पढ्न करिब 6 मिनेट लाग्छ

वैशाख १६, हेटौंडा | स्थानीय तह निर्वाचनको मतदान आउन १४ दिन बाँकी छ । मतदान नजिकिँदै जाँदा दलहरूले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । हेटौंडाको मेयरको लागि २१ जनाको उम्मेदवारी परेको छ । १२ जनाको विभिन्न दलहरूबाट उम्मेदवारी परेको छ भने नौजनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर, सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरूले आँकलन गर्न थालेका छन् ।

मेयरको लागि एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट मीना लामाले उम्मेदवारी दिएकी छिन् । दुवैले आफूले जित्ने दाबीका साथ चुनावी प्रचार प्रसारलाई तीव्रता दिइरहेका छन् । दुवै उम्मेदवार विगतमा नेकपा एमालेबाट राजनीतिमा सहकार्य गर्दै आएका थिए । एमाले विभाजनपछि लामा एकीकृत समाजवादीतिर गएकी थिइन् । लामा एक कार्यकाल हेटौंडाको उपमेयर पदमा रहेर काम गरिसकेकी उम्मेदवार हुन् भने पौडेल दोस्रो संविधानसभा सदस्य हुन् ।

लामाको साथमा पाँच दलीय सत्ता गठबन्धन रहेको छ भने पौडेललाई कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले साथ दिएको छ । तर, एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजीनामा दिएपछि भने गठबन्धनलाई केही धक्का परेको छ । पोखरेल नेकपा एमाले प्रवेश गरिसकेका छन् । यद्यपि, लामा केही व्यक्तिले पार्टी छोड्दैमा पार्टी वा गठबन्धनलाई कुनै पनि असर नपर्ने बताउँछिन् । लामा र पौडेलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार बनेका दिपक सिंहको पनि राम्रै चर्चा रहेको छ । गठबन्धमा रहेका असन्तुष्ट व्यक्तिहरूको भोट सिंहले काट्न सक्ने आँकलन गर्न थालिएको छ ।

हेटौंडामा अन्तराष्ट्रिय प्रतियोगिता गराउँछौं : लामा

हेटौंडाको मेयरकी उम्मेदवार मीना कुमारी लामाले आफूले पाँच वर्ष उपमेयर भएर काम गरेको आधार नै मेयर पद जित्ने प्रमुख आधार भएको बताउँछिन् । ‘मैले पाँच वर्षमा गरेको कामको आधारमा नै मलाई यो पटक भोट दिनुहुन्छ,’ उनले भनिन् ‘योजना तर्जुमा तथा बजेट निर्माणको संयोजकको रुपमा काम गर्दा धेरै योजनाहरू बनेका छन् । त्यसलाई कार्यान्वयन गर्न र सुरु भएका योजनाहरूलाई पूर्णता दिनका लागि पनि मेरो उम्मेदवारी हो ।’

मेयर पदमा जितेको खण्डमा उनले बागमती प्रदेशको राजधानी र एक मात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकालाई देशकै अब्बल पालिका बनाउन उदाहरणीय काम गर्ने बताइन् ।

‘महिला तथा बालबालिकालाई मैत्री नगर बनाउने र ज्येष्ठ नागरिक अस्पताल बनाउने प्रमुख योजना रहेको छ,’ लामा भन्छिन्, ‘गृहणी महिलाहरूलाई कृषि उत्पादनलाई जोड दिएर स्वरोजगार बनाउन काम गर्नेछु ।’

उनले हेटौंडा–६ मा रहेको निर्माणाधीन गौरिटार रंगशालालाई चाँडै निर्माण सम्पन्न गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने दाबी गरिन् । कर्रा खोला र राप्ती खोलालाई पूर्व–पश्चिम राजमार्गको बाइपासको रुपमा प्रयोग गरेर आर्थिक आम्दानी र पर्यटन विकासको लागि पहल गर्ने उनी बताउँछिन् ।

‘हेटौंडामा रहेका अल्पसंख्यक थामी, चेपाङको गाँस, बास, कपासको उचित व्यवस्था गर्ने योजना रहेको छ,’ उनले भनिन् ।

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए । अध्यक्ष रहेका पोखरेलले पार्टी छोडेर गठबन्धनलाई कुनै पनि असर नपरेको उनी बताउँछिन् । ‘पार्टी नै छोड्नको लागि रहेछ, पहिलादेखि नै पार्टीको सार्वजनिक कार्यक्रममा देखिनुहुँदैनथ्यो,’ उनले भनिन्, ‘हामीले आफ्नै तरिकाले पार्टी निर्माण गरेका थियौं । उहाँको पार्टी निर्माणमा उहाँको न्यून भूमिका रहेको छ ।’ पोखरेलको व्यक्तिगत र पारिवारिक भोट घटे पनि गठबन्धनलाई केही असर नपर्ने उनी बताउँछिन् ।

हेटौंडालाई समृद्ध बनाउन उम्मेदवारी : पौडेल

एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार बनेका अनन्त पौडेल अहिले पूर्वाधारको क्षेत्रमा भएको विकास नै एमालेका उम्मेदवारले जित्ने आधार भएको बताउँछन् । ‘२०४९ सालमा हेटौंडा नगरपालिकाको रुपमा रहँदा राष्ट्रिय राजमार्गबाहेक हेटौंडामा साढे दुई किलोमिटर मात्र पिच थियो’, उनले भने, ‘अहिले उपमहानगरपालिकाको सबै वडामा भौतिक पूर्वाधारहरूको विकास भएको छ ।’

अब जनताको जीवन, शिक्षा, स्वास्थ्य, जीवनस्तर, रोजगारीको क्षेत्रमा काम गर्न आफूले उम्मेदवारी दिएको पौडेल बताउँछन् । ‘महिला, दलित अशक्त अपाङ्गको जीवनसँग जोडिएर गर्न पर्ने कामहरू धेरै बाँकी छन्,’ उनले भने ‘त्यही कामहरू गरिसकेपछि मात्र सुन्दर, स्वच्छ र समृद्ध उपमहानगर हुन्छ, हेटौंडालाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो ।’

जनतालाई साक्षी राखेर गरेका प्रतिवद्धताहरू पूरा गरेको उनी बताउँछन् । ‘हेटौंडाको १९ वटै वडाका २० वटा सहरी स्वास्थ्य केन्द्रबाट जनताले स्वास्थ्य सेवा पाइरहेका छन्,’ उनले भने, ‘सयौं डाक्टरहरूले हेटौंडामा सेवा दिइरहेका छन् ।’

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई बढाउने योजना प्रस्तुत गरिएको सोहीअनुसार काम भइरहेको उनले बताए । ‘अहिले जे जति कामहरू गरिएको छ । त्यही काम नै मत माग्ने र जित्ने आधार हो,’ उनले भने । २०५४ र २०७४ सालमा पनि गठबन्धन भएको र गठबन्धनलाई परास्त गरेका कारण गठबन्धनसँग डराउन नपर्ने उनी बताउँछन् ।

‘एउटा पालिकामा एउटै पार्टीको मेयर उपमेयर भएमा मात्र विकासको गति अगाडि बढाउँछ,’ उनी भन्छन्, ‘गठबन्धन भनेको जनतालाई विभाजित गर्ने, राजनीनिक अस्थिरता ल्याउने संस्कृति हो ।’

स्थानीय सरकार भनेको जनताले हेर्दा देख्ने सरकार भएको र गठबन्धनले यसलाई दुर्घन्धित बनाउने कोसिस गरिरहेको उनको आरोप छ । मतदाताले आफ्नो खुट्टामा आफैंले बन्चरो नहान्नेमा आफू ढुक्क रहेको उनी बताउँछन् ।

हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको लागि ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नौजनाले विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने दुईजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेबाट हेटौंडाको उपमेयरमा उम्मेदवारी दिएकी सुमित्रा काफ्ले पनि एमालेबाट प्रतिनिधित्व गर्दै अहिलेको प्रतिनिधिले गरेका काम नै आफ्नो जित्ने आधार भएको बताउँछिन् ।

‘अखिल नेपाल महिला संघको नेतृत्व गर्दा गरेको कामको मूल्यांकन गरेर पार्टीले मलाई उम्म्ेदवार बनाएको हो’, उनले भनिन्, ‘हेटौंडाको समृद्धि र हेटौंडाबासीको सेवाको लागि मेरो उम्मेदवारी हो । विगतमा नेकपा एमालेका प्रतिनिधिहरूले नगर विकासको लागि गरेका कामहरूको आभास जनतालाई भएको छ ।’ आफूले उपमेयर जितेपछि विशेष गरेर महिलाहरूको क्षेत्रमा काम गर्ने उनी बताउँछिन् ।

सत्ता गठबन्धनबाट हेटौंडाको उपमेयरको लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँले संविधानले दिएको हरेक अधिकार जनतासम्म पु¥याउने बताए । ‘अहिलेको परिवेशमा वडा अध्यक्षको काम भनेको सिफारिस गर्ने मात्रै भएको छ,’ बानियाँले भने, ‘अब हरेक अधिकार वडा र टोलसम्म पु¥याउने वातावरण सिर्जना गर्छाैं ।’

संघीयता लागु भए पनि उपमहानगरपालिकामै अधिकार सीमित भएको उनको भनाइ छ । बानियाँले आफ्नो व्यक्तिगत खर्चमा बुबाको नाममा हेटौंडा– ९ मा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रमा एम्बुलेन्स सहयोग गरेका छन् । त्यसैगरी वडा अध्यक्ष भएबापत पाउने सम्पूर्ण सेवा सुविधाको रकम वडाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाउनको लागि सिधै विद्यालयको खातामा जम्मा हुने व्यवस्था गरेका छन् । उपमेयर भएपछि यस्ता सामाजिक कार्यमा नै आफूलाई समर्पित गर्ने उनको भनाइ छ ।

मलाई युवाको समर्थन छ : पाण्डे

त्यसैगरी हेटौंडाको उपमेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका सुरज पाण्डे राजनीतिक दलहरूले देशको राजनीतिक परिवेश बिगारेको आरोप लगाउँछन् । अहिलेसम्म राजनीतिक दलहरूले जनताको हितको लागि केही पनि काम नगरेका कारण आफूले उपमेयर पदमा हिम्मत गरेर स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् ।

११ जनाको उम्मेदवारी परेको उपमेयर पदको लागि पाण्डे पनि बलियो उम्मेदवारको रुपमा अघि बढेका छन् । ‘मलाई हेटौंडाको १९ वटै वडाको युवाको समर्थन छ,’ उनले भने, ‘जित्ने निश्चित छ । जितेपछि उदाहरणीय काम गरेर देखाउँछु ।’

आफ्नो व्यक्तिगत छवि र सामाजिक क्षेत्रमा गरेको सेवा नै जित्ने आधार भएको उनको भनाइ छ । कुनै पनि हालतमा पछि नहट्ने उनी बताउँछन् । ‘दलहरूको उद्देश्य नै सत्तामा पुग्ने रहेको छ,’ पाण्डे भन्छन्, ‘कृषकको पीडा समाधानका लागि कुनै दलले पनि केही कदम चालेनन् ।’ आफू युवा भएको र पछिल्लो समय युवाहरूप्रति आम जनतको भरोसा बढ्न थालेकाले आफ्नो जित सुनिश्चित रहेको उनी दाबी गर्छन् ।