१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम सडक कालोपत्र शुरु

२१ जेष्ठ २०७८, शुक्रबार ०७:२०

सन्तोष गौतम । जेठ २१, म्याग्दी (रासस)। यहाँको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु गरिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको छ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ । 

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आषिश मानन्धरले बताउनुभयो । “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।” 

सोर्ह  दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरु गरेको बताउनुभयो । 

“मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको छ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्र सक्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।” कोरोना महामारीको जोखिम र निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताउनुभयो । 

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब रु छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।  

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची र जीर्ण थियो । कच्ची र साँघुरो सडकमा हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे हुने समस्या थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो । 

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।   

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । 

मुस्ताङमा १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग 

मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा ‘माउन्टेन हर्ट नेपाल’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था ‘डाइरेक्ट रिलिभ’ मार्फत उपलब्ध सामग्री बिहीबार जोमसोममा मुस्ताङका स्थानीय तहलाई उपलब्ध गराइएको थियो । 

मुस्ताडको जोमसोम अस्पताल र पाँच स्थानीय तहलाई दुई÷दुई थान अक्सिजन कल्सन्ट्रेटर उपलब्ध गराइएको तुलाचनले जानकारी दिनुभयो । “अक्सिजन कल्सन्ट्रेटरले कोभिड सङ्क्रमित मात्र नभई अन्य बिरामीको उपचारमा पनि सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीका साथै लेक लागेर बिरामी हुने पर्यटक र तीर्थयात्रीका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।”

विदेशी संस्थाबाट सहयोग प्राप्त सामग्री हस्तान्तरणका लागि अध्यक्ष अवन गौतमसहित संस्थाका प्रबन्धक विजय पौडेल र इन्जिनीयर प्रताप अधिकारी हेलिकोप्टर चढेर मुस्ताङ पुग्नुभएको थियो । माउन्टेन हर्ट नेपालले गोर्खा, नुवाकोट र मुस्ताङमा कल्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ । 

संस्थाले केही दिनभित्रै मनाङ, म्याग्दी, रसुवा र कास्कीसहित आवश्यक पर्ने जिल्लामा अक्सिजन कल्सन्ट्रेटर हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । मुस्ताङ अस्पतालमा हालसम्म सघन उपचारकक्ष र भेन्टिलेटरको सुविधा छैन । अस्पतालमा पर्याप्त जनशक्तिसमेत नभएकाले संस्थाले प्रदान गरेको अक्सिजन कल्सन्ट्रेटर मुस्ताङका स्थानीयवासीलाई बहुउपयोगी हुने जनाइएको छ । 

अस्पतालमा न्यून क्षमताको अक्सिजन प्लान भएको र सिलिण्डरमा अक्सिजन भर्ने उपकरण नभएकाले अक्सिजन ढुवानीमा समस्या पर्दै आइरहेको छ । बर्खायामको मौसममा बाढी÷पहिरो र नदीकटानका कारण सडकको दुरावस्थाका कारण पनि अक्सिजन भरेर मुस्ताङ लैजान समस्या हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह