महेश नेपाली (जुम्ला) | बिहान आठ बजे । असोज महिनाको १७ गते राममायालाई शत्रु लागेझै हुन्छ । राममाया आफ्नो ३२ वर्षे लोग्नेको मृत शरिरमाथि विलाप गरिरहेकी हुन्छे । छर-छिमेक सबै भेला भैसकेका हुन्छन् । लासलाई पोष्ट मार्टम गर्ने कुरा चलिरहेको हुन्छ । प्रहरीले मुचुल्का उठाउदै हुन्छ । भेला भएकाहरु आपसमा खासखुस गर्दै हुन्छन् । के गरेको मोतिरामले ? किन यस्तो बाटो रोज्यो मोतिरामले ? बिचरा राममाया दुःख पाउने भई । कठैबरा…….। यो के देख्नु परेको हो ? हरे… छोराहरुको के हाल होला ? थै थै…… च्व च्व…. अभागि रैछ राममाया कहिले सुख नपाउने भई । पहिला पनि उस्तै भयो । अब झन्…..।
गाउँलेहरुले लास पोष्ट मार्टमको लागि अस्पताल लैजादै गर्दा राममायाको मनमा सम्झनाको पुरानो व्ल्याकिन ह्वाइट रिल घुम्न थाल्छ । सम्झिन्छे विगत । पुराना दिनहरु । हिजो लाग्नेले भनेको कुरा र आजको दिन ।
राममाया बिहानै उठि । अधिया खाएको खेतमा कोदो काट्न जानु थियो । आज एक्लै भन्दापनि स-परिवार गएर काम सकाउने उस्को इच्छा हुन्छ । सँधै एक्लै काममा जान्थि । पहिले-पहिले त उति मतलब हुदैन थियो । खास साथ पाउदीनथि । साथ, मतलब लोग्नेको । लोग्ने, मतलव मोतिराम । आज भने केही आशा पलाएको हुन्छ । त्यसैले मोतिरामलाई भनेकी हुन्छे । सँगै काममा जाँउ भनेर । तर पनि मोतिराम काममा गएन राममायासँग ।
मोतिराम जाँड खान्छ । बिहान उठेदेखि राति सुतुन्जेल । जाँड त खुब खान्छ । तर बाहिर बोल्दैन कत्तिपनि । जाँड खाएर फलानीको लोग्नेले फलानो ठाँउ झगडा गर्यो भनेर कसैले भनेको कहिले सुनेकि छैन राममायाले ।
घरमा भने मोतिराम घुसघुसे छ । स्वास्नीसँग खुब निउ खोज्छ । कयौंपटक झगडा भैसकेको छ । सुरुसरुमा राममाया सहेर बस्थि । गाली गर्दा रोएर टारिदिन्थि । मुख लाग्न जानेकी छैन होली जस्तै थिई । छोरीको कर्म यस्तै हो, सोच्थि । भाग्यलाई दोष दिन्थि । कर्म खोटो रहेछ भनेर चित्त बुझाउथि । कहिले काँहि सहन नसकेर माइत समेत जान्थि । उति लामो समय माइतमा भने बस्दिनथिई । माइत बस्दाबस्दै लोग्नको माया पलाउन थालिहाल्थ्यो ।
उनिहरुको मायाले मुर्त रुप पाइसकेको थियो । तीनवटा छोरा जन्मिसकेका थिए । त्यसैले पनि उति लामो समय माइत बस्न सक्दिनथि । घरमा आउथि झगडा सुरु हुन्थ्यो । बिस्तारै सहेर बस्न छोडि । आफूभित्रको काएरतालाई मिल्काइदिई उस्ले । दविएर बस्नु उतिच ठानीन । आँट गरी । त्यसपछि लोग्नेले थर्काउदा उ पनि झर्केर बोल्न थालि । थर्काउन खोज्दा हप्काउन थालि । हिक्मत हारिन । मोतिरामले ठूलो स्वर गर्दा उ झन् ठूलो स्वर गर्थि । लोग्नेले बाबुलाई गाली गर्दा बाबु र आमालाई गाली गर्दा आमालाई नै गाली गरि जवाफ दिन्थि । उसले जे भन्छ त्यसको जवाफ फर्काउथि । जे होस हेपिएर, दबिएर बस्न छोडि । सहेर बस्नु कायरता सम्झि ।
मोतिराम कहिले काँही हात छोड्थ्यो । राममाया पनि कम थिइन । हातै हाल्थी । जाँड खाएको लोग्ने कमजोर हुने कुरा जब थाहा पाई त्यसपछि त कुट्न सुरु गरिहाली । कहिलेकाहि जे भेटिन्छ त्यसैले बजाउथि शरिरमा । एकपटक त्यस्तै भयो चिर्पट दाउरो फेला पारी त्यसैले भकुरी । भकुर्नु भकुरी । मोतिराम चार दिन थला पर्यो । तरपनि जाँड खान छोडेन । छोडेन आफ्नो घुसघुसे बानि ।
खराबिहरुको फेहरिस्तमा एउटा अर्को खराबि थियो उस्को । कोहि नभएको वेला घरमा जे देख्यो त्यहि चोरेर बेचिदिन्थ्यो । बन्चरो, कुटो कोदालो, हँसिया, दाउरा जे पायो त्यहि । घरभित्रको अन्नपनि बाँकी राख्दैन थियो । धान, गँहु, जौ, सिमी, मकै भकारीमा जे छ त्यहि । पछि-पछि दिउसो दिउसो कोहि नभएको वेला खातमा राखेको दाउरा समेत बेच्थ्यो । यति सम्म कि गाउँका अरु कासैका काठ दाउरा पनि बेचिदिन थालेको थियो । कसैको केहि हरायो भने पनि मोतिरामले लियो होला भन्ने गर्थे । यी सबै क्रियाकलापबाट हैरान भैसकेकी राममाया पछिपछि त अलिअलि भएको अन्न र हाते औजारहरुसमेत नजिकका आफन्तहरुकोमा राख्न थालेकि थिई ।
मोतिरामले जाँड खान त कहिले छोडेन तर पछिल्लो समय भने केहि एकोहोरीन थालेको थियो । केहि फेरीएको थियो । बोल्दा अलि फरक तरीकाले बोल्थ्यो । सुख-दुःखका कुरा गरौंला झैं गथ्र्यो । कहिले भावुक बन्न खोजेको जस्तो गथ्र्यो । एकान्त खोज्थ्यो । राममायासँग केहि बोल्न खोजेजस्तो गथ्र्यो । राममायालाई पनि आभाष नभएको होइन । पहिला-पहिला उति त वास्ता गरिन । धेरै पछि भने लोग्नेका कुरा सुन्नुपर्छ जस्तो लाग्यो । मोतिराम केही भन्न लागेको हुन्थ्यो । राममाया पनि सुन्न लागेकि हुन्थि । विचमा छोराहरु आइपुग्थे । ऊ अलि गाह्रो मान्थ्यो । राममाया काममा जान्थी । कुरा बिचैमा रोकिन्थ्यो ।
काममा हुँदा राममाया लोग्नेबारे सोच्थि । के भन्न लागेको होला भनि मनमा कुरा खेलाउँथि । र पनि लामो समयसम्म लोग्नेका कुरा सुन्न पाइन । मनको कौतुहलता मेटिएकै थिएन । चासो पनि राखेकि हो । बरु एकान्त भने भेटिएकै थिएन ।
उता मोतिराम बेचैन थियो । लामो समयसम्म पनि मनको गाँठो फूकाउन सकेको थिएन । मन भारी भैरहेको थियो । उकुसमुकुस भैसकेको थियो । आफूले आफैलाई धिक्काथ्र्यो । आफ्नी स्वास्नीसँग कुरा गर्नपनि माहाभारत भैदिदा उस्लाई आत्मग्लानिले पोलेको थियो । माहाभारत नहोसपनि कसरी बिहानै कोहि नउठ्दै जाँड खान गैहाल्थ्यो । राति सबै सुतिसके पछि घर पुग्थ्यो । उस्का कुरा सुन्नुपर्ने राममाया थकानले सुतिसकेकि हुन्थि ।
एकदिन माहिलो छोरा गाई चराउन गएको थियो । जेठो त्यस्तै गाउँतिर घुम्न गएको हुँदो हो । कुपोषण लागेको सानो तीन वर्षको छोरा घरमै थियो । बाबुआमाका कुरा बुझ्ने भैसकेको थिएन । राममाया घरमै थिई । यति नै वेला मौका छोप्यो मोतिरामले भावुक हुँदै भन्यो “राममाया….. तैंले पहिला पनि सुख पाइनस अव पनि दुःखै हुनेभयो ।”
राममाया केहि बोलीन । बरु मनमनै प्रश्न गरि तैंले कहिले पो सुख दिइस र आज यस्ता कुरा गर्दैछस् ? उति वास्ता पनि गरीन काममा हिडिहाली । दिउसो काम गर्दै-गर्दा भने एक/दुई पटक बिहान लोग्नेले गरेका कुरा सम्झि । उस्तै स्वर उस्को कानमा गुन्जियो “राममाया….. तैंले पहिला पनि सुख पाइनस अव पनि दुःखै हुनेभयो ।” त्यसपछि राममायाको कानमा मोतिरामाको स्वर गुन्जिरहयो राममाया…. राममाया…. । यस्तै पछाडिका अरु शब्दहरुपनि ।
त्यसपछि लोग्ने उस्को मानशपटलमा आइरहयो । गुनगुनाइरहयो । सोच्न बाध्य बानाई दियो । त्यसैवेला उस्ले सम्झि, आफ्नो बैंस । बैंसको प्रेम । अनि बैवाहिक जीवन । खाइलाग्दो मोतिराम सम्झि । उस्ले पहिलो पटक देखेको अपरितिच मोतिराम झलझलि देख्न थालि । मंसिरको महिना थियो । दिन ढल्किन थालिसकेको थियो । चिसो सिरेटो चल्दै थियो । मन बतासीएको थियो । १६ वर्षकी राममायाले १८ वर्षको मोतिराम देखि । नजिककी दिदी पर्नेले उनिहरुको चिनजान गराइदिइन । परिचय भयो उनिहरुको । पहिलो नजरमै मन पर्यो मोतिराम । औषत नेपालीहरुको उचाइभन्दा थोरै कम उचाई भएको । गहुँगरो वर्णको । बाटुलो अनुहार । उचो निधार । गठिलो जिउडाल । देब्रेतिर कोरेको सदावाहार कपाल । भर्खर बस्न थालेको जुंगाको रेखि । त्यहि मुनिबाट फुस्किएको मधुर मुस्कान । अनारका दानाजस्तै मिलेका दाँत सबैले मोहित बनायो राममायालाई । सपनाको राजकुमार भेटी राममायाले । त्यसपछि राममायाको सपनामा मोतिराम राजकुमार बनेर आउन थाल्यो ।
एक/दुई दिन विराएर मोतिराम राममायाको गाँउ जान्थ्यो । बिस्तारै भेटघाट बढ्न थाल्यो । उठबस हुन थाल्यो । माया प्रेमका कुरा हुन थाले । माया बस्यो । बिहेका कुरा गर्यो मोतिरामले । राममाया फरुङ्ग भई । उडाइदियो मोतिरामले । भागेर मोतिरामको घर आई, राममाया । माइतिले पनि हुर्केकी छोरीले आफ्नो लोग्ने आफै रोजेपछि आपत्ति जनाएनन् । बिहे भयो राममायाको । घरजम गरी, राममायाले ।
बिहेपछि मोतिराम ज्याला मजदुरी गर्न थाल्यो । बजार नजिको मजदुर भएकाले चलन-चल्तिको दरभाउमा बिक्यो मोतिराम । कमाई राम्रै हुन्थ्यो । नुनतेल उसैले गर्न थाल्यो । बचेको पैसाले नयाँ कपडा ल्याइदिएर खुसि बनाउँथ्यो राममायालाई । घरव्यवहार राम्रै थियो ।
राममाया खुसि थिई आफ्नो घरबारप्रति । आफनो रोजाइप्रति । ऊ पनि घरमा त्यसै बस्दिनथी । घरको काम सबै उसैले धानेकि थिइ । गाँउलेहरु गतिलि, लक्षिनकी जोई पायो मोतिरामले भन्थे ।
जोडि मिलेको थियो । मोतिराम पनि सिपालु थियो । घर बनाउने सिपालु सिकर्मी । उस्को माग बढिरहेको थियो । काम गर्दै जाँदा अरु सिकर्मीहरुसँगको सम्बन्ध विस्तार भयो । उनिहरुसँगको सामिप्यता बड्न थाल्यो । सम्बन्ध नजिकको भयो । उनिहरुसँग खानपिन हुन थल्यो । उनिहरुबाटै थकान मेटाउन जाँड खानुपर्छ भन्ने शुन्यो । धेरै समयदेखि मोतिरामले थकाइ मेटाउने उपाय खोजिरहेको थियो । भेट्यो । पहिलो पटक संकोज मानि-मानि पियो । त्यसपछि मोतिरामले जाँड खान सिक्यो ।
मोतिराम दिनहुँजसो जाँड खान थाल्यो । झन् बढाएर जाँड खान थाल्यो । घरमा स्वास्निलाई हेप्न लाग्यो । झगडा हुन थाल्यो । कुलतमा फस्दै गयो मोतिराम । काम गर्दागर्दै जाँडको तलतल लाग्न थाल्यो । कहिलेकाहि काम छोडेर जाँड खानपनि गयो । पछिपछि त काममा जान छोडेरै जाँड खान बस्न लाग्यो ।
काम गरुन्जेल कामबाट आएको पैसाले जाँड खान्थ्यो । काम छोडेपछि पैसा आउन छोड्यो । ऋण गरेरै भएपनि जाँड खान छोडेन ।
यो सब देखेपछि घरपरिवार ऊ देखि रुष्ट भए । त्यहि समयमा मोतिरामका बाबु बिते । बाबुको शेषपछि बाबुको नामको जग्गा उस्को भयो । उस्ले जग्गा जति आफ्नो नाममा नामसारी गर्यो ।
जाँड खान छोडेन । काम गर्न छोड्यो । जाँड खानलाई पैसा भएन । त्यसपछि आफ्नो नाममा भएको जग्गा बेचिदियो । जाँड खान । जग्गा बेचेको पैसाले आफूले मात्र जाँड खाएन अरुलाई पनि खुवायो । अत्यधिक मधिरा सेवनले उसको रुप कुरुप भएको थियो । अनुहार फूलेको थियो । कालो भएको थियो । ऊ क्रमश रित्तो हुँदै गयो । त्यसरी बिग्रिएको हो मोतिराम । थकाइ मेटाउने उपाय अफापसिद्ध भएको थियो मोतिरामलाई । त्यसैले साथ नपाएकि हो राममायाले ।
धेरै समयपछि मोतिरामले आफ्नो मनको गाँठो फुकाएको थियो । उ हलुका भएको थियो । त्यहि दिन राममायाले यो सब सीम्झएकी थिई । फेरी उस्को कानमा गुन्जयो बिहानैको लोग्नेको आवाज, जस्ताको तस्तै सुनि “राममाया….. तैंले पहिला पनि सुख पाइनस अव पनि दुःखै हुनेभयो ।” उस्लाई लाग्यो मोतीरामले आफ्नो दुःख बुझ्यो होला । सायद ऊ सुध्रिन चाहन्छ । मैले पनि साथ दिनुपर्छ । यस्तै अरुपनि सम्झिदै थिई…. । उसको मनमा लोग्नेप्रति माया पलाएको थियो । फेरी एकपटक ऊ भावुक भएकी थिई । मनमनै रमाएकी थिई । हावा चल्न लागेको थियो । उस्को शरिरमा गर्मी चढेको थियो । काँधमा भएको सल फर्फराइरहेको थियो । ऊ मनमनै नाचेकी थिई । फेरी एक पल्ट बैंसको मोतिराम भेटेझैं भएको थियो ।
उस्ले सोचेकी थिई अब त दुबै लोग्ने-स्वास्नी काममा सँगसँगै जाँउला । पुराना दिनहरु फिर्लान । लोग्ने मजदुरी गर्न जाला । आफू घरको काम गरुँला । छोराहरु रमाउदै स्कूल जालान । यस्तै यस्तै….. ।
असोजको महिना छ । दशै नजिकीदै छ । अझ भनौ दशैका दिनहरु शुरु भैसकेका छन् । भोलिपल्ट बिहानै बिउझनासाथ राममायाले दुई छोरालाई बिउझाई । लोग्नेलाई बिउझाई । कान्छो सुतिरहेकै थियो । माहिलोलाई खाना बनाउन भनि । माहिलो त्यस्तै १० वर्षको छ । चार कक्षा पढ्दै गरेको । जेठो सातमा पड्छ । ऊ १३ वर्षको हो । जेठोलाई आफूसँग कोदो काट्न जाँउ भनि । जेठो तयार भयो । लोग्नेलाई पनि भनि “जाँउ हिड, म कोदो काट्छु तिमी नल काटौला ।” तर मोतिराम तयार भएन । अटेरी गर्यो । राममायाले खुब अनुरोध गरी । तरपनि मानेन । मान्दै मानेन । झोक चलेछ राममायालाई । ओछ्यानमै भएको मोतिरामलाई दुई झापड लगाई । निराश भई । दुई आमाछोरा मात्रै कोदो काट्न गए ।
माहिलो छोरो खाना बनाउदै हुन्छ । जेठो डोकोमा कोदो लिएर घर आइरहेको हुन्छ । माहिलो खै किन हो भित्र कोठा जान्छ । भित्र कोठामा आफ्नो बाबु झुन्डिएको देख्छ । बाबु, आर्थात मोतिराम । शररर बाबुको अनुहार नियाल्छ । मुखमा थोरै फिज देख्छ । जिब्रो बाहिर निस्किएको हुन्छ । हतारमा बाहिर आँउछ । छिमेकी दाइलाई सुनाउँछ । दाइले सबै छिमेकीलाई खबर गर्छन् ।
मोतिरामको जेठो छोरो हतारमा रुदै आमा बोलाउन जान्छ । आमा कोदो काट्दै राखेकि हुन्छे । रुदै भन्छ “आमा, घर जाँउ ।” राममाया काम नसकिदै किन घर जाउ भन्छे । छोरो रुन छोड्दैन । राममाया के भयो भनि छोरा नजिक आँउछे । त्यहिवेला छोराले राममायालाई बाबुको वृतान्त सुनाउछ । राममाया हतारीदै घर आउछे। उसले बाटोभरी सम्झिन्छे । बार-बार सम्झिन्छे । हजार बार सम्झिन्छे अघिल्लो दिन लोग्नेले भनेको कुरा “राममाया…. तैंले पहिला पनि सुख पाइनस अव पनि दुःखै हुनेभयो ।” यहि रहेछ मोतिरामले हिजो फुकाएको गाँठो । मोतिरामको मौखिक सुसाइड नोट ।