२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

२०८२, १२ आश्विन आईतवार ०७:४६

ढोरपाटन (बागलुङ) । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् ।

हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् । व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताउनुभयो ।

तीन दिन हिँडेर बागलुङ आइपुग्नुभएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताउनुभयो । तीन सय च्याङ्ग्रा लिएर आउनुभएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाउनुभयो । आफूहरूले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उहाँको भनाइ छ । हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउनुहुन्छ ।

“भदौ महिनामै व्यापारीहरू गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्षनै बैना दिएर आएका हुन्छन्, उनीहरूले गोठमा सस्तोमै पाउँछन्, बजार पुर्याउँदा महँगो पर्छ, किनकि गाडीमा ढुवानी गरेर भाडा तिर्नुपर्छ, बाटोमा हिडाउँदै लिए पनि खर्च धेरै हुन्छ”, उहाँले भन्नुभयो, “सहरबजारका मान्छेले हिमाली च्याङ्ग्रा खुब मन पराउँदा रैछन्, दसैँमा त ठूलो सङ्ख्यामा च्याङ्ग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दुःख छ ।”

च्याङ्ग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन् । पाँच वर्ष पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताउनुभयो । सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्याङ्ग्रा व्यापार भएको बताउनुभयो । च्याङ्ग्रा व्यापारबाट नौ जनाको परिवार चलाएको उहाँको भनाइ छ । च्याङ्ग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भन्दै हिउँचितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढा बताउनुहुन्छ ।

आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्याङ्ग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै बर्सेनि मूल्य बढ्दै गएको उहाँको भनाइ छ । आफूले सुरुमा रु १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्याङ्ग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बुढामगरले बताउनुभयो । चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढी हुने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जति टाढा पुर्याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वाभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नुपर्छ, हिँडाउँदै लैजाँदा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपालि पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेकोबढ्यै छ, बाहिरी व्यापारीले गर्दा च्याङ्ग्राको मूल्य बढेको हो, गोठालाले नै ल्याउने हो भने त्यति धेरै पर्ने थिएन ।”

मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्याङ्ग्रा भित्रिने गरेका छन् । तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन् । दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्याङ्ग्रा व्यापारी मोहन लामाले बताउनुभयो । आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौँमा च्याङ्ग्रा व्यापार गर्दै आएको सुनाउनुभयो ।

च्याङ्ग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन् । जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडापालनमा आबद्ध छन् । उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो