अनिल अधिकारी | नेता वा ठेकेदार व्यक्ति बिशेषसँग जोडिने कुरा हो त्यसैले सडकको हाल बेहाल बनाउनुमा मुख्य कारक नै नेता र ठेकेदार हुन् । जब सडक गतिलो बन्दैन तब उपभोक्ता निरन्तर त्यसको शिकार बन्नुपरेको छ । नेता र ठेकेदारकै स्वार्थले सडक गतिलो बन्दैन र त्यसैको सिकार निर्दोष नागरिक मारिन्छन् वा अंगभंग बन्छन् ।
आजकाल केहि स्वार्थीहरुको कारण दैनिक लाखौँ जनताले दु:ख वा पीडा भोग्नु परेको अवस्था छ । जुन कुरालाई सबैले बुझेर पनि बुझ पचाएको जस्तो देखिन्छ । धेरै योजनाहरु ठेकेदारले तोकेको समयमा बनाउदैनन् । दुइ बर्षमा बन्ने सडकको लागि म्याद थपाई-थपाई १० बर्ष लगाइन्छ । जुन अबधिसम्ममा अघि-अघि बाटो बन्दै जान्छ त्यसैको अनुरुप पछीपछी बाटो भत्किदै जान्छ । अनि फेरी काम सक्नुपहिले नै उही असफल ठेकेदारले अर्को ठेक्का पाउँछ ।
मैले शिर्षकमा ठेकेदार र नेताको ग्र्याण्ड मोडल डिजाइन गर्नुको कारण हरेक नेपालीले बुझीसकेको कुरा हो । सडक निर्माणमा कति घोटाला हुन्छ, ठेकेदारले कसरी ठेक्का पाउँछन् र त्यसमा नेताको भूमिका के हुन्छ भन्ने कुरा प्राय धेरैले शंका गरेकै बिषय हो र त्यो शंका बास्तबिकता पनि हो ।
सडक बिकास गर्ने धेरै मोडलहरु छन् तर कार्यान्वयनमा किन गलत बाटो नै रोजिन्छ त ? भन्ने कुराको सिधा र प्रष्ट उदाहरण छ । त्यो हो, परम्परागत बाटोमा स्वार्थ पुरा हुन्छ । नयाँ मोडल लागु गर्दा निस्वार्थी र बिकासबादी हुनु अनिवार्य हुन्छ, जुन कुरा ९९% नेतामा लागु हुँदैन । पेशाले नै राजनीति अंगाल्ने उहाँहरुको घरपरिवार धान्नकै लागि वा निहित स्वार्थपूर्तिको लागि राम्रा सडक बन्दैनन्, राम्रा बिकासका योजनाहरु अलपत्र पर्छन । राजनीतिक वा व्यक्तिगत स्वार्थ हावी हुँदा अधिकांश बिकासका कामहरुले शतप्रतिशत प्रतिफल दिदैन ।
असारे बिकास एक महिना चल्छ । अनि बर्षाको पानीसंगै बग्छ । फेरी अर्को बर्ष बिकास हुन्छ, फेरी पनि बर्षामै बग्छ । यसरी हरेक बर्ष निरन्तर बगिरहन्छ, 'अविरल बग्दछ इन्द्रावती' भनेझैँ । कसलाई हेक्का छ ? बिकास बग्दा निकास बग्छ । समृद्धि बग्छ ।
अझ आजकाल जता पनि बिगार्ने बीचको मान्छे 'बिचौलिया' । यसैको मारमा सडक र यात्रु निरन्तर पेलिएका छन् । बिकासको लागि बजेट पुगेका छन् तर ९० प्रतिशत भन्दा बढी बजेट गलत समय र गलत व्यक्तिको हातमा पुग्छन् । तब बिकासले फड्को मार्न सक्दैन । नीति बनेका छन् कार्यान्वयन गर्ने निकायनै निहित स्वार्थमा लागेपछि त्यसले गलत रुप लिन्छ ।
बजेट निरन्तर बगेको बग्यै छ, कतै बाटो बनाइदैछ, कतै ढल खनिदैछ, तर त्यो काम कति पुस्तापछी सकिन्छ भन्न सकिन्न । सडक निर्माणको कार्य हिउँदमा गरिए यस्तो अवस्था आउने थिएन भन्ने हेक्का कसैलाई छैन । देशभरका ग्रामिण सडकको हाल बेहाल अवस्थामा छ । ग्रामीण सडक बर्षामा २/३ महिना बन्द हुन्छ भने बर्षभरी बिभिन्न रोकतोकको अवस्था कायम रहन्छन । बजेट बर्षेनी जान्छन तर त्यसको दिर्घकालिन सामाधानको उपाय सोचिन्न वा जानेर पनि गरिन्न ।
ठेकेदारलाई जुन बिकास योजना निर्माणको जिम्मा दिईएको हुन्छ, त्यसलाई कडाई गरिन्न, उसलाई त्यो समयमा जे-जे पोलिसी तोकिएका छन् त्यो पुरा गर्नैपर्ने भन्ने अनिवार्य गरिन्न । बरू उल्टो उसँग बार्गेनिंग हुन्छ र उसैलाई सहयोग गरिन्छ । काम गर्न नसकेपछी फुकुवा गर्नेसम्मको सेटिंग मिलाइन्छ वा झनै थपेर बजेट दिइन्छ । जस कामको लागि कर्मचारीदेखि नेता, मन्त्रीसम्म मुछिन्छन् । …. अनि जतिसुकै गलत काम गरेपनि उनीहरु 'सेफल्याण्ड'मा हुन्छन तर 'डेन्जरल्याण्ड'मा रहेका ड्राइभर र यात्रुहरु कतिखेर कहाँ गएर जाकिने वा ठोक्किने हो भन्नेमा हरेक खाल्टाखुल्टि र अफ्त्याराहरुमा भगवान पुकार्छन ।