७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

४ आश्विन २०७८, सोमबार १०:२०

सञ्चिता घिमिरे/ देवराज सुवेदी । असोज ४, काठमाडौँ (रासस)। असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ । 

मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो । 


पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ । यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ । न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ । चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ । 

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौ ।” 

पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो । त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ । प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उहाँले बताउनुभयो । 

आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन । आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उहाँले भन्नुभयो, “त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।” 

आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताउनुभयो । सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले मन्त्रालयले ती निकायसँग  कसले के गर्ने भनी छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, “एउटै मन्त्रालय र निकायसँग विशेषज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ ।”

मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ । यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो । यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो । उहाँले भन्नुभयो, “एडिबीले विशेषज्ञसहित टोली राखेर अध्ययन गरिरहेको छ ।” 

गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ । सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ । तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनःपानी ल्याउन सकिन्छ । अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ । उहाँले भन्नुभयो, “पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि चालू गरिनेछ ।” 

उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । यहाँको जनसङ्ख्या बढिरहँदा भएको स्रोत घट्दै गएकाले वर्षेनी खानेपानीको समस्या अझै विकराल बनिरहेको थियो । सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो । योजना निर्माण सुरु भएको लामो समय पछि बल्ल सम्पन्न भयो । झण्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परीक्षणकै क्रममा पहिरोले पुनःसंरचनामा क्षति पुर्याएको छ । काठमाडौँवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्षतिको मर्मत पनि सजिलो देखिएको छैन । 

उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ । काठमाडौँ उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ । कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ । मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति?