महेश नेपाली (जुम्ला) | प्लस टु पढाएर थाकेर, भोकाएर आएको म र प्लस टु पढेर थाकेर, भोकाएर आएका मेरा भाञ्जा । हामी दुबैजना खाना खान बस्यौं । समस्या, खाना एक जनालाई मात्र पकाएर राखिएको रहेछ । खाने दुई जना भयौं । बाँडेर खायौं । अघाउने कुरै भएन । जसो तसो भोक मेटीएको वाहाना बनायौं । खाना फेरी बनाएर पेट भरिहाल्ने जाँगर चलेन । सोच त थियो एक जनाको खाना दुई जनाले चलाएर दिन कट्टा भईजाला । एक घण्टा, दुई घण्टा त सकियो । तर अहँ… सकिएन । त्यो भन्दा बढि त सकिदै सकिएन । पटक्कै सकिएन । भोग थाम्नलाई । भाञ्जा गैसकेका थिए । घरमा भोग मेटाइदिने खाना केही थिएन । अब भोग मेटाउने एउटै उपाया थियो रेडिमेट खाना खाने । रेडिमेट के खाने त ? चाउचाउ ।
खुद्रा पसलेसँग हरियो प्रिति चाउचाउ मागे । हरियो प्रिति चाउचाउको राखीएको कार्टुन देखियो । नजिकै टाँसेको हरियो प्रिति चाउचाउको प्रचारात्मक पोष्टर पनि देखियो । त्यसमा लेखेको थियो “साउनमा हरियो प्रिति खानुहोस र हरियो चुरा लगाउनुहोस ।”
साउनको महिना, हरियो महिना । जताततै हरियो छ । सायद त्यसैले त भनियो होला साउनमा आँखा फुटेको गोरु मागमा पनि हरियो देख्छ भनेर । बारिमा भएको हरियो साग, हरियो धनिया र टमाटर काटेर हरियो प्रिति पकाउदै थिए । हरियो प्रिति उम्लदै थियो । अजिना मोटोको बास्ना कोठाभरि फैलिएको थियो । ठ्याक्कै त्यतिवेला मनमा अनेक खालका दृष्यहरु छरीएर आए । एकपछि अर्को गरेर । अर्को गरेर …।
महिलाहरुलाई हरियो चुरा लगाएर सुन्दर हुन चाउचाउ कम्पनिले उत्साहित गरिरहेछ । गएको वर्ष एउटा बैंकले महिलाहरु साउनमा खाता खोल्न आएमा हरिरयो चुरा र मेहेन्दि लगाइदिने कार्यक्रम नै गर्यो । बहुराष्ट्रिय कम्पनिहरुले महिलाहरुलाई सुन्दर हुन सिकाइरहेका छन् । आफ्ना बासनादार मालहरु उत्पादन गरेर र गराइररहेछन सुन्दरताको मिस व्युटि नामक क्याटवक ।
एकातिर महिलाहरुमा सुन्दर हुने बहुराट्रिय कम्पनिवाला होडबाजी चलिरहेछ । के तपाईंको छाला कालो छ ? त्यसो भए क्रिम लगाउनुहोस गोरो भइन्छ । बहुराष्ट्रिय कम्पनिले भनेजस्तै गोरो । २२ साउनको अन्नपूर्ण पोष्टको फुर्सदमा लेखक रामचद्र श्रेष्ठ लेख्छन् “सामाजिक संरचनाले महिलाहरुलाई आफू छानिनुपर्ने मानसिकताको निर्माण गरेको छ भने पुरुषहरुमा छनोटकर्ताको मानसिकता निर्माण गरेको छ । त्यसैले महिलाहरुले आफूलाई ‘राम्री’ देखाउन खोज्छन् ।” राम्री अर्थात सुन्दरी, बहुराष्ट्रिय कम्पनिको परिभाषाले भनेजस्तै सुन्दरी । अनेक थरि फेसन पोतेकी गोरी, बहुचर्चित बहुराष्ट्रिय कम्पनिको स्याम्पुले नुहाएकी, बासनादार तेलयुक्त कपाल भएकी, ब्राण्डेट कम्पनिको लिबिस्टिक र नंग पालिस लागाएकी राम्री । अनि बल्ल पुरुषहरुको छनोटमा पर्छन् महिलाहरु ।
तर लामो समयको अध्ययनले के देखाइरहेको छ भने मानिसहरुबाहेक अन्य प्राणीहरुमा छानोटकर्ताको अधिकार पोथी जातिमा भएको देखिन्छ । नौं रंगको भाले डाँफे हुनु पोथी डाँफेबाट आफू छनोटमा पर्नु हो भने भाले मयुरको नाच अनुसार पोथी मयुरले छनोट गर्नुपनि त्यसैको उदाहरण हो ।
यहि समय हो एकातिर महिलाहरुमा आफू छनोट हुनलाई सुन्दर हुने होडबाजी चलिरहेको छ भने ठिक यहि समयमा महिलाहरुले हेला होचो खप्न बाध्य भएका र मलिा हिंसाका घटनाहरु एक पछि अर्को गरी सतहमा आएका छन् ।
सम्झन्छु बाँकेकी रहिना सेख ढफाली जसलाई दाइजो नल्याएको निहुमा पति, सासु र घर परिवारले आगो लगाएर मार्ने प्रयास गरेका थिए । माइतिले माग बमोजिमको दाइजो दिन नसक्नु, त्यसैलाई निहु बनाई लोग्नेका घरपरिवारबाट हेपिनु, कुटाई खानु, शरिर जलाइनु कुनै नौलो कुरा रहेन अव । सम्झन्छु बिहान प्लस टु र क्याम्पस धाएरहेका अधिकांस युवतिहरु जसको उद्देश्य पढेर जागिर खाने या देशको सेवा गर्ने हुँदैन । बरु उद्देश्य हुन्छ पढियो भने राम्रो पढेलेखेको लोग्ने पाइन्छ भन्ने । अव दाइजोको ठाँउ बिस्तारै सर्टिफिकेटले लिदैछ । आज आम आविभावकरुमा पनि यो दृष्टिकोण हावि भएको पाइन्छ ।
सम्झन्छु न्यायधिस दिपकराज जोसि । उनि पुनरावेदन अदालत दिपायलको मुख्य न्यायधिस हुँदा बढो अनौठो निर्णय गरे । धनगडि बसपार्कमा सुस्त मनस्थितिकी एक बालिकालाई सामुहिक बलात्कारको आरोप लागेकालाई उनले जाहेरीमा नाम नपरेको निहुमा सफाई दिए । प्रश्न बल्झिन्छ एउटा सुस्त मनस्थितिकी बालिकाले आफूले जाहेरी दिदा क–कस्को नाम राखिहोलीन ? कतिलाई चिन्न भ्याइहोलिन ? न्याय क्षेत्रका श्रीमानहरुले यस्तो खाले निर्णय गरिदिए अब महिलामाथि हुने हिंसाको न्याय खोज्न कहाँ जाने हो ? थाहा छैन कति हिंस्रकहरुको हिंसालाई प्रवद्र्धन गर्छन् यस्ता निर्णयहरुले ?
हिमाल खवर पक्रिकामा बाल बिबाहबारे अध्ययन गरिरहेकी नारायाणी देवकोटाले लेखिन मुगुका पिउलीहरुको कथा । तर यहाँ त हरेक घरघरमा थुप्रै रिउलिहरुको कथा छ । चौधबिस क्षेत्रको एक गाउँ मुुरलीमा(यहाँ गाउँ र पात्रको नाम परिवर्तन गरिएको छ ।) रिउली छिन् । जम्मा १४ वर्षकी । जो आठ कक्षामा पढ्दै थिइन । उनले जानेकी थिइन अक्षरहरु चिन्न । अक्षरहरुमार्फत आफ्नो भावनाहरु पोख्न । उनको चाहना छ अक्षरहरुसँग मितेरी लगाउने । अझ थुप्रै अक्षरहरु चिन्ने र अक्षरहरु चिन्दाचिन्दै हुने ठूलो मान्छे बन्ने । अपसोच रिउलीको बिहे भएको छ ।
रिउली १२ पुरा भई १३ लाग्दै गर्दा महिनावरी हुन थालिन । पहिलो महिनावरीमा उनको धेरै रगद बग्यो । घरपरिवारसँग यो कुरा शेयर गर्न लाज लाग्यो उनलाई । त्यसैले नजिकैकी एकजना दिदिलाई देखाइन उनले । दिदिले भनिन् तिमी नछोइने भयौ । बाहिर स¥यौ । पर सा¥यौ । पाखा स¥यौ । अर्थात छुई भयौ । यहाँको चलन पहिलो छुईमा कसैले नदेखिने गरी लुक्नुपर्ने हुन्छ । सात दिनसम्म रिउली घर बाहिर कसैले नदेखिने गरी लुकिन । त्यसवेला उनका साथिहरुले पनि उनलाई साथ दिए । सँधै छुई हुँदा भने साथिहरुले साथ दिइरहन सक्दैनन् ।
त्यसपछिका हरेक महिनाजसो रिउली छुइ हुन थालीन । रिउलीका घरका बा आमा दुबै लाटा थिए । तर रिउली भने टाँठी थिइन । रिउलीमा बालापन हराउदै गएको थियो । विस्तारै यौवनले छाएको थियो । गोरो वर्णकी, पातलो शरिर, बाटुलो अनुहार पुक्क परेका राता गाला, सिल्कि कपाल, मेहेनत लगाएरै कोरिबाटेको कपालले उनि राम्री देखिन थालेकी थिइन । बिछट्टै राम्री । बाटो हिड्दा केटाहरुको नजर लाग्न थालेको थियो । आँखाको इसाराले केटाहरु जिस्काउन थालेका थिए । बाटो दोबाटो र चौतारोमा उनिबारे चर्चा चल्न थालेको थियो । उनि देखे नदेखे झैं गर्थिन् । केटाहरुमा आँट झन् बढ्न थाल्यो । घरमै आएर जिस्काउन थाले । बा आमा प्रतिकार गर्न सक्दैनथे । यसैपनि सबैबाट हेपएिको थियो उनको परिवार ।
जव रिउली छुई हँदा गोठमा बस्न थालीन । त्यसछि केटाहरुले जिस्काउनमात्र थालेनन् । विनारोकतोक रिउली सुतिरहेकै ठाउँमा आउन थाले । उनलाई डर लाग्न थाल्यो । उनि छुई हुँदा एकपछि अर्को दिन असुरक्षित हुँदै गइन । मनले नचाहेको होइन छुई हुँदा घरमै बसौं भनेर, तर मानेन घर परवारले, मान्दै आएको देउता र मनभित्र हुर्कंदै गएको डरको मनोविज्ञानले । प्रत्येक महिनाजसो छुई हुनु, गोठमा बस्नु, डर लाग्नु र असुरक्षित हुनु उनको नियमितता हुन थाल्यो । उनि साँच्चिकै असुरक्षित भईन । कटाहरुले मन लाग्दो गरे । उनले रोक्न सकिनन् केटाहरुको जबजस्तीलाई । बलात्कार भयो रिउलीको । त्यसपछि उनी छुई हुँदाका प्रत्येक रात अँध्यारा भए, पुरै अध्यारा, निष्पट्ट अँध्यारा ।
जीन्दगिदेखि हार खाई उदेक लाग्दो समय विताइरहेकी रिउलीलाई मर्न मन लागेर आयो तर सकीनन् मर्नलाई । एकोहोरिन थालिन । आँसु बगाउन थालिन । सुत्दा सपनामा बर्बराउन थालिन । एकोहारिनु, रुनु, आँसु बगाउनु, बर्बराउनु नियमितता नै हुन थाल्यो । सम्हालिन खोज्थिन । सकिनन् । निकै समयपछि केहि सम्हालिएर सुरक्षित हुने उपाया खोजिन । उपाया खोज्दा खोन्दा बिहे भयो रिउलीको । १४ वर्षको कलिलो उमेरमा, अक्षहरु चिन्दाचिन्दै, अक्षरहरुसँग साइनो गाँस्दागाँस्दै सुरक्षित हुने उपाया खोज्नुप¥यो । अनि बिहे भयो रिउलीको । त्यसकारण यहाँ बिहे हुनु सुरक्षित हुनु हो ।
यहाँ रिउली प्रतिनिधि पात्र हुन् । रिउलीमाथि घटेको घटना हर रात गोठमा बस्न बिवस थुप्रै रिउलीहरुमाथी घटिरहेको छ । अब आफूलाई पठित कहने, जान्ने, सुन्ने र अधिकारकर्मी ठान्नेहरुले सोच्ने वेला आएको छ । के यसरि नै रिउलीहरुको बलात्कार हुन दिने हो ? के रिउलीहरु सुरक्षित रहने उपाया बिहे नै हो त ? के अब रिउलीहरुले अक्षरहरु चिन्दाचिन्दै, मनमा सपनाहरु बुन्दाबुन्दै बिहे गर्नु पर्ने भयो त ? सोच्नुस एक पल्ट गम्भिर भएर सोच्नुहोस ।
साउनमा हरियो चुरा र मेहेन्दी लगाएर सुन्दर हुनेहरुले सोच्नुस् तपाईंलाई तपाईंको लोग्ने र तपार्इंको आफ्नै मन र प्रेमिले भन्दै होला के तिमी मेरो लागि वर्त बस्यौ ? हरियो चुरा र मेहेन्दी लगाएको खै त ? तपाईं उल्टो प्रश्न गर्नुस के तिमी मेरो लागि कहिले वर्त बसेका छौ ? तर्क गर्नुस् सम्बन्ध सम्झौतामा होइन समजदारीमा हुनुपर्छ । मेरा लागि केही तिम्रा इच्छाहरु त्याग, तिम्रा लागि म मेरा केही चाहानाहरु छोडौंला । नत्र समाजले सँधै तपाईंलाई भानुभक्तले सोचेजस्तै सोच्नेछ ‘नारी हाँस्नु हँदैन, हाँसे वेश्या हुनेछन्’ । आशा गारौं तर्क गर्ने दिमागमा भोटे ताल्चा नलागोस ।