युवराज पन्त । म त राजनीतिको उल्टा-सुल्टा, वाङ्गो-टेडो तथा रातोलाई सेतो र कालोलाई निलो बनाउन नजान्ने मान्छे । त्यसैले होला विभिन्न टुक्का जोडेर भ्रमित पार्ने भाषणको पछि लाग्न मन नपरेको ।
भुस्याहा कुकुरहरू धेरै भुक्ने गर्छन । कहिले चोरलाई देखेर भुक्ने गर्छन् कैले साधुलाई देखेर पनि भुक्ने गर्छन्, त्यति मात्र हैन मित्रलाई देख्दा पनि भुक्छन् र सत्रुलाई देख्दा पनि । एउटा हड्डीको टुक्रा भेटाउँदा भने चोर, साधु, डाँका, मित्र जो भए पनि पुच्छर हल्लाई राख्छन् । यो ती कुकुरहरूको गल्ती थिएन, गल्ती त थियो, तिनलाई पालनपोषण गरी संस्कार र तालिम दिने मालिक वा पाल्यपोषकको ।
चोर र साधु चिनेर भुक्न सिकाउने संस्कार र तालिमको गहन भूमिका रहन्छ । त्यसैले हामीमा पनि सानैबाट जस्तो शिक्षा र संस्कार पायो त्यस्तै व्यवहारहरू देखिन्छन् । राम्रो संस्कार र शिक्षा प्रदान गर्नुपर्छ । अनि सभ्य, सहयोगी, उचित अनुचित छुट्याउने, सत्यको वकालत गर्ने, हल्लाको पछि नलाग्ने र उचित निर्णय गर्न सक्ने समाजको निर्माण हुन्छ । त्यो समाजले मात्र समग्र देशको परिवर्तन तथा उन्नति गर्न सक्छ । पाल्तु कुकुरमा त संस्कार र तालिमको गहिरो प्रभाव पर्छ भने मानिस त सााजिक र विवेकशील प्राणी हो । मानिसमा कस्तो सोचविचार तथा कार्य आउँछ त्यो उसैले प्राप्त गरेको संस्कार तथा शिक्षाको दर्शनमा भर र्पछ ।
तर विडम्बना जति राजनैतिक विचारमा परिवर्तन आयो, त्यति शैक्षिक चिन्तन र दर्शनमा आउन सकेन । पुरानो संस्कार र शिक्षाले हामीलाई गाँजी सकेको छ । जसले गर्दा प्रशासन क्षेत्र टसमस नभएर झन बाँधेको भैँसी फुकेजस्तो भएको छ । कर्मचारीतन्त्र पार्टीको पुच्छर बन्न पुगेको छ । अहिलेको जस्तै भत्तामा आएको सबै रकम खर्च गरिने तर विकास निर्माणको लागि आएको रकम फ्रिज हुने अवस्था रहिरहेमा हेर्दै जानोस् अबको दश वर्षमा देश भयाबह अवस्थामा जाकिन जानेछ । त्यसैले बेलैमा सोचौँ र यो मनमा डेरा जमाएको नकारात्मक दर्शनलाई जरैबाट उजाड बनाउने दर्शन शिक्षाको माध्यमबाट विजारोपण गरौँ । राजनीति गर्ने एउटा क्षेत्र बनाउ जहाँ राजनीति गर्नेहरु मात्र अटाउन् । सबै क्षेत्रलाई राजनैतिक दलदलमा बुढाइ दुर्गन्धित बनाउने प्रवृत्तिको अन्त्य गरौँ ।
“उचित शिक्षा उचित ज्ञान, श्रम गर्ने भावनाले कमिन्छ दाम” एकातिर श्रोत र साधनको प्रभावकारी प्रयोग हुन्छ भने अर्कोतिर गरिबको घरआँगनमा खुसियाली छाउँछ । यसको लागि शिक्षा क्षेत्रलाई नै वजनदार तथा इज्जतदार बनाउन सक्नु पर्छ । यस क्षेत्रमा रहेका सम्पूर्ण विकृतिहरूको अन्त्य गर्नु पर्छ । शिक्षा क्षेत्रलाई आकर्षक बनाउनको लागि संविधान संशोधन गर्दा संवैधानिक शिक्षा आयोग बनाइनु पर्छ । संविधानमा एक निश्चित वर्ग वा समूहको लागि लोक सेवा आयोग, महिला आयोग, मुस्लिम आयोग, दलित आयोग आदिको व्यवस्था गरएको छ भने मानव भएर जीउन सिकाउने शिक्षाको लागि किन आयोग नबनाउने ? शिक्षा क्षेत्रको सेवा र सुविधाको विशेष व्यवस्था सहित शिक्षा ऐन र नियम बनाउनु पर्छ । हरेक शिक्षकलाई आफूले पढाउने विषयमा उत्तरदायी बनाउँदै कडा दण्ड र पुरस्कारको व्यवस्था हुनु पर्छ । पाठ्यक्रम सुदृढीकरण गरी आवश्यकतामुखी बनाइनु पर्छ । अहिले जस्तो शिक्षकलाई सौताको व्यवहार मान्ने दृष्टिकोण तुरुन्त अन्त्य हुनु पर्छ । विद्यार्थीको संस्कार र सीपमा विशेष जोड दिनुपर्छ । शिक्षकमा भएको नकारात्मकता नियमको सहाराले अन्त्य गर्नु पर्छ । शिक्षक संघ, संगठनको नेतृत्व लिनेहरूमा व्यक्तिगत स्वार्थले गर्दा नै शिक्षामा अकर्मन्यता बढेको हो । यस्ता व्यवहार हटाउनु पर्छ र त्याग्नुपर्छ स्वार्थी प्रवृत्ति ।
शिक्षक, अभिभावक तथा विद्यार्थी सबैमा सकारात्मक सोच तथा भावनाको विकास गराउन सक्ने गरी शैक्षिक नीति तयार पार्नु पर्छ । हुन त हामी सबै पुरानो दर्शनबाट प्रभावित छौँ । पहिलो, सजिलै परिवर्तन हुन कठिन छ । तर असम्भव केही छैन । कडा मेहनत गरेमा अवश्य सफल हुन सकिन्छ । चिन, अमेरिका, जापान लगायतका देशहरू उचित शिक्षाको कारणले नै सम्पन्न हुन सकेका हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्गै छ । के हामीले त्यसबाट सिकन सक्दैनौँ ? शिक्षा क्षेत्रको बजेट अनावश्यक खर्च नगरी गरिबका बच्चालाई एक निश्चित तहसम्म आवासीय सुविधा दिई सिक्न सिकाउन प्रोत्साहित गरौँ । खानलाउन धौधौ भाएका अभिभावकका छोराछारी तथा अकुत सम्पत्ति कमाएका छोराछोरी सबैलाई तोकिएको एक निश्चित तहसम्मको शिक्षामा रहेको विभेद अन्त्य गरी यस क्षेत्रमा सबै बालबालिकालाई समान अवसर दिऔँ । केही वर्षमा देश अवश्य सुध्रन्छ, विश्वास लिऔँ, अठोट गरौँ ।