शंकर के सी/मङ्सिर १५, दाङ । मौरीका विभिन्न प्रजाति मध्ये पहाडी भुबनौटमा पाइने एपिस सेरेना जातको स्थानीय (लोकल) मौरी पालनमा दाङका किसानहरु समुहमै आवद्ध भएर लागेका छन् ।
अन्य मौरीबाट उत्पादित महको तुलनामा सेरेना मौरीको मह गुणस्तरीय, अर्गानिक र औषधिजन्य रुपमा प्रयोग हुने भएको हुँदा यसको पालनतर्फ ज्ञान, सिप, पूँजी र प्रविधि प्रयोग गरेर किसानहरु लागेका हुन् ।
असल शासन संरक्षण मञ्चको आयोजना तथा नेपाल सरकार, कृषि विकास मन्त्रालय, राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा दाङका १२० जना किसानहरु सेरेना जातको माहुरी पालनमा आवद्ध भएका छन् ।
दाङ जिल्लामा दिगो आय आर्जनका लागि एपिस सेरेना मौरीको व्यवस्थापन, प्रबर्धन र मुल्य श्रृंखला विकास आयोजना अन्र्तगत सेरेना महलाई व्यवसायीकरण गरी किसानको आय आर्जन बढाउन विभिन्न सामाग्रीहरु पनि वितरण गरिएको छ ।
व्यवसायिक योजना निर्माण तालिम, रानी मौरीको प्रजनन कार्यमा सहयोग, मह प्रशोधन केन्द्र विकास, सामुदायिक बनमा मौरी चरण सुधार, एपिस सेरेना मौरीको श्रोत केन्द्र स्थापना र विकास, होर्डिङ बोर्ड निर्माण, मौरीका सामाग्रीहरुको वितरणका साथै सहकारि गठन जस्ता कार्यक्रम गरिएको असल शासन संरक्षण मञ्चका अध्यक्ष कमल सुवेदीले बताए ।
तुलसिपुर उपमहानगरपालिका १ पवननगर तथा घोराहि उपमहानगरपालिका वडा नम्बर १२ को हापुर र वडा नम्बर १९ मा गरेर ६ वटा कृषक समूह रहेका छन् । जसमध्ये तीन स्थानमा सहकारि गठन गरि दर्ता प्रक्रिया अगाडी बढिसकेको परियोजनाका सहजकता निराश पाण्डेले बताए ।
उनका अनुसार तुलसिपुर १ मा सिसाखानी माहुरीपालन कृषि सहकारि, घोराहि १२ मा राधाकृष्ण माहुरीपालन कृषि सहकारि र घोराहि १२ मै रहेको उद्यमशिल माहुरिपालन कृषि सहकारि संस्था दर्ता प्रक्रियामा छन् । सहकारिको माध्ययमबाट अगाडी बढेमा किसानहरु परम्परागत मौरी पालन बाट माथी उठेर कृषिमा व्यवसायिकरण गरी दिगो आर्य आर्जन बृद्धि गर्नतर्फ अग्रसर हुने परियोजनाका कार्यक्रम संयोजक तथा माहुरी विज्ञ माधव केसीले बताए ।
२०७२ साल चैत्र २६ गतेदेखि शुरु भएकोसेरेना मौरीको व्यवस्थापन, प्रबर्धन र मुल्य श्रृंखला विकास कार्यक्रम आगामी फागुन महिना सम्म सञ्चालन हुने छ । तर यो कार्यक्रम अझै केहि वर्ष थप गरेमा आफ्नो व्यवसायमा बढि भन्दा बढि फाइदा पुग्ने अपेक्षा सिसाखानी माहुरीपालन कृषि सहकारि पवननगरका किसान आत्मराम खरालले गरेका छन् ।
किसानहरुलाई लक्षीत गरी दुई लाख लागतको मह प्रशोधन केन्द्र, ३ लाख ५० हजारको मौरीका घार र करिव ४ लाख लागतको मह र मौरी सम्बन्धीत औजार वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । परियोजनाले सामाजिक परिक्षण पनि गरिसकेको जनाएको छ ।