अनिस तामाङ | खाडीमा पसिना बगाउदै गरेको सहिदको भाईको तर्फबाट रातो सलाम । कामरेड सर्वप्रथम यो देशको प्रधानमन्त्री भएकोमा यो चिट्ठी मार्फत भएपनि हार्दिक बधाई भन्न चहान्छु । केहि दिन अगाडि नै तपाईंलाई एउटा चिट्ठी कोर्दै थिए तर किन-किन बिगतको घाउँहरुले फेरि पोल्न थाल्यो, कलमको सुइहरु गुमाउनै सकिएन अनि कलम बन्द गरेर जनयुद्धकालिन गीत सुन्दै सुतियो । देख्दछन् मेरा यि आखाहरु, ति साथीहरुलाई ! जसको रगतले रंगियो धर्ति ति महान यात्रीलाई..।) मैले यो भन्दा पहिले बाबुरामले पार्टी परित्याग गर्दा रुँदै पत्र कोरेको थिएँ । त्यो पत्र गाउँमा बाबाले पढ्नु भएको रहेछ, 'अब वितिसकेको कुरा नकोट्याउनु ल बाबु !' भन्नु भएको थियो तर पनि मैले एउटा पत्र कोर्नै पर्छ जस्तो ठानेर कोर्दैछु ।
कामरेड म एक सहिद परिवार हुँ । मेरो घर काभ्रे जिल्ला सर्स्युखर्क गविस चुखा भन्ने ठाउँमा हो ।
जनयुद्धको बेला मलाई सबै भन्दा प्यारो लाग्ने दाई गुमाएको छु । मलाई अलि-अलि याद छ, म सानै थिएँ, गाउँघरमा सामन्तिहरुले हल्ला फिजाउने गर्थे, कोसीपारी तिर माओवादीहरु आयो रे ! अब हाम्रो गाउँमा पनि माओवादी आउछन भनेर । हामीहरु निकै डराउथ्यौं 'माओवादीले मार्छन । लुट्छन' भनेर । साहेद ५६/५७ साल तिर हुनुपर्छ । साउनको झरी मजम परिरहेको थियो । डुङ्गाको छानो भएको घरभित्र चुइएर ठाउँमा भाँडो थाप्दै थिए । अचानक घरको ढोका विस्तारै कसैले ढकढकायो । हामी एकदमै डरायो । हामीले एक छिन खोलेन । तर बाहिरबाट कसैले बाबा/आमा भनेर बोलाएपछि बाबाले ढोका खोल्दिनु भयो । दुइजना मान्छेहरु थिए, हातमा पेस्तोल, कम्मरमा ग्रिनेट भिरेको थियो । उहाँले भन्नुभयो "म लेकाली उहाँ छिरिङ बहिनि । हामी माओवादी हौँ ।'
बाबा एक पटक हच्किनु भयो । उहाँले 'हामी तपाईं हाम्रो राज्यसत्ता ल्याउनको लागि हिडेको क्रान्तिकारी हौँ, डराउनु पर्दैन' भन्नुभयो । मेरो बाबा क्रान्तिकारी प्रति अलि सकारात्मक हुनुहुन्थ्यो । उहाँहरु रातभरि कुरा गरेर बस्नुभयो । म सानै थिएँ तर म ठुलो मान्छेहरुले बोलेको कुरा कान ठाडो बनाएर सुन्ने गर्थे । आमाले बारम्बार चिमोटेर सुत्न भन्नुहुन्थ्यो तर मलाई क्रान्तिकारीहरुको कुराले आमाले चिमोटेको पनि वास्ता हुँदैन थियो । त्यो रात बोल्दा-बोल्दै विहान भएको थियो । क्रान्तिकारीहरुको कुरा सुनेर मेरो रगत उम्लेर आउथ्यो । अहिले नै गएर गएर सिंहदरबार भित्र आत्मघाती गरौँ जस्तो ।
आजभन्दा भोली भन्दा गाउँ माओवादीमय हुँदै गयो । पछि मेरो बाबाले काठमाडौंमा बस्नुहुने दाईलाई युद्धमा पठाउने निर्णय गर्नु भएछ । एउटा छोरा चहि जनताको लागि भयो । 'लेकाली आले' भनेर भन्दैगर्दा आमा रोइरहनु भएको थियो । आमाको मनमा के बितिरहेको थियो मैले मनन गर्न सकिन त्यतिबेला । पछि दाई काठमाडौंबाट आउनु भयो । बाबाको हरेक कुरालाई नाई भन्न नसक्ने मेरो दाईले बाबाको त्यो प्रस्तावलाई पनि नाई भन्नु भएन । राति सबैजना काम सकेर थाकेर सुत्ने तरखरमा थिए तर मेरो दाई आफ्नो लुगाहरु प्याक गरेर जंगल छिर्ने तरखरमा हुनुहुनथ्यो । काठमाडौं बस्ने छोरा जंगलमा के खान्छ होला ? के लाउछ होला ? भनेर आमा रुँदै थिईन । बाबाले भन्नु भयो- 'हाम्रो कमल, हाम्रो मात्रै छोरा हैन, सारा नेपालीहरुको छोरा हुनेछन्' भनेर आमालाई फकाउँदै हुनुहुनथ्यो ।
मैले दाईलाई सोधें – 'दाई कहिले आउनु हुन्छ ?' दाईको जवाफ थियो- 'भोली-पर्सि आउछ ल कान्छा ?' दाईले त्यो दिन जाने बेलामा मेरो गालामा म्वाइ खाएको आजै जस्तो लाग्छ । 'दाई म नि जान्छु नि' भनेर मैले भन्दा दाईको हात समाएर रोएको दिनहरु चलचित्रको पर्दा भन्दा नि रंगिन लाग्छ । दाईले त्यति बेला 'म मरे भने चहि मेरो ठाउँमा जानु ल कान्छा ?' भन्नु भएको शव्दहरु आज पनि मेरो मस्तिष्कमा घुमिरहेका छन् । दाई हिंडेको ठ्याक्कै एकवर्ष पछि काभ्रेको नाराणस्थान भन्ने ठाउँमा माओवादीको कार्यक्रम रहेछ, त्यहाँ बाबा र म जाँदै थियौं तल जंगलमा जनमुक्ति सेना ड्रेस लगाएको एउटा केटा उभिरहेको देखें । बुबाले त्यो केटालाई देखाउदै भन्नु भयो 'त्यो पुलिस हैन नि कान्छा, त्यो त हाम्रो लाल सेना हो ।' हामी त्यहि लालसेना कहाँ पुग्यौं, त्यहाँ पुग्दा थाहा भयो, त्यो केटा अरु कोही नभएर मेरो प्यारो दाई कमल हुनुहुदोरहेछ ।
पहिलाको मोटो ज्यान सुकेर सिकुटे भएको रहेछ । बाबाले सोध्नुभयो- 'कस्तो छ छोरा तिमीलाई ? दाईले भन्नुभयो- 'ठिकै छ बाबा, युद्ध झनझन् चर्किदैछन् । हिजो-अस्ति अलिकतिले दुश्मनको गोली लागेन । सायद आमाले सधैं भगवान पुजा गरेर बस्नुभएकोले होला, त्यो दिन भाग्यले बाँचियो । तपाईं त भगवान मान्नु हुन्न क्यारे । आमालाई सधैं भगवानको पुजा गर्नु भन्नुस ल । युद्धको मैदानमा तपाइको छोरो कति खेरा ढल्छ थाहा छैन बाबा । अनि मैले रोपेको गोठ माथिको अमलाको विरुवा कत्रो भयो ? फल्न थाल्यो होला है ?' बाबा केहि बोल्न सक्नुभएन । एक छिन् त्यो ठाउँ निकै शान्त भयो ।
'त्यसो भए युद्ध छोड्न त छोरा ! म पार्टीमा कुरा राख्छु ।' बाबाको बोली यसरी आयो । तब दाईले भन्नुभयो- 'बाबा आजको दिनसम्म हजुरको सबै कुरा मान्दै आएको छु, बालकैमा गरिबीको कारण स्कुल छोड्न लगाउनु भयो, मैले स्कुल पनि छाडें, तपाईं संगसंगै रिक्सा चलाउनु भन्नु भयो, त्यो पनि माने । आजको दिनसम्म आफैलाई बचाउनको लागि संघर्ष गर्दै आएको छु, तर अब म मात्र बाच्नु छैन सिंगो देशलाई गरिवीबाट मुक्ति दिनु छ । अब यो पनि पुरा गरेरै छाड्नेछु । मरेछु भने भाइहरु छन्, भाईहरुलाई मेरो राइफल थमाउनु होला । मैले मेरो राईफलमा समेत तपाईंको र आमाको नाम लेखिसकेको छु, जुन म मरेपछि मेरा भाईहरुलाई पनि काम लाग्छ ।'
दाईले आँखाभरि आँशु पार्दै छुट्टिनु भएको थियो त्यो दिन । त्यसको केहि महिनापछि लेकाली कामरेड सहिद हुनुभयो । त्यतिबेला नरोएको मान्छे थिएन गाउँमा । सारा गाउँले शोकमा डुबेको थियो । रेडियो नेपालमा दिनैकै 'यतिजना माओवादी मार्यो-उति जना मार्यो' भनेर माओवादीहरको नाम आउथ्यो । हामी सधैं कान थापेर सौन्थौँ । कहिले-काही दाईको जस्तै नाम आउथ्यो, अनि हामी झस्किन्थ्यौं । पछि-पछि बाबाले यो रेडियो नेपाल नसुन्नु यसमा जुठो समाचार सम्प्रेषण गर्छ भन्नुभयो । कमल दाई माओवादी भएको कुरा ठुलो दाईलाई थाहा थिएन ।
एकदिन ठूलादाई खुसिको खबर सुनाउन गाउँ आउनु भएको थियो । ठुल्दाईले खुसी हुँदै भन्नुभयो- 'बाबा तपाईंले सधैं देशको सेवा गर्नु भन्नुहुन्थ्यो नि ! मेरो शाहिसेनामा जागिर पक्का भइसक्यो, अब म यो देशको सेवा गर्छु ।' कुरा सुनेर बाबा हेरेको-हेरै हुनुभयो ।
ठुलो छोरा शाहिसेना अर्को छोरा जनमुक्ति सेनामा ? बाबाले भन्नुभयो 'के तिमी आफ्नै भाईलाई गोली ठोक्न जान्छौ छोरा ? तिम्रो भाई जनमुक्ति सेनामा छन् ।' ठुलदाई अचम्ममा पर्नुभयो अनि बाबाको इच्छालाई बुझेर पाएको सेनाको जागिर छाड्ने निर्णय लिनुभयो । उहाँले भन्नुभएको थियो 'म यो जागिर छाड्छु बाबा ? म आफ्नै भाईलाई कसरी गोली हान्न सक्छु ?'
यसरि नै दिनहरु बित्दै थियो । कमल दाई वर्षमा एक/दुइ पटक घर आउनुहुन्थ्यो । आमालाई 'मेरो आशा नगर्नु आमा, जतिखेर अनि जुनबेला पनि म सहिद हुन सक्छु' भन्नु हुन्थ्यो । म महसुस पनि गर्न सक्दिन, मेरो आमाको मनमा के बित्दै थियो, दाइले त्यसो भन्दा ।
बाबालाई पनि त्यो गाउँमा माओवादीको नेता भनेर चिनिन्थ्यो । सेना सिधै हाम्रो घर घेर्न आइपुग्थ्यो । हामी गाँउबाट १ घन्टा टाढा भिरको छेउको गोठमा बस्ने गर्थ्यौं । बाबा त गोठमा पनि बस्नु हुन्नथ्यो । सधैं गुफामै सुत्नुहुन्थ्यो । त्यहि क्रममा ७ कक्षा पढ्दै गरेको दिदिलाई पनि सेनाले गिरफ्तार गर्यो । २ महिना जेलमा राखेछ । शाही सेनाको अत्याचारकै कारण होला दिदिले जेलबाट निस्केपछि बाध्यताले क्रान्तिको बाटो रोज्नुभयो । केहिदिन हामी गोठमा सुतिरहेका थियौं, अचानक रेडियोमा दाई सहिद भएको नाम प्रशारण भयो । हामीमा सन्नाटा छायो ।
नभन्दै भोलीपल्ट पार्टीको साथीहरू आएर 'कमल सहिद भयो' भन्दा आमा बेहोश भएर ढल्नु भएको थियो । बाबा हाम्रो अगाडि रुन नसकेर माथि पिपलको बोटमुनि गएर रुँदै रहेछन् । हामी सबै रोएर आँशु सकिईसकेको थियो । रुँदा-रुँदा स्वासको मात्र आवाज आउथ्यो, तर आँखामा भने हिउँद छाईसकेको थियो । दाईको मृत्युपछी आमा केहि बोल्न सक्नुभएन । रुने र दाईको सम्झनामा डुब्ने उहाँको दैनिकी जस्तै बन्यो । अनि बाबाले सम्झाउनु हुन्थ्यो 'हाम्रो मात्रै छोरा सहिद भएको हैन, सारा दुनियाँको यस्तै कथा छन् । एउटा सहिदको आमा र बुबा हुन पाएकोमा गर्व गर्नुपर्छ । रोयो भने दुश्मनहरु बलियो हुन्छन् ।'
त्यसपछि 'मैले दाईको राइफल बोक्छु, बाबा' भन्दा बाबाले बाबाले भन्नुभयो 'कान्छा तिमीले त धेरै पढ्नुपर्छ, सन्तानमा एउटा छोरालाई भएपनि पढाउनु पर्छ, तिम्रो उमेर पनि त सानै छ' भन्नुभयो । त्यसपछि दाईको बदला लिन मेरो राम दाईले बन्दुक उठाउनुभयो ।
कामरेड, यस्तो दु:खका कुराहरु धेरै छन्, यि दु:खहरु यो चिट्ठीमा लेखेर बसेभने महिनौं लाग्छ । त्यसैले बन्द गर्न बाध्य छु । यतिबिघ्न भइकन पनि मलाई अझै माओवादीप्रति नै आशा किन जागेको होला मलाई थाहा छैन । त्यसैले सारंशमा भन्दै छु । हामीले हिजो देखेका सपनाहरु ओझेलमा पर्दै गइरहेका छन् । हामीले जनयुद्धमा सबै चिज गुमाएका छौं । मैले दाई गुमाएको छु, कतिपय नेपाली चेलीले आफ्नो सपनाहरु गुमाएका छन् । तर आजको दिनसम्म पार्टीले दिएको एक टुक्रा फलाम पनि लिएको छैन । हामीलाई गाउँमा अझै पनि विपक्षीहरुले औला उठाउन छाडेका छैनन् । हिजो हामीलाई पार्टीले सिकाएको सिद्धान्तहरु अझै पनि हामीले भुलेको छैनौं । आजको दिनसम्म माओवादी र तपाईंको गुणगान गाउँदै आइरहेको छौं ! निरन्तरताले मात्रै क्रान्ति सफल हुन्छ, भन्ने मानसिकताले आजको दिनसम्म माओवादी बाहेक अरु केहि सोचेको पनि छैन । माओवादी र तपाईंलाई गाली गर्दा मलाई मेरो आमालाई गाली गरेको भन्दा धेरै दुख्छ । त्यही भएर होला, माओवादीको विरुद्ध कहि-कतै कसैले नराम्रो बोलेको भेटेभने तिनीहरुसँग बहसमा उत्रिदै पनि आइरहेको छु ।
हामी सहिद परिवार र तल्लो लेवलको कार्यकर्ता । सधैं तपाईंहरुलाई बचाउदै गर्दा तपाईंहरु नै आफु-आफै पद र सत्ताको लागि टुट्ने-फुट्ने गर्दा साह्रै मन दुख्छ, कामरेड । हामीलाई व्यक्तिगत रुपमा केहि चाहिदैन । तपाईंको खुबिले जनतालाई जति दिन सक्नुहुन्छ, दिनुहोस् । साच्चै तपाईं 'पुष्पकमल' मात्रै बन्न खोज्नुभएको हो भने तपाईंले एउटा भुत्ला पनि उखेल्न सक्नुहुन्न तर 'प्रचण्ड' बन्न सक्नुभयो भने १००% ग्यारेन्टी दिन सक्छु कि तपाईं यो देशलाई उथलपुथल पार्न सक्नुहुन्छ ।
प्रचण्ड कमरेड ! कसैलाई पद नदिँदा पार्टी छोड्छन् भने छोड्न दिनुस, उनिहरु पार्टीमा रहेर पनि बदनाम मात्रै भइरहेका छन् । क्रान्ति खुल्ला किताब हुन्, जता अट्छ त्यतै जान दिनुस । आज म खाडीमा पसिना बगाउँदै छु । म जस्तो लाखौँ युवाहरु विदेशी भुमिमा अपमानको जिन्दगी बिताइरहेका छन् । लाखौं श्रम/शक्ति विदेशिएका छन् । अब तिनिहरुलाई घर फर्काउने जिम्मा नि तपाईं कै हो कामरेड । हामी वर्षौ लगाएर अरुको भाषा सिकि-सिकि अरुको देशमा त कृषि काम गर्न तयार छौं भने के हामी युवाहरु आफ्नै देशमा आधुनिक कृषिको शुरुवात भयोभने यता किन आउनुपर्यो ?
मात्रै राजनीतिक अस्थिरताले जनता निराश छन् । कामरेड, एक पटक 'प्रचण्ड' बनेर देखाईदिनुस् दुनियालाई । अनि मात्र यो देशको सबै समस्या हल हुनेछ ।
आशा छ, यो पाली धेरै चुनौती भएपनि राम्रै काम गर्नुहुन्छ भनेर । धन्यवाद