पढ्न करिब 2 मिनेट लाग्छ

कात्तिक ८, पाँचथर | आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

नेपाली सेनाको एम- १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना कुरुवासमेतलाई फिदिमबाट धरान पुर्याएको हो । बिरामीहरूको रेफरका लागि साँझसम्म पर्याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरूको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेको हो ।

आज बिहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरूको उपचार भइरहेको छ ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका- ६ मोरङका सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन ।

फिदिम नगरपालिका- ४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका- ४ सरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो । अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करिब २० मिटर तल झरेको थियो ।

दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलामा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरू बसमा चढेका थिए । तर, बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

यसअघि तीन दिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए । दसैँ मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरू सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तव्यतर्फ जाँदै थिए ।