सरस्वती अधिकारी (खुशी) | 'मायाँ' जुन शब्द हामी सबैले उच्चारण गर्ने शब्द हो | जुन शब्दको सुरुवात नै आमा हुन् | आमाले उनको मायाँले नै सिकाइन् मायाँ-ममता, त्यसैले अहिले त्यहि शब्द उच्चारण गर्छौं | आमाले नौ महिनासम्म गर्भमा राखेर अनेकौ दु:ख र कष्ट सहेर आफ्नो सन्तानलाई धर्ति मात्र देखाउदिनन् | अमृत समान दशधारा दुध पिलाएर हुर्काउँछिन् | आफूले हजारौ कष्ट सहेर वा भोक प्यास सहेर उनले आफ्नो सन्ततिको उज्ज्वल भविष्यको लागी संघर्ष गर्छिन् | तैपनि उनि आफ्नो सन्तानको खुसीमा नै सबैभन्दा बढी खुशी हुन्छिन् | आफ्नो पिडाहरुलाई मनमा दबाएर सन्तानको खुशीमा रम्न सक्ने भनेकै आमा हुन् |
संसारको सबैभन्दा अमुल्य चिज नै आमा हुन् | हामी संसारको जुनसुकै कुरा किन्न सकौला तर आमा किन्न खोजेर पनि पाउँदैनौं | किनकी आमा आफैमा अमुल्य हुन् | उनि त भगवानको पनि भगवान हुन् | जसलाई हामीले पुजा गर्नुपर्छ |
चाहे शिक्षित हुन् या अशिक्षित सबैभन्दा पहिला आफ्नो सन्तानलाई संसारको सबैभन्दा अमुल्य ज्ञान दिन्छिन् आमाले | सन्तानलाई कतै थोरै ठेस लाग्दा पनि भक्कानिएर रुन्छिन् आमा तर आफुलाई ठेस लाग्दा मुस्कुराउछिन् कति पनि दु:खि हुँदिनन् |
खै कुन शब्दले सम्बोधन गरु ? के उपहार दिउ, ममताकी खानी ती आमालाई ? शब्दकोश पल्टाएर हेरें पनि | आधुनिक प्रविधिको गुगलमा पनि सर्च गरें तर उनको कतै भेटिन- आमाको त्यो अमुल्य गुन तिर्ने उपहार | सायद त्यो आमाको मायाँ भएकाले मैले त्यसको लागि तिर्ने कुनै उपहार भेट्न सकिन | सायद आमा भन्दा ठूलो यो संसारको कुनै पनि चिज नहुने भएरै होला | हरपल प्रयास गर्दापनि मैले आमाको ममतालाई चुकाउने उपहार भेटाउनै सकिन | आमाप्रति गुण लगाउन र अमृत समान दुधको भारा कटाउन जतिसुकै कोशिस गरेपनि असमर्थ नै भएँ |
आमा, जब तिमीलाई असह्य पिडा हुन्थ्यो तब तिमीले गहभरी आँशु पार्थ्यौ र मैले सोध्थे आमा तिमीलाई के भयो ? तब तिमीले मुस्काराउँदै जवाफ दिन्थ्यौ "केहि होइन छोरी, मेरो आँखामा धुलो पर्यो, अनि आँशु आयो, म हतारिदै भित्रबाट कचौराभरी पानी ल्याउँथे र दिन्थें र भन्थें -'आमा सरले भन्नु भएको आँखामा धुलो पर्दा कचौराभरी पानी राखेर हेर्नुपर्छ रे अनि ठिक हुन्छ रे" | तर तिमी कति महान थियौ आमा, आफ्नो सन्तान खुशी बनाउनकै लागी ती पिडाको आँशुलाई कचौराको पानीसित मिसाउथ्यौ | म अबोध थिएँ, तिम्रो दु:ख बुझ्न सक्दिनथें |
जब मैले तिम्रो दु:खलाई बुझ्न सक्थें, त्यसबेलासम्म तिम्रो आँशु पुछ्ने अधिकार मलाई भएन | मलाई मेरो माइतीले नौ डाँडा पारी बनाइसकेका थिए | म तिम्रो काँखमा रमाउन चाहन्थें, खेल्न चाहन्थें, तिम्रै दु:खको सारथी बन्न चाहन्थें | तर मलाई त्यो अधिकार थिएन | आजकाल दाजु-भाउजु, भाई-बुहारी सबै डलरको खेति गर्न थाल्या छन् रे | तिमी उनीहरुको लागि बोझ बन्यौ रे | त्यसैले होला आमा तिमीलाई वृद्दाश्रममा लगेर फ्याकिदिए | र आज तिमी बुढेसकालमा साहाराविहीन बन्यौ | सहारामा वृद्दाश्रम बाहेक अरु केहि रहेन | तिम्रो मन कति जलिरहेको होला ? कति विलौना गरि रोइरहेकी हौली | तर आमा तिमीप्रति छोराछोरीको मायाँ अलिकति पनि बाँकी रहन सकेन | र त आज वृद्दाश्रमको स्थापना भए |
सकुन्जेल सन्तानको लागि लड्यौ तर जब तिम्रो शरीर बुढो भयो | अनि काम गर्न नसक्ने भयौ, तिमीलाई सहाराको खाँचो हुन थाल्यो, अब तिमी आफ्नै सन्तानको पनि बोझ बन्यौ |
आमा तिमी मात्र होइन, म हजारौं आमाहरु रोएको देख्छु, सुन्छु र भक्कानिन्छु | मनमा पीडाको भारी बोकेर हिड्छु र भन्छु- 'आमा-बाबा छोरीसँग किन बस्नु हुँदैन ? हामी छोरीहरु किन तिम्रो बुढेसकालको सहारा बन्न सक्दैनौं ? तिमी त छोरा छोरीलाई नै बराबरी मायाँ गर्थ्यौ त ? तर किन छोरीसँग बस्न अस्वीकार गर्छ्यौ आमा ?
आमा, तर आज एउटा कुराको असाध्यै दु:ख लाग्छ मलाई, जब कि आफ्नै आमा सम्झन पनि मातातिर्थ औंशी (आमाको मुख हेर्ने दिन) कुर्नुपर्छ रे ! हो त्यो दिन तिमी पनि फेसबुकको वालहरुमा सजिएकी हुन्छ्यौ | तिमीले आफूले मात्र मायाँ गर्यौ तर आमा तिमीले आफ्नो सन्ततिलाई मायाँ गर्ने तरिका सिकाइनौ | सायद त्यसैको प्रतिफल होला, आमा आज तिम्रो त्यो अमुल्य मायाँ पनि भुल्दैछन्- तिम्रा सन्ततिहरु | आमा, यहाँ तिम्रा सन्तानहरु व्यावहारिक हैनन्, व्यापारिक बन्दैछन् | त्यसैले तिम्रो मायाँ भन्दा पनि डलरलाई अमुल्य मान्दैछन् |
आमा, म कसरी हेरुँ, अनि तिमी कसरी सहन्छौ – आमा, आफूले अमृत पिलाएका सन्तानहरुले विष ओकाल्दा ? अझै पनि तिमी कति सहनशील छौ आमा ? तैपनि सन्तानकै खुशीमा रमाउछौ | तिमी कति महान छौ, आफ्नो सन्ततिको लागि फेरी पनि हाँसी-हाँसी मर्न तयार हुने !?