२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला–तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न गरिने

२०७८, ९ माघ आईतवार ०८:४०

माघ ९, काठमाडौँ | महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । 

सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो । गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले बताउनुभयो । यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ । झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ । उहाँले भन्नुभयो, “त्यो खण्डबाहेक अरुतिर निर्माण सकिनेछ ।”

यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उहाँले बताउनुभयो । स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ । खासगरी सङ्घीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण सङ्घीय बजेटबाट नै भइरहेको हो । 

अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताउनुभयो । यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ । छब्बिस किमीमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताउनुभयो । 

त्यसमा बीचबीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ । महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुनसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घोरेटोभन्दा ठ्याक्कै नजिकै वा केही तलमाथि पर्नसक्छ ।” झण्डै डेढदेखि दुई मिटरसम्म लम्बाइ हुने गरी घोरेटो बाटो निर्माण अघि बढाइएको विभागले जनाएको छ । कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ । 

घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ । ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताउनुभयो । कडा चट्टान भएका ठाउँमा भने एक किमी मात्रै चौडाइ हुनसक्ने उहाँको भनाइ छ । 

नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड छ । खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ । दुहुँ र व्यास गरी दुवै पालिकाका केही खण्डमा सडक बनेको भए पनि दुर्गम क्षेत्रमा सडकको पहुँच छैन । उहाँले भन्नुभयो, “सडक बन्न बाँकी दुर्गम क्षेत्रमा घोरेटोले पनि जीवन केही सजिलो बनाउन सक्छ ।”

गत आवमा भारतीय सरकारले लिपुलेकसम्म सडक निर्माण सम्पन्न गरेको थियो । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा प्रकाशन गरेको दुई वर्ष बित्यो । अहिले पनि लिपुलेक सडक सञ्जालसँग जोडिएको छैन । सरकारले गत वर्ष नै विशेष महत्व दिएर घोरेटो बाटो निर्माण सुरु गरेको थियो । महाकाली राजमार्गको निर्माण सुरु भए पनि सम्पन्न हुन केही वर्ष लाग्ने हुँदा त्यसको विकल्पका रुपमा घोरेटो बाटोको निर्माण गरिएको हो । 

गत आवमा नै अर्थ मन्त्रालयले विशेष महत्वका साथ यो बाटोका लागि रकम छुट्याएको थियो । व्यास–२ दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो निर्माणका लागि पुष्पाञ्जली रिठगडे निर्माण सेवा दार्चुलासँग ठेक्का सम्झौता गरिएको थियो । 

दार्चुला–टिङ्कर सडकको निर्माणमा ढिलाइ भइरहेकाले पनि घोरेटो बाटो चाँडो सम्पन्न गर्नुपर्ने स्थानीयवासी बताउँदै आएका छन् । गत कात्तिकमा प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोली स्थलगत अवलोकनका लागि पुगेको थियो । समितिले त्यस क्षेत्रमा बाटोको पहुँच नपुग्दा स्थानीयवासीलाई कठीनाइ भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन