कात्तिक १७, काठमाडौं | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले युईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ ।

मंगलबार राति इटालीयन क्लब एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै युनाइटेडलाई हारबाट उद्धार गरेका हुन् ।

रोनाल्डोको गोलसँगै इटलीमा भएको खेलमा २–२ को बराबरी खेल्दै दुबै टोलीले एक-एक अंक बाँडेका छन् ।

घरेलु टोली एटलान्टाका जोसिप इलिकिकले खेलको १२ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–१ को स्थितिमा ल्याए ।

यसपछि ५६ मिनेटमा डुभान जापाटाले गोल गर्दे पुनः एटलान्टालाई २–१ को अग्रता बनाए । तर ९० मिनेट पछिको इन्जुरी समयमा रोनाल्डोले युनाइटेडको लागि बराबरी गोल फर्काए ।

बराबरीसँगै समूह ‘एफ’ को खेलमा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएको युनाइटेड दोस्रो स्थानमा छ ।

दुई पटकसम्म अग्रता बनाएर पनि बराबरीमा रोकिएको एटलान्टा ४ खेलमा १ जित, २ बराबर र १ हारका साथ ५ अंक बनाएर तेस्रो स्थानमा छ । समूह ‘एफ’को खेलमा स्पेनिस क्लब भिल्लारियलले स्विस क्लब योङ ब्वाईलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भिल्लारियललाई जित दिलाउन एटिएन कापोइले खेलको ३६ र अर्नाउट डान्जुमाले ८९ मिनेट दोस्रो गोल गरे ।

जितसँगै भिल्लारियल समूह ‘एफ’ मा ४ खेलबाट २ जित १ बराबर र १ हारका साथ ७ अंक बनाएर शीर्ष स्थानमा छ । सामान अंक भएपनि युनाईटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित योङ ब्वाई ४ खेलबाट १ जित र ३ हारका साथ पुछारमा छ ।

रोनाल्डोले गरे युनाइटेडको उद्धार, भिल्लारियल विजयी