पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ३, ललितपुर । कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् ।

राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्तर कम गर्न नसकिने बताए ।

नेपाल कृषि सङ्घका सभापति भानु सिग्देलले किसानले रु २० मा बेचेको तरकारी उपभोक्ताले रु १०० मा किन्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले रु ४० पाउने र उपभोक्ताले रु ६० मा किन्न पाउनुपर्छ ।” बिचौलिया नियन्त्रण नगर्दासम्म समस्या नहट्ने उहाँको भनाइ छ ।

राष्ट्रिय किसान सञ्जाल (क्रान्तिकारी)का सचिव नयन्द्र खड्काले पुँजीवादले त यसलाई सकारात्मक रुपमा हेर्ला तर समाजवादका अनुसार यो तल्लो वर्गमाथिको अन्याय हो भन्नुभयो ।

कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले तरकारी आयात कम मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“आगामी एक दुई वर्षमा नै आत्मनिर्भर हुने अवधारणा मन्त्रालयको छ । गत वर्षदेखि लागू भएको कृषि विकास रणनीतिले व्यावसायिक कृषिखेतीलाई जोड दिएको छ । ”

राष्ट्रिय किसान महासङ्घका महासचिव सीमा रिजालले तरकारीको न्यूनतम बिक्री मूल्य तोक्दा मात्रै किसानलाई सहज हुने बताउनुभयो । रासस