नेपालको स्वार्थ बाहेक केही हेर्दैनौं हामी ।
चन्द्र सूर्य अङ्कीत झण्डा कहिल्यै फेर्दैनौं हामी ।।
“बडो उदेक लाग्छ, सर्वसाधारणका लागि क्यामेरा निषेध, फोटो खिच्न निषेध गरिएको मुक्तिनाथ मन्दिरको भित्रै पुगेर भारतीय सञ्चारमाध्यमहरुले खुल्लेआम विश्वभर प्रतक्ष्य प्रसारण गर्ने यो मुलुकमा नेपालीले नै आफ्नै देशका लागि अनि माटोका लागि केही गर्छु भन्दा पनि गर्न नपाउने यो कस्तो खालको गणतन्त्र हजुर ?”
– प्रभात सुवेदी
कहिलेकाहीँ कुनै परिस्थितिमा आँफैलाई विश्वास नलाग्ने सिर्जनाहरु पनि जन्मिने रहेछन् । हामी जन्मेपछि अवश्य एक दिन यो धर्तीलाई सदाको लागि छाडेर जानै पर्दछ । यो शास्वत सत्य हो । हामी मात्रै हैन संसारमा भएका सबै सजीव तथा निर्जीव सबै वस्तुहरुको आयु हुन्छ, अर्थात सबै नाशवान छन् । वैज्ञानिकहरुले यो पृथ्वी, चन्द्रमा, सूर्य लगायत ब्रह्माण्डका खगोलीय पिण्डहरुको त आयू निकालिसके जाबो हामी यो ब्रह्माण्डको अगाडि को हौं र ? जसले आफ्नै सत्यतााको बारेमा अझैसम्म पनि पत्ता लगाउन सकेका छैनौँ ।
त्यसैले हरेक विवेकशीले मानिसमा यो चेतना भरिएको छ कि, जन्मेपछि केही न केही गर्नै पर्दछ । एक बारको जुनी, कर्कलाको पानी, दुई दिनको जिन्दगानी, पानीको थोपा, माटाको घैंटो आदि आदि प्रतिकका रुपमा जीवनलाई पुकार्ने गरिन्छ । फरक यत्ति हो कसैले आफ्नो लागि गर्दछन् त कसैले अरुका लागि गर्दछन् । यहाँ प्रसङ्ग भने अरुका लागि नभएका यो माटो अनि जन्मभूमिका लागि गर्नेहरुका लागि भन्न खोजिएको हो । त्यसैले प्राय उच्च चेतना बोकर जन्मेका मानिसहरु वा त्यो चेतनाले भरिएका मानिसहरु भने आफ्नो र आफ्नाहरुका लागि भन्दा पनि आफू जन्मेको माटोको लागि केही गरुँ भन्ने वृहद सोचका साथ निस्वार्थ भावनाले प्रेरित भएर अगाडि बढिरहेका हुन्छन् । उनीहरुको जन्म चाहे झुपडिमा नै किन नहोस् तर मृत्यू भने महान् हुन्छ । हजारौंले श्रद्धाञ्जली दिन्छन् अनि समाज रुन्छ विश्व रुन्छ, अनि धर्ती आकाश पनि रुन्छन् । हो यही हो जन्मेको सार । किनकी यो भौतिक शरीर त आखिर खरानी भएर नै जाने वा यही ब्रह्माण्डको पञ्चतत्वमै बिलिन हुने त हो ।
यसका लागि हरेक मानिसले आफूमा भएको कुन क्षमताको प्रयोग गर्ने हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । र, त्यो क्षमताको सही पहिचान गर्दै उक्त क्षमताको विस्तार गरेर देश, समाज र आम जनताको हितमा कसरी प्रयोग गर्न सक्छु भनेर निरन्तर घोत्लिनु पनि पर्दछ । मानिसका आ–आफ्ना रुची बमोजिमका कामहरु गरेर समाजमा साख कमाउन वा नयाँ नयाँ रेकर्ड तथा इतिहास कोर्न सबैलाई मन लाग्दछ । फरक यत्ति हो कसैले त्यस प्रकारका कामहरु गरेर इतिहासमा नाम लेखाउँछन् त कसैले आफूलाई समाजले सम्झिरहने प्रेरक वा उदाहरणीय व्यक्ति बन्छन् । यसका लागि शिक्षा, स्वास्थ्य, कला, साहित्य, कृषि, उद्योग, समाजसेवा, धर्म, परोपकार लगायत विभिन्न क्षेत्रहरुको चयन गरेका हुन्छन् । यसकै माध्यमबाट सबैको प्रिय बन्न सदा उद्येत रहन्छन् ।
यसै प्रसङ्गमा आफ्नै उदाहरण दिन मन लाग्यो । खाली आफ्नै कुरा ग¥यो भनेर पाठक वर्गहरुले नभनिदिनुहोला किनकी यो आलेख पढिसकेपछि तपाईंमा पनि एउटा प्रेमिल भावनाको जागरण हुनेछ भन्ने म विश्वस्त दिनलाउन चाहान्छु यदि नेपाली मन लिएर जन्मिनुभएको छ भने । नभए मेरो भन्नु केही छैन ।
यसपाली विद्यालयको वर्खे विदालाई सदुपयोग गर्दै यो माटोका लागि केही गरुँ भनेर संघीय राजधानी छिरेँ । मेरो आफ्नो रुचीको क्षेत्र साङ्गितीक क्षेत्र भएकोले प्रत्येक वर्ष समय मिलेसम्म एक÷दुई कृतिहरु निकालिरहेको छु र निकालि नै रहने छु । यसपालि भने पाँच ओटा साङ्गितीक सिर्जनाहरुका काम भए । कति बजारमा आइसके भने कति आउन बाँकी छन् र आउँदै छन् । अहिलेका सिर्जनाहरुमा गायक शिशिर योगीले गाउनुभएको ‘चरी बनी उडी गइन्’ ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’ का शब्द र मेरो सङ्गीतमा रहेको सुगम सङ्गीत, त्यसैगरी मेरो र विन्दु परियारको आवाजमा रहेको ‘पिरतीको किला’ मेरो शब्द र संगीतमा अनि मेरी चेली तुलसी घर्ती मगर र मेरो स्वर, मेरै मितज्यू प्रभात सुवेदी (काठमाडौं) को शब्द अनि मेरै सङ्गीतमा ‘माया टोक्नै नमिल्ने’ सार्वजनिक भैसककेका छन् । ऋचा लुईंटेलका शब्दहरु मेरो सङ्गीतमा टिका पुनसँग गाएको निकै मौलिकता बोकेको गीत ‘हलो जुवा फरुवा’ को अडियो फाइनल भएको छ भने त्यसलाई बाँके, बर्दियामै छायाङ्कनको गरी तिज लगत्तै सार्वजनिक गर्ने तयारी छ र अर्को गीत भनेको नेपालमै एउटा नयाँ प्रयोग गरिएको गरिएको गीत हो जसलाई हामीले राष्ट्र गजल गीत भनेर नामाकरण गरेका छौं कतिलाई अनुपयुक्त लाग्न सक्ला त्यो हामीलाई थाहा भएन । कुरो यसैको हो र यो आलेख पनि यही राष्ट्र गजल गीतले जन्माएको हो ।
काठमाडौमा बर्दियाका उदीयमान प्रतिभाले भरिपूर्ण भाइ रकेश वलीसँग संगीत संयोजनको काम भैरहेको थियो । यो राष्ट्र गजल गीतलाई हामीले मिलेर नै अन्तिम मेलोडि तयार ग¥यौँ । केही शब्द ऋचा लुईंटेलका पनि रहे भने रकेश भाइको पनि पूर्ण साथ रह्यो । मेरो सङ्गीत रहेको रकेश वली भाइको मिठो संगीत संयोजन भई गीतले जीवन पायो । म, रकेश भाइ, मुना वली र राधा खड्का भएर चार जनाको भोकल पनि गरियो । स्वदेशको माया झल्किने गीत भएकोले यसलाई भिडियो नगरीकन भएन । किनकी आजभोलिको ट्रेन भनेको गीत सुन्ने भन्दा पनि हेर्नेहरुको विगविगी बढेको छ । त्यसैले हामीले अन्य कुरामा खर्च कटौति ग¥यौँ बरु केही दिन खाजा नखाऔँला, खाना नै नखाऔँला तर यो इतिहास रच्ने काममा कञ्जुस्याईं गर्न हुन्न भन्ने निश्कर्षमा हामी पुग्यौँ । यसमा रकेश वली भाइले मलाई भरपुर साथ दिनुभयो । यसकै कारण पनि मैले राजधानीको बसाइलाई पनि केही दिन लम्ब्याएँ । यो कार्यका लागि गीतकार ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’ को सहयोग पनि अविश्मरणीय रहेको छ ।
कुरो यहि साउन ७ गतेको हो । हामी गीतको फाइनल अडियो तयार भएपछि सुटिङको लागि तयार भयौँ । यो गीतमा मुलुकको हित चिताउने र चिताएका अनि राष्ट्रिय स्वाभिमानका मुद्धाहरुमा खरो किसिमबाट उत्रिरहेका व्यक्तित्वहरुलाई राख्ने कुरा पनि भयो । जुन प्रयास अझै पनि रकेश भाइले गरिरहनुभएको छ । झण्डाको कुरा भएकोले हामी सुटिङको लागि ठूलो झण्डा भएको ठाउँ काठमाडौंको माइतीघर मण्डलामा पुग्यौँ । बिहान करिब नौ बजेदेखि सुटिङको कार्य शुरुवात गरियो । त्यस स्थानमा हामीले गीतको स्थायी र एउटा अन्तराको सुटिङ गरी पर्याप्त फुटेजहरु लियौँ । हामीलाई निर्देशकको भूमिका निर्वाह गर्ने अत्यन्तै मिलनसार भाइ असोक वि.क. को सहयोग पनि अत्यन्तै मिठो रह्यो । करिब तीन घण्टा त्यस स्थानमा सुटिङ सकेर हामी अब अलि केही ऐतिहासिक स्थलको फुटेजका लागि बसन्तपुर जाने पूर्व योजना अनुरुप खाना खाएर हामी त्यस स्थानतर्फ बढ्यौँ ।
नेपालमा नियम कानून भन्ने कुरा पालना गर्नेहरुका लागि मात्रै हो भन्ने कुराको भोगाइ हामीलाई त्यस स्थानमा भयो । कुरो के भने बसन्तपुरको अस्तव्यस्तता हामीलाई थाहा थियो तैपनि हनुमान मन्दिर र त्यस आसपास परेवाहरु उडेको दृश्य हामीलाई कैद गर्नु पर्ने भएकोले हामीले नजकिैको प्रहरी बिटमा रहेका प्रहरीहरुसँग हामी एउटा स्वेदश गतिको छायाङ्कनका लागि आएको बतायौं । त्यसपछि त्यहाँको नगर पर्यटन शाखासँग अनुमति लिनुपर्ने भनेपछि भाइहरु त्यता जानुभयो म भने लोकेसन हेर्दै रहेँ । केही बेरपछि फोन आयो, ‘सर यहाँ त छायाङ्कनको लागि राजश्व तिर्नु पर्ने रहेछ’ । मैले सोचेँ देशको लागि पवित्र काम गर्दैछु भने यति किन नगर्ने त कति रहेछ त राजश्व भन्ने मेरो प्रश्न तेसारिन नपाउँदै रकेश भाइले भन्नुभयो ‘बीस हजार’ !
अब भयो दूर्दशा ! मैले सोचेको थिएँ केही सय होला भनेर तर राजश्व हजारमा तैपनि बीस हजार कहाँबाट तिर्ने हो ? बीसै हजार तिरेर फुटेज लिएपनि त्यहाँको फुटेज हदै भए चार पाँच सेकेण्डको मात्रै हुँदो हो । उफ् … पसिना आयो मेरो त । अनि फेरि म आँफै गएर प्रहरीलाई अनुरोध गरेँ । यो विशुद्ध राष्ट्रका लागि गरिएको कार्य हो हजुर यसमा हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन । मैले भने, ‘आफ्नो तलबको विशुद्ध लगानी गरेर यो काम गर्न लागेको हो हजुर’ । म पनि राष्ट्रसेवक हुँ । यति भनेपछि प्रहरीले, ‘आउनुस्, म तपाईंलाई अनुमति लिने ठाउँमा लैजान्छु भनेर लगिदिए । महानगरपालिकाको बसन्तपुर क्षेत्रको पर्यटन हेर्ने शाखामा पुगेपछि मैले आफ्नो परिचय सहित अनुरोध गरेँ । त्यहाँ एक महिला हाकिमले तपाईंको कुरा ठिकै हो तर माथि सोध्नु पर्छ भनेपछि, फोन गरेर जानकारी गराएपछि, कि त राजश्व नै तिर्नु पर्छ नभए स्वेदेश गीतको छायाङ्कन हो भनेर बागदरबार गएर लेखाएर ल्याउनुस्, वहाँहरुले पठाउन भन्नुभयो भन्ने जानकारी पायौँ । अनेक प्रयास गरेपछि पनि हामी सफल भएनौँ । हामी बागदरबार गएर अनुमति लिन र सारा कागजी प्रकृया लिने पक्षमा थिएनौँ किनकी हामीले नचाहिँदो काम गर्न लागेका हैनौँ भन्ने कुरा हामीलाई राम्ररी थाहा थियो । हामीसँग त्यति प्रकृया पूरा गर्नका लागि समय पनि त थिएन, त्यसैले त्यहाँ हामीले सच्चा नेपाली भएको अनुभूति भयो भन्ने अभिव्यक्ति दिँदै रुझेको बिराले जस्तै लुतुक्क परेर फेरि क्यामेरा, स्ट्याण्ड, रिफ्लेक्टर लगायतका सामग्रीहरु बोकेर भद्रकाली माताको शरणमा पुग्यौं ।
भद्रकाली मन्दिर परिसरमा पनि छायाङ्कन गर्दै गर्दा एक कर्मचारी आएर सोधे के को सुटिङ हो भनेर, हामीले जवाफ दियौँ, ‘यो स्वदेश गीतको सुटिटङ हो ।’ यति भनिसकेपछि हामीले सुटिङ कार्यलाई सहज रुपले अगाडि बढायौं र बाँकी भागहरुको छायाङ्कन सक्यौँ । यसरी यो देशमा देशकै लागि केही गर्छु भनेर लाग्नेहरुको पनि भलो हुने दिन कहिले आउने होला र ?
बडो उदेक लाग्छ, सर्वसाधारणका लागि क्यामेरा निषेध, फोटो खिच्न निषेध गरिएको मुक्तिनाथ मन्दिरको भित्रै पुगेर भारतीय सञ्चारमाध्यमहरुले खुल्लेआम विश्वभर प्रतक्ष्य प्रसारण गर्ने यो मुलुकमा नेपालीले नै आफ्नै देशका लागि अनि माटोका लागि केही गर्छु भन्दा पनि गर्न नपाउने यो कस्तो खालको गणतन्त्र हजुर ?
यो आलेखको अन्तमा केही अंश राष्ट्र गजल गीतबाटै यहाँहरुलाई ः
नेपालको स्वाभिमानलाई बेच्न दिन्नौं कहिल्यै पनि ।
बरु जाओस् प्राण हाम्रो ईतिहास मेट्दैनौं हामी ।
पराइको पानी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौं हामी ।।