२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो

१३ असार २०७८, आईतवार ०६:१४

दुर्गा देवकोटा । असार १३, टिकापुर (रासस)। कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो बाटो बन्द भएको छ । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्ने गर्दथे । 

शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो । कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने स्थानीयवासीको माग थियो तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो । नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन् । राजापुरका स्थानीयवासी विक्रम कायस्थ खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको बताउनुहुन्छ । “कैलालीका सयौँ नागरिकको खेतीपाती बर्दियामा छ । उनीहरु यो समयमा बिहान जाने, साँझ फर्कने गर्दथे”, कायस्थ भन्नुहुन्छ, “उनीहरुलाई समस्या शुरु भएको छ । यसका साथै कैलालीको उत्पादन बर्दियामा बिक्री हुने र बर्दियाको कैलाली आउने व्यापारिक सामान समेत नसकिने भएको छ ।”

बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन् । पुल भत्किँदा यी सबैलाई समस्या भएको छ । पाँच वर्षअघि पुल निर्माण सम्पन्न भएकै वर्ष दुईवटा स्पान थप्नुपर्छ भन्ने माग भए पनि काम नभएपछि यस्तो अवस्था आएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ । “हामीले पुल निर्माणकै क्रममा बर्दियातर्फ दुई स्पान थप्न आग्रह गर्यौं, कसैले सुनेनन्”, उहाँले भन्नुभयो, “पाँच वर्षसम्म त निर्माण कम्पनीले हरेक बर्सात पुलपारि तटबन्ध गरेर पुल जोगायो तर गत वर्ष निर्माण कम्पनीको सम्झौता म्याद सकियो । यस वर्ष पुल नै रहेन ।”

वडाध्यक्ष ठुकल्लाले समयमै ध्यान नदिएकै कारण अहिले ठूलो क्षति भएको बताउनुभयो । पुल भत्केपछि कैलाली र बर्दिया जिल्लाको व्यापारिक विकासमा वाधा पुगेको स्थानीयवासी बताउँछन् । आवतजावत बन्द हुँदा टीकापुर– ८ श्रीलङ्कामा बसिरहेका ४० परिवारसँगको सम्बन्धसमेत टुटेको छ । श्रीलङ्कामा वर्षे धान खेती गर्ने समयमा त्यहाँ आवतजावत गर्ने सम्पर्क टुटेको स्थानीयवासी रमा बुढाले बताउनुभयो । “हामी टीकापुर बस्छौँ तर खेतीपाती उतै छ । खेती गर्ने समयमा अब कसरी जानु ?”, उहाँले भन्नुभयो, “श्रीलङ्कामा सयौँ बिघा खेतीयोग्य जमीन छ । अब मानिसलाई दुःख हुने भयो ।”

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पका रूपमा पुलबाट करिब पाँच किलोमिटर उत्तरको दौलतपुर घाटस्थित डुङ्गाबाट आवातजावत गर्नुपर्ने अवस्था आएको बताउनुभयो । “अब पुलबाट आवतजावत गर्ने अवस्था छैन । अब नागरिकले पुनः डुङ्गाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइलागेको छ”, प्रमुख चौधरीले भन्नुभयो, “पुल बनेपछि सुख पाएका नागरिकलाई पुनः जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै