गण्डकी प्रदेशमा कृषि उपजका लागि द्रुत कार्य समूह

Posted on: 21 Apr, 2020

वैशाख ९, कास्की | कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित परिस्थितिमा प्रदेशका ११ वटै जिल्लामा कृषि तथा पशुपन्छीजन्य खाद्य बस्तुको सहज बिक्रीवितरण तथा कृषि तथा पशु उत्पादन सामग्री, बीउविजन, मल, औषधि, घाँस, दानाको निर्वाध ढुवानी र कृषकका समस्या समाधानमा सहजीकरणका लागि सो टोली गठन गरिएको हो । 

टोलीमा मन्त्रालयका सचिव अच्युत प्रसाद ढकाल, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनप्रसाद पुन, कृषि विकास निर्देशनालयका निर्देशक निलकण्ठ पोखरेल, मन्त्रालयका उपसचिव डा गृष्म न्यौपाने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ तथा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारी हुनुहुन्छ । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषकले उत्पादन गरेको बस्तुको बिक्रीवितरण, कृषिजन्य उत्पादनको सहज  ढुवानी तथा जारी लकडाउनमा आइपर्ने कृषि तथा पशुपालन सम्बन्धी समस्याका समाधानमा यस टोलीबाट सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषकलाई कुनै समस्या परेमा टोलीलाई खबर गर्न पनि आग्रह गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!