जेठ १४, काठमाडौँ | सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता÷दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो । त्यसका लागि सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज नेपाल स्वास्थ्य पत्रकार मञ्चले गरेको ‘नेपालमा खोपको उपलब्धता र चुनौती’ विषयक अन्तरक्रियामा हप्ता÷दश दिनमा खोप आयात गरेर ‘ब्रेक थ्रु’ गर्ने बताउनुभयो । “खोप खरिदमा हामी केही दिनमा निष्कर्षमा पुग्दैछौँ । दश दिनमा नभए पनि त्यसको थोरै एकदुई दिन अघिपछि ‘ब्रेक थ्रु’ हुन्छ”, उहाँले भन्नुभयो, “खोप सहायता दिने केही मुलुकले पनि हप्ता/दश दिनभित्रमा घोषणा गर्दैछन् । खोपमा केही न केही प्रगति हुनेछ ।”

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि चिन फिङबीच भएको टेलिफोन सम्वादपछि चीनले नेपाललाई १० लाख मात्रा भेरोसेल खोप उपलब्ध गराउने भएको छ ।

करिब एक करोड खोप खरिद

सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीबाट ५०÷५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले खोप खरिदका लागि चीन, अमेरिका, रुस र बेलायतसँग खोप खरिदका लागि सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरेको बताउनुभयो । उहाँका अनुसार सरकारले चीनको सिनोफर्म, अमेरिकाको जोन्सन एण्ड जोन्सन, रुसको स्पुतनिक भी उत्पादन गर्ने कम्पनीसँग र बेलायत सरकारसँग पत्राचार गरिसकेको छ ।

सरकार ती मुलुकमध्ये चीन र अमेरिकाबाट खोप ल्याउन केन्द्रीत रहेको उहाँको भनाइ छ । उहाँले सन् २०२१ भित्र लक्षित समूहलाई खोप लगाउने सरकारको योजना रहेको बताउनुभयो । सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ ।

उहाँले खोप खरिदका लागि अर्थ मन्त्रालयले रु ३६ अर्बको स्रोत सुनिश्चितता गरिसकेकाले सरकारले खोप जतिसक्दो चाँडो खरिद गर्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले भारतबाट समयमा नै सरकारले खरिद गरेको १० लाख खोप नआएकाले अहिले दोस्रो मात्रा लगाउन नपाइएको बताउनुभयो ।

पहिलो मात्रा ‘कोभिशिल्ड’ लगाएका साढे १४ लाखले खोप अभावले अहिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतको सिरम इन्सिच्युटले सरकारले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध नगराएपछि दोस्रो मात्राको खोप रोकिएको छ ।

भारतसँग पनि उच्च तहमा वार्ता

उहाँले भारतबाट ‘कोभिशिल्ड’ ल्याउनका लागि नेपालले उच्चतहमा छलफल गरिरहेको जानकारी दिनुभयो । “केही दिन अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपतिलाई हामीले पैसा भुक्तान गरिसकेको १० लाख खोपको मात्रा र थप सात लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गर्नका लागि आग्रह गर्नुभएको छ”, उहाँले भन्नुभयो, “खोप उपलब्ध गराउन भारतलाई प्रधानमन्त्री र मेरो तहबाट पनि आग्रह गरेका छौँ । नेपालका लागि भारतका राजदूत र भारतस्थित नेपालका राजदूतसँग पनि कुराकानी भइरहेको छ । हामीले औपचारिक÷अनौपचारिक रूपमा भारतसँग कुरा गरिरहेका छौँ ।”

मन्त्री ज्ञवालीले नेपालमा खोप आयात गर्नका लागि भारतीय अदालतले पनि मानवीय संवेदनशीलतालाई बुझेर आफूले गरेको आदेशमा पुनःविचार गर्ने विश्वास व्यक्त गर्नुभयो । भारतको अदालतले भारतका जनतालाई लगाइसकेपछि मात्र बाहिरी मुलुकमा खोप निर्यात गर्न आदेश दिएको छ ।

उहाँले भारतबाट खोप नआएका खण्डमा कोभिशिल्डसँग मिल्दोजुल्दो खोप खरिद गर्न पनि सरकार तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । एस्ट्राजेनिका उत्पादन हुने मुलुकसँग खोप ल्याउने पहल भइरहेको उहाँको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले बेलायती विदेशमन्त्रीसँग केही दिन अघिमात्र नेपालमा खोपको अभावलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

उहाँले अमेरिकाले खरिदका लागि सम्झौता गरेको (बुक) एस्ट्राजेनिका नेपालमा ल्याउनेबारे अमेरिकी विदेश उपमन्त्री छलफल भइरहेको बताउनुभयो । “अहिले अमेरिकासँग छ करोड मात्रा एस्ट्राजेनिका खोप बुक र मौज्दात रहेको छ । अमेरिकाले अरु खोप लगाइरहेकाले एस्ट्राजेनिका लगाएको छैन”, उहाँले भन्नुभयो, “त्यहाँ प्रयोग नहुने तर हामी त्यसै खोप नपाएर छटपटिने अवस्था अन्त्य गर्नका लागि नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई एस्ट्राजेनिका उपलब्ध गराइदिनुहोस् भनेका छौँ ।” यद्यपि उहाँले नेपाललाई एस्ट्राजेनिका खोप उपलब्ध गराउनका लागि अमेरिकाको प्रक्रिया लामो हुने भएकोले केही समय लाग्ने बताउनुभयो ।

उहाँले खोपको असमान वितरण भएकाले नेपालले समयमा खोप खरिद गर्न नपाएको बताउनुभयो । “९५ प्रतिशत खोप १५ देशमा सीमित छ । बाँकी १६० देशले पाँच प्रतिशत खोप आफ्ना नागरिकलाई लगारहेका छन”, उहाँले भन्नुभयो, “हामीजस्ता विकासशील देशलाई खोपको समस्या परेको छ । त्यसैले खोपको नीतिमा परिवर्तन गरेर समान वितरण गर्नु जरुरी छ ।”

उहाँले खोपको न्यायोचित वितरण गर्नका लागि संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनमा पहल गरिरहेको जानकारी दिनुभयो । खोपको न्यायोचित वितरण नहुँदा खरिद गर्न समस्या परेको उहाँको भनाइ थियो । उहाँले अमेरिकासँगै एस्ट्राजेनिका खोप ल्याउनका लागि अन्य देशसँग पनि छलफल गरिरहेको बताउनुभयो । “एस्ट्राजेनिका खोप मौज्दात रहेका देशलाई समेत हामीले पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “एस्ट्राजेनिका खोप उपलब्ध गराउन हामीले सबै कूटनीतिक प्रयास गरिरहेका छौँ ।”

मन्त्री ज्ञवालीले खोप खरिदका लागि सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका समस्यालाई हटाएको भन्दै अब सरकार–सरकार र सरकारले सिधै कम्पनीसँग छिटो प्रक्रियाबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

कोभिशिल्डको विकल्पमा एस्ट्राजेनिका

कार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा एस्ट्राजेनिका लगाइने जानकारी दिनुभयो ।

“पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा पनि सोही खोप लगाउने हाम्रो प्रयास हुनेछ”, उहाँले भन्नुभयो, “यही कोभिशिल्ड पाइएन भने कोभिशिल्डसँग मिल्दोजुल्दो एस्ट्राजेनिका खोप लगाउँछौँ ।” उहाँले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो । रासस