको छ”, आचार्यले भन्नुभयो, “टिकास ड्रेन राख्दा बलियो र काममा छिटोछरितो हुने भएकाले यो प्रयोग गर्न शुरु गरेका हौँ ।” स्थानीय प्रशासनको सहयोगमा निर्माण सामग्री लिएर आउनेदेखि निर्माणको काम अगाडि बढिरहेको छ ।

सडक विस्तारको काम छ प्रतिशत सम्पन्न भएको छ । “काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको हो”, आचार्यले भन्नुभयो, “यी काम सकिएर अरु काम शुरु भएपछि भौतिक प्रगति बढ्छ, काम धेरै नै भइसकेको छ ।”

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने (६५ किमी) र दाउन्ने–बुटवल (४९ किमी) दुई खण्डमा विभाजन गरेर भइरहेको छ ।

अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ ।

बजार क्षेत्रमा छ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम