अनिल अधिकारी | कोरोना महामारीको कारण प्राय सबै व्यापार चौपट भएको वर्तमान अवस्थामा एकले अर्कोलाई सहयोग गरेर यो महामारीलाई जित्नुपर्ने हामी आम मानिसहरुको जिम्मेवारी हो । 'यो जिम्मेवारीबाट पन्छिनु हामी आफैमा मानव चेतनाबाट उद्देलित बन्नु हो' भन्ने मेरो व्यक्तिगत बुझाई रहेको छ ।
स्वभावले मानिसमा बिभिन्न खालका चेतना हुन्छन्, सकारात्मक चेतना सबैमा हुने हो भने मानव संसार आफैमा सुन्दर बन्छ भन्ने मलाई लाग्छ । भगवानले यो संसार चलाउनकै लागि राम्रा र नराम्रा सबै कुरा पृथ्वीमा घुलाएर यो संसारको सृष्टि गरेका हुन् भन्ने लाग्छ । तर जब नराम्रो कुराको प्रभुत्व बढी हुन्छ तब संसारले संहारको दिशा लिनसक्ने हुँदा त्यसलाई घटाउनु हामी सबैको अर्को जिम्मेवारी हो ।
यो प्रसंग आउनु त्यहि मानव चेतनाको नकारात्मक रुप हो र यो लेखले त्यसखाले चेतनालाई घटाउन प्रयास गर्छ भन्ने मेरो आशा हो । यो लेख मेरो घरबेटीप्रति मात्र लक्षितजस्तो देखिएला तर यो लेखको आशय ति घरबेटीप्रति मात्र होइन, त्यस्ता आम घरबेटीप्रति हो, जुन वर्तमान कोरोना संक्रमणको महामारीमा पनि आफ्नो जिम्मेवारीलाई नबुझी वा बुझेर पनि बुझ पचाई पुरा लकडाउनको समयको समेत घरभाडा अशुली गरिरहेका छन् ।
त्यसो त यो लेखले त्यस्ता घरबेटीहरुलाई सम्मान पनि गर्छ जसले यो परिस्थितिलाई बुझेर कम्तिमा १५ दिन/एक महिना वा लकडाउन अवधिको आधा घरभाडा छुट दिने चेतना राखेका छन् । केहिले तीन महिनाकै घरभाडा छुट दिएर आफ्नो उदार हृदयलाई पुजा गर्न लायक बनाएका छन् । यसरी आफ्नो जिम्मेवारी बहन गर्नेहरुलाई यो लेखमा राखिएको 'घरबेटी' शब्दले कुनै प्रभाव नपरोस्, भन्न चाहन्छु । वर्तमान समयलाई बुझेर उनिहरुले जति सके गरेर आफ्नो जिम्मेवारी पुरा गरे । यो विषम परिस्थितिमा उनिहरुले देखाएको उदारतालाई उदाहरणीय मान्नुपर्छ ।
घरबेटीले भाडामा व्यवसाय गर्दै आएकाहरुलाई छुट नदिएको प्रसंगमा कसैले टिप्पणी गर्न सक्छन् 'सबैको आ-आफ्नै व्याथा छ, बिचरा कत्रो ऋण गरेर घर बनाएको छ, अनि घरभाडा नअशुलेर के गरोस् ?' झट्ट यो कुरा सुन्दा ठिक पनि लाग्छ, तर यो समय एकोहोरो बुझ्ने समय होइन । घरबेटीको घरमा भाडा लिएर व्यवसाय गर्नेलाई चाही बिचरा भन्नु पर्दैन ? उसले पनि केहि व्यवसाय गरेर/परिश्रम गरेर त्यसबाट केहि घरबेटीलाई बुझाउने हो । सामान्य समयमा व्यक्तिगत व्यापार/व्यावसाय घाटामा गयो भने त्यसको जिम्मेवारी व्यापार/व्यावसाय गर्नेकै होला तर अहिलेको विषम परिस्थिति सबैको लागि बाध्यता हो । यो बाध्यता व्यापार/व्यवसाय वा घरभाडामा बस्नेलाई मात्र आईलाग्नुपर्ने बाध्यता होइन । सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गरेर यो संकटलाई दुर भगाउनुपर्ने समय हो । त्यसैले यहाँ ‘विन-विन’ को लडाई हुनुपर्ने हो । लोकतन्त्र/गणतन्त्र भएको देशमा देशव्यापी बाध्यताको विषयमा एकोहोरो हेरेर हुँदैन । सरकार आफैले पनि यो विषयलाई ध्यान दिएर स्पष्ट कारवाही गर्न सक्ने क्षेमता राख्नुपर्छ । अन्यथा एक लाखको घरभाडा उठाएर २५ हजारको मात्र घरबहाल कर तिर्ने परिपाटी बन्द गर्नुपर्छ । अनि त्यसैबाट आएको करले पिडित व्यवसायीलाई न्याय दिनुपर्छ ।
मैले माथि नै भनिसकेको छु 'कोरोना महामारीको कारण प्राय सबै व्यापार चौपट भएको वर्तमान अवस्थामा एकले अर्कोलाई सहयोग गरेर यो महामारीलाई जित्नुपर्ने हामी आम मानिसहरुको जिम्मेवारी हो ।' त्यसो भए यो जिम्मेवारीमा आफ्नो मात्र स्वार्थ हेरेर मान्छे दौडने हो भने वा आफ्नो जिम्मेवारी वा नैतिकताबाट पन्छने हो भने त्यो कुरा पाच्य भयो त ?
कोरोना महामारीको समयमा अहिले सबैभन्दा जिम्मेवार भएर आफ्नो भूमिका निभाईरहेको समूह हो स्वास्थ्यकर्मीहरुको समूह । त्यहि जिम्मेवार समूहले आफ्नो निहित व्यक्तिगत स्वार्थ हेरेर कोरोनासँग डराएर वा आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गरिदियो भने मानव स्वास्थ्यको हालत के होला ? हो, मैले त्यहि जिम्मेवारीको कुरा गर्न खोजेको हुँ । यो लेखले स्पष्ट रुपमा महामारीको समयमा आफ्नो व्यवसाय चलाउन नसकी बन्द गरेर घरमै क्वारेन्टिनमा बसेका व्यवसायीहरूलाई घरबेटीहरुले गरेको अन्यायको पर्दाफास गर्न खोजेको हो । महामारीको कारण सरकारको निर्देशन पालना गर्दै व्यवसाय ठप्प बनाई घरमा बस्दा व्यवसायीले व्यवसायबाट एक रुपयाँ पनि आम्दानी गर्न सकेका छैनन् । तर पनि घरबेटीले घरभाडा अशुली गरेको वा केहि सहुलियत पनि नदिएको भए, यसलाई अन्याय भन्न मिल्ने कि नमिल्ने ? यहाँ बर्गीय आन्दोलन मच्चाएर सत्तामा पुगेकाहरुले समेत यो विषयमा तै चुप मैचुप बसिरहेका छन् । सायद तिनीहरु अहिले घरबेटी भईसकेका छन्, कयौं ठाउँमा जग्गा भाडामा वा घर भाडामा दिएर उनीहरु पनि यस्तै पाप गरिरहेका छन् ।
कतिपयलाई मैले उठाउन खोजेको सन्दर्भ नितान्त व्यक्तिगत जस्तो लाग्ला, यसको घरबेटीले यसलाई भाडा छुट नदिएकोले यसले यसरी आक्रोश पोख्दैछ भन्ने पनि लाग्ला । तर यो सन्दर्भले मलाई मात्र होइन, आम मानिसलाई छोएको छ । मेरो एक मात्र भन्नु छ, जसरी मैले पत्रकारिता गरेर आफ्नो स्वार्थसँगै आम समाजलाई सूचना प्रवाह गरिरहेको छु । कोरोनाको कहरमा समेत आफ्नो स्वस्थ्यलाई ध्यान दिदै मानिसहरुको स्वास्थ्यलाई पनि ध्यान दिन ध्यानाकर्षण गरिरहेको छु, मलाई लाग्छ, मैले मेरो जिम्मेवारी हरसम्भव पुरा गरिरहेको छु । त्यसो त म आफै यो परिस्थितिमा घरबेटी थिएँ भने पनि मैले सकेको छुट दिनको लागि मेरो चेतनाले मलाई ध्यानाकर्षण गर्दथ्यो भन्ने लाग्दछ । अन्यथा मेरो मानवतामाथि मेरो घरमा भाडामा बसेकाहरुले प्रश्न उठाउने छुट मैले दिनुपर्छ ।
मैले मात्र होइन, आ-आफ्नो ठाउँबाट आम मानिसहरुले सरकारले कोरोनाको कहरबाट जोगिन केहि समय सामाजिक दुरी कायम गर्न लगाएको नियम पालना गर्दै आफ्नो जिम्मेवारी पुरा गरेका छन् । यो जिम्मेवारी पुरा गर्दै घरमै बसेकाहरुलाई राहतको त कुरा छोडौं, यतिखेर बिभिन्न कारणले आर्थिक संकट देखा पर्न थालेको छ । व्यवसाय चौपट हुँदा आफै कसरी बाच्ने भन्ने परिस्थितिमा भविष्यमा कसरी व्यवसाय उठाउने भन्ने चिन्ता त छ नै त्यसमा पनि २/३ महिनापछि कार्यालय पुगेकै दिन घरबेटी आएर 'घरभाडा मिलाईदिनु पर्यो भन्दैछ' भने बिचरा व्यवसायीले कहाँबाट ल्याउने घरभाडा ? घरबेटी पनि मान्छे नै हुन् अलि-अलि छुट त देलान् नि भन्ने ठानेर मुख खोल्दा जवाफ आउँछ ‘सरकारले हामीलाई दिएको भए तपाईलाई दिने हो, नत्र हामीले कसरी दिन सक्छौं र ?’
मैले यो लेख यस कारण लेखेको होइन कि 'म समस्यामा परें, ममाथि अन्याय भयो ।' मेरो गुनाशो मेरो व्यक्तिगत विषयप्रति भन्दा आम मानिसहरुको सोच र जिम्मेवारीबोध प्रति हो । घर/कोठा भाडामा लिएर व्यापार गर्नेले महामारीको चपेटामा परि पैसा आर्जन नगरेको अवस्थामा घरधनीले त्यो वाध्यतालाई नबुझ्नु स्वभाविक हो त ? घर बहालमा दिनु घरबेटीको व्यवसाय हो भने उसको घर/कोठा भाडामा लिएर भाडामा लिनेले पनि त व्यवसायनै गर्दैछ नि ! अनि एकै प्रकृतिको महामारीको समयमा दुवै पक्षको व्यवसायमा एकलाई फाइदा अर्कोलाई ऋण बोक्ने स्थिति स्वभाविक हो त ?
सरकारले 'एक महिनाको भाडा छुट दिनु, सरकारले एक महिनाको घरभाडा कर छुट दिन्छ' भन्दै उर्दी जारी गरेको अवस्था छ । तर मैले त्यो एक महिनाको पनि छुट पाउन सकिन । किनकि घरबेटीको सरकारलाई प्रश्न छ 'सरकारले मैले बनाएको घरको ऋण तिरिदिन्छ ?' तर ति घरबेटी ले मेरो व्यवसाय चौपट भएको र तीन महिनासम्म एक रुपयाँको पनि आम्दानी नभएको प्रति कुनै संवेदनशीलता तथा सदासयता देखाउन चाहेनन् । सायद उनलाई लाग्छ 'इट्स नट माई बिजनेश, इट्स युओर बिजनेश !'
यो कुरा लेख्दै गर्दा कयौंले सकारात्मक सोचेका छन् भने कयौंले नकारात्मक पनि ! अन्य समयमा मेरो बिजनेश घाटामा छ भने त्यसको जिम्मेवारी मेरो हो । मैले जसरी पनि घरभाडा तिर्नुपर्छ तर यसपटक त्यस्तो होइन । महामारी चलिरहेको छ, आम मान्छेलाई समस्या आईलागेको छ । यही महामारीको समयलाई मध्येनजर गर्दै लकडाउन गर्यो, ब्यापार-बिजनेश ठप्प भयो । घरबेटीलाई सरकारले दबाब दिन मिल्दैन, कारण सरकारले घरबेटीलाई कुनै सहुलियत दिएको छैन । त्यसो भए के भाडामा लिएर व्यवसाय गर्नेको चाही सरकार छैन ? तीन/चार महिनासम्म ब्यापार ठप्प भएर एक रुपयाँ पनि आम्दानी नहुँदा घरभाडा तिर्नुपर्ने हो ? यहाँ बीचको बाटो अपनाउन सकिन्न ? जसरी ठमेल क्षेत्रका घरबेटीले ६ महिनासम्म घरभाडा ५० प्रतिशत मात्र लिने सहमति गरे त्यसलाई भनिन्छ जिम्मेवारी । त्यस्तै जिम्मेवारी सबै घरधनीले अपनाउने हो भने उनीहरुको जिम्मेवारीलाई सलाम गर्न सकिन्छ अन्यथा… ।
जे होस् यो लेख लेख्दै गर्दा मैले ति घरबेटीसँग सम्बन्ध टुटाईसकेको छु, जसलाई मैले अनुनय विनय गर्दै अनुरोध गरें कि ‘म तीन महिनासम्म तपाइँको घरमा आईन, मेरो व्यवसाय ठप्प भयो । मलाई एक महिनामात्र भए पनि छुट दिनुस् ।’ तर उनले छुटको नाम लिन चाहेनन् ।
अनि मलाई खै के आभास भयो ! मैले त्यो घर छोड्ने निर्णय लिन बाध्य भएँ र भने 'त्यसो भए मेरो अहिलेसम्मको भाडा हिसाव गरिदिनुहोस्, म तपाइँको घरमा बसेर थप भाडा तिर्न सक्ने अवस्थामा छैन ।
उनले हिसाव ल्याए – चैत, वैशाख, जेठ र असार १५ सम्मको । लकडाउनको कारण एक रुपयाँ आम्दानी नभएको यी साढे तीन महिनाको घरभाडा थियो – रु. ७८ हजार ५१० ।
ऋण खोजेर भएपनि घरभाडा दिने बाध्यता थियो । असार १४ गते सामान सारीसकेपछि घरबेटी अंकलले आफ्नो कोठाको चारैतिर हेरेपछि ट्वाइलेटमा पहिलेनै बिग्रिएको धारा देखाउदै भने ‘धारा पनि बिगार्नुभएछ नि !’ उनको आशय त्यसको पनि पैसा दिए हुन्थ्यो भन्ने थियो होला, तर मैले कुनै जवाफ दिइन ।
अब मैले एउटा कुरा हेर्न बाँकी छ कि ति घरबेटीले चैत महिनाको घर बहालकर (जुन सरकारले घरधनीलाई छुट दिने निर्णय गरेको छ), तिर्छन् कि तिर्दैनन् ?