२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गिटी–बालुवा निकासीको विकल्प खोज्न सुझाव

२०७८, ३० असार बुधबार ०७:०४

असार ३०, काठमाडौँ । व्यापार घाटा कम गर्ने नाममा देशलाई मरुभूमि बनाएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सोचबाट बाहिर निस्कन विज्ञले सरकार र सरोकार निकायलाई सुझाव दिएका छन् । खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास प्रालिले चन्द्र इञ्जिनीयरिङ कन्सल्टेन्सी र तराई इञ्जिनीयर्स एशोसिएशनको सहकार्यमा ‘चुरे जलाधार संरक्षणका मुद्दा, चुनौती र आगामी मार्ग’ विषयक जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा चुरे संरक्षणको गुरुयोजनामा कार्यपत्रसमेत प्रस्तुत भएको थियो । 

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा विनोद भट्टले सरकारले भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न ढुङ्गा गिटी बालुवा निकासी गर्ने नीति र कार्यक्रम अध्यादेशमार्फत् आएको बजेटमा सार्वजनिक गरेकामा झट्ट हेर्दा आफूसँग जे छ, त्यही बेच्ने हो भन्ने विचारजस्तो देखिए पनि गहिराइमा पुगेर हेर्दा यसबाट देशलाई लाभभन्दा बढी हानी पुग्ने बताउनुभयो ।

खानी तथा भूगर्भ विभागको सर्वेक्षणले नेपालभर ९२ स्थानमा ढुङ्गा, बालुवा, गिटीको खानी सञ्चालन गर्न सक्ने देखाएको र तिनबाट उत्पादित निर्माण सामग्रीको १४ प्रतिशतमात्र निकासीयोग्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ । वार्षिक रु १३ अर्बको लागि नेपालको धरातलीयस्वरुप नै खल्बल्याउने  र तराई मरुभूमिकरण गर्ने कार्य गर्नु विवेकसम्मत नभएको विज्ञहरूको भनाइ छ । 

नेपालले वार्षिक रु ३० देखि ४० अर्बको चामल नै आयात गर्ने गरेको तथ्याङ्क छ । यसलाई मात्र रोक्ने नीति लिए ढुङ्गा, गिटी, बालुवा निकासीको भ्रमबाट मुक्ति मिल्नेमा भट्टको जोड छ । चुरे जोगाऔँ र धान उत्पादन बढाएर व्यापारघाटा सन्तुलनमा ल्याउनुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका प्रा डा कविराज पौडेलले चुरे भावर क्षेत्र उत्पत्तिका हिसाबले पनि सबैभन्दा कमजोर र संवेदनशील भएकाले यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयको भूगर्भशास्त्र विभागले राष्ट्रपति चुरे भावर तराई संरक्षण विकास समितिसँग मिलेर त्यसक्षेत्रको वैज्ञानिक सर्वेक्षण गरी संरक्षणका योजनासहितको प्रतिवेदन तयार पारेको उहाँले बताउनुभयो ।

चुरेबाट उद्गम भएर तराई भइबग्ने मेचीदेखि महाकालीसम्मका १८ नदी प्रणालीको वैज्ञानिक सर्वेक्षण गरेर ती ठाउँको भूक्षय, पानीको स्रोत, नदी र खोलाको अवस्था, पानीको पुनर्भरण गर्न सकिने स्थानको पहिचानसमेत प्रतिवेदनमा गरिसकिएको पौडेलले जानकारी गराउनुभयो ।

चुरे र भावरमा देखिएको पहिरो एवं नदीकटानको रोकथाम, सुकेका, सुक्न लागेका खोला, ताल तलैयाको संरक्षण, नदी र झरनाको संरक्षण र व्यवस्थापन अपरिहार्य भइसकेको जनाइएको छ । डा पौडेलले चुरेको खानी सञ्चालन र व्यवस्थापनमा विशेष नियम ल्याउन पनि आग्रह गर्नुभयो । पानीको पुनर्भरणका लागि कृत्रिम पोखरी निर्माण, भूमिगत तालको निर्माण, वृक्षरोपण र संरक्षण अभियान सञ्चालन गर्न पनि आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।  

कार्यक्रममा अर्का विज्ञ प्रताप तातेरले समग्र तराईमा भूमिगत पानीको सतहमा खासै परिवर्तन नआएको बताउनुभयो । चुरे र भावर क्षेत्रको संरक्षणको लागि ती क्षेत्रमा भएका उद्योग विस्थापन गर्न पनि उहाँले सुझाव दिनुभयो । चुरे र भावर क्षेत्रको दिगो संरक्षणको लागि प्रदेश तथा स्थानीय सरकारलाई संलग्न गराउनुपर्ने विज्ञहरूको सुझाव छ । राष्ट्रपति चुरे भावर तराई संरक्षण समितिको संरचना केन्द्रमुखी रहेकाले परिवर्तन गर्न पनि विज्ञको माग छ । कार्यक्रममा टिप्पणीकर्ता तथा अन्तर्राष्ट्रिय परामर्शदाता कृष्णचन्द्रप्रसाद साहले चुरेको स्रोत जमीन, जल, वनस्पति र जैविक विविधता भएकाले संरक्षण गर्नुपर्ने बताउनुभयो ।  

टिप्पणीकर्ता राष्ट्रपति चुरे भावर तराई संरक्षण समितिका अध्यक्ष किरण पौडेलले नेपालको तराई भएर बग्ने १६४ नदी प्रणालीमा नदीजन्य निर्माण पदार्थ पर्याप्त रहेको र राष्ट्रिय आवश्यकताभन्दा ४० प्रतिशत बढी भएकाले त्यसको उपयोगको कुरा अस्वभाविक नभएको बताउनुभयो ।

 तराई क्षेत्रका १६४ नदी प्रणाली व्यवस्थापनमा रु दुई खर्ब ५० अर्बदेखि ८०० अर्बसम्म लगानी आवश्यक रहेको उहाँले सुनाउनुभयो । भूसंरक्षण, पानीको स्रोत संरक्षण र आयआर्जनका लागि बाँस अत्यन्त उपयोगी देखिएकाले वृक्षरोपणमा बाँसलाई प्राथमिकतामा राख्न पनि उहाँले आग्रह गर्नुभयो । समितिका पूर्व पदाधिकारी वीरेन्द्र यादवले चुरेभावर क्षेत्रको भूबनोट संवेदनशील भएकोले ढुङ्गा गिटी बालुवा निकासीको विषयलाई रोक्न आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ