दाजुको चिठी: दाइ ! छेपाराले घर कहिले बनाउँछ ?

Posted on: 29 Aug, 2016

प्यारो भाइ महेन्द्र के.सी.

सहारा न्यूज दैनिक

कुश्मा, पर्वत ।

प्रिय भाइ !

आज भने तिमीलाई दिने उत्तर मसँग छैन । उत्तर नभएकै कारण आज तिमी अनलाइनमा आउँदा म भागेँ ।  भाइ तिमीले सधैँ मसँग माग्छौ ।“दाइ ! मलाई एउटा आर्टिकल पठाइदिनुहोस् ।” मैले हुन्न भन्न सक्दिन । तिम्रो मागलाई पूरा गर्न पनि सक्दिन । भेट हुँदा प्रतिबद्धता सहित  विभिन्न वहानाबाजीमा तिमीलाई टाल्छु ।

म तिमीप्रति धेरै अन्यायी भएँ मेरो भाइ । मलाई माफ गर । हुन त म आजभोलि आफैप्रति पनि धेरै नै अन्यायी भएको छु राजा । मलाई तह लगाऊ है । एक दिन तिमी मसँग रिसायौ । मलाई गाली ग¥यौ । “दाइ ! छेपाराले घर कहिले बनाउछ ?”

उत्तरमा मैले नेटको समस्या देखाएँ भाइ । तिमीले “नेटको कामै छैन दाइ भन्यौ ।” यसको अर्थ तिमी मसँग रिसायौ । मैले भनेँ “प्रिय भाइ ! म बिग्रिएँ । मेरो कलम सुत्यो । मेरो सिर्जनाको बन्ध्याकरण  भयो । मलाई निदाउन नदेऊ भाइ ! मलाई यसरी नै घोच । मलाई यसरी नै तर्साऊ मेरो भाइ । मलाई यसरी नै जगाऊ मेरो आँखा, मेरो आत्मा, मेरो सारथी । मलाई मर्न नदेऊ ।”

तिमी हाँस्यौ । मैले फेरि भने “भाइ तिम्रो हाँसोठट्टामा गहिरो व्यङ्ग्य लुकेको हुन्छ । मैले बुझेको  छु । तर अरुले आलोचना सम्झिन्छन् ।”

तिमीले “हजुर !” भन्यौ अरु केही भनेनौ । मलाई तिम्रो “हजुर” ले लामो समय घोचिरहयो मेरो भाइ । मलाई सोचमग्न बनायो । मलाई काँतर पनि बनायो । त्यसैले हुन सक्छ मेरो भाइ ! आज तिमी अनलाइनमा आउँदा म एक चोर, अपराधी, दोषीका भाँती भागिहालेँ । 

प्रिय भाइ ! 

मैले विषय पाइन । के विषयमा मैले लेखौँ ? कस्तो विषयमा मैले लेखौँ ? के लेख्दा सबैको मन छुन सकिएला ? के लेख्दा सहीलाई ताली र गलतलाई गाली दिन सकिएला ? मैले के लेखेँ भने तिमी खुसी हुन्छौ ? र “धन्यवाद दाइ !” भन्छौ । म विषय नपाएर अलमलिइरहेको छु राजा । 

एक दिन तिमीले राजनीतिको विषयमा लेख्न भन्यौ मेरो भाइ ! मैले लेख्न पनि लेखेँ । तिमीले तिथिमिति सहितका घटनाहरु राख्न भन्यौ । राजनैतिक हिरोहरुका कहानीहरु लेख्न भन्यौ । उनीहरुलाई ताली दिन भन्यौ । उनीहरुलाई गाली दिन भन्यौ । मैले त्यो केही पनि दिन सकिन मेरो भाइ । त्यसैले मैले त्यो विषयमा पनि लेख्न सक्ने हैसियत राखिन ।

अझैसम्म मैले राजनीतिको कपुरी क पढ्ने अवसर पाएको छैन मेरो भाइ । तिम्रा राजनैतिक हिरोहरुसँग राजनीतिको कपुरी क कयौँपल्ट मागेँ । दिएनन् । उनीहरुसँग थिएन कि दिएनन् थाहा पाइन । तिम्रा धेरै खबरहरुमा खोजेँ तर त्यहाँ पनि भेटिन भाइ । कति पल्ट तिमीले “तिनै हुन् मान दाजु ।” भन्यौ तर मैले मानिन । 

त्यहाँ कसैलाई काखा र कसैलाई पाखा थियो मेरो भाइ । तर मैले सिक्न खोजेको राजनीति त्यो होइन भाइ । राजनीतिको आँखामा राज्य हुनुपर्ने होइन र ? राजनीतिको आँखामा कोही पाखा र काखा हुन्छ र ? राज्य सञ्चालन गर्ने नीति राजनीति होइन र ? राज्यका नीति निर्माता र  कार्यान्वयनकर्ता राजनैतिक पार्टी होइनन् र ? अहिले त्यो देखिएन भाइ । राज्यभन्दा ठुलो पार्टी, पार्टीभन्दा ठुलो व्यक्ति भइरहेछ । व्यक्तिवाद हावी छ । नातावाद कृपावाद हावी छ । राजनीतिको उद्देश्य सत्ता र शक्ति हडप्नु र आफ्नो व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्नु मात्र साबित भइरहेको छ । 

आलोपालो, बाँडिचुडी मिलीजुली गरम भाइ राजनीति भइरहेछ ।  यो राजनीति हुन सक्दैन भाइ । यो जङ्गली सभ्यता हो । बलियाले निर्धामाथि अन्याय गर्ने संस्कार राजनीति हुन सक्दैन भाइ । अर्को कुरा के छ भने भाइ, प्रजातान्त्रिक प्रणालीमा सत्तासाझेदारीको भागबिलो र सम्झौता हुनै सक्दैन । सत्तापक्षी र बलियो प्रतिपक्षी यसको मर्म हो । सत्तापक्षीले विपक्षीलाई जिताउने र विपक्षीले सत्तापक्षीलाई बिग्रिनबाट खबरदारी गर्ने पद्धति प्रजातान्त्रिक प्रणालीमा हुनु पर्ने होइन र भाइ ? विपक्षी गुट उपगुट निर्माण गरेर कसरी सत्तामा पुग्ने र सत्तापक्षीले कसरी विपक्षीलाई सक्ने भन्ने खेल कुनैपनि प्रजातान्त्रिक प्रणाली र राजनीतिमा हुनै सक्दैन । त्यसैले, मेरो भाइ ! अन्धो भएर मैले यो विषयमा कलम चलाउन सकिन । म धेरै धेरै दुःखी छु, माफ गर है । 

प्रिय भाइ ! 

तिमीले प्रकृतिको विषयमा लेख्न भन्यौ । मैले प्रकृतिको विषयमा लेख्न खोजेँ । प्रकृति मलाई अति प्रिय लाग्छ । घाम लागेको दिन रमाइलो र घमाइलो लाग्छ । बगैचामा पुतली नाचेको, हरेक फुलका गुच्छागुच्छामा माहुरी डुलेको खुब मन पर्छ । चिडियाले गाएका हरिया वनजङ्गल अति मनमोहक लाग्छन् मलाई । विहानमा हासेका हिमाल हेरेर नै मैले हास्न सिक्दै छु । हिमाल जस्तै पवित्र, उज्यालो, उच्च, विशाल र दर्बिलो मन लिन सिक्दै छु । नागबेली परेका हराभरा, अटल, विशाल र असिम पहाडी शृङ्खलासँग मैले सिर्जना र संघर्षका गीतहरु गाउन सिक्दै छु । तराईका बिशाल र उर्वर फाँटहरुले मलाई पौरखी र उद्यमी बन्न सिकाउदै छन् । जुन लागेको रात अति शान्ति र कान्तीमय लाग्छ । निद्रादेवीले दण्ड दिएको रात ताराहरु पोखिएको आकाश हेरेर बिताउदा स्वर्गपुरी पुगेको आभास हुन्छ । कहिलेकाही प्रकृति धुम्म हुन्छ । आकाश कालो बादलसँगै अमिलो धमिलो बनिदिन्छ । बिजुली चड्किन्छ । मेरो घरको छानो सँगीत भर्न थाल्छ । वृक्षका पातहरु गाउन थाल्छन् । म आनन्दले आँखा चिम्लिन्छु । रिमिझिमी वर्षामा नुहाएर शीतलो बन्छु । तर दुःखको कुरा के छ भने भाइ प्रकृतिको यो असीम आनन्दले मलाई जोगी बनाएन भोगी र मोजी बनायो । सिर्जनशील र चिन्तनशील होइन रोगी बनायो । म भौतिक वस्तुको गुणतिर लागिन परिमाणतिर मात्र लागेँ । मैले आँखा उघारेर बटुलेका ज्ञानगुनलाई आँखा चिम्लिएर देख्न सकिन । व्यवस्थित गर्न सकिन । यसैले प्रकृतिलाई मात्र विषय बनाएर लेख्ने हैसियत मैले राखिन मेरो भाइ ।

प्रिय भाइ ! 

मलाई समाजको विषयमा कलम चलाउन भन्यौ । अनेक व्यक्ति, घरपरिवार, जातजाति, भाषाभाषी, धर्मसंस्कृति, रहनसहन, जीवनस्तर, भोगाइ, ज्ञानविज्ञान, भूगोल आदिको एकीकृत स्वरुप समाज हो जस्तो लाग्छ मलाई । समाज जहाँ पनि छ । जेमा पनि छ भाइ । समाजबिना सजीव निर्जीव कसैको पनि अस्तित्व छैन । 

हाम्रो शरीर पनि त एउटा पूर्ण समाजको नमुना हो नि । हेर, यो कति धेरै अङ्गप्रत्यङ्ग मिलेर बनेको छ । आन्तरिक र वाह्य अङ्गहरु छन् । पञ्चइन्द्रियहरु छन् । असंख्य कोषहरु छन् । सबैको आआफ्नो काम र महत्व छ । एउटा सूक्ष्म तत्व कमजोर, घाइते या काम नलाग्ने हुँदा शरीरका अन्य तत्वहरुमा पनि असर पर्छ । जसलाई हामी रोग लागेको भन्छौँ । यसले विकराल रुप लिदा अन्त्यमा हामी मृत्युको मुखसम्म पुग्न समेत बाध्य हुन्छौँ । यही हाम्रो शारीरिक समाजलाई हेरौँ न । कसरी एउटा सानो अंशको असरले पूरै शरीरलाई जखमी पार्दो रहेछ । त्यस्तैगरी प्रत्येक सूक्ष्म अंशहरुको सबलताले पूरै शरीर  सबल, सक्रिय र जीवित पनि त बनिरहेको हुँदोरहेछ नि ।   

यो सारा व्रह्माण्ड सिङ्गो समाजको एउटा नमुना हो । आकाशमा हेर । घाम छन्, जुन छन्, ताराहरु छन्, असंख्य खगोलीय पिण्डहरु छन् । धरतीमा हेर । हिमाल, पहाड र तराई छन् । नदीनाला छन् । तालतलैया र समुन्द्र छन् । असंख्य कीटपतङ्ग, वनस्पती र जीवहरु छन् । यो नै समाजको सिङ्गो अस्तित्व हो । यसैमा पूर्ण समाज बाँचिरहेको हुन्छ । 

हामीले सामान्य अर्थमा चिनिने समाज एउटा मानवीय समाज हो । यसमा धेरै जातजाति, भाषाभाषी, धर्मसंस्कृति र रहनसहनका मानिसहरु छन् । समग्रमा यी सबै एउटा बगैचाका सुन्दर फुलहरु जस्ता लाग्छन् । तर पनि यी कुनै न कुनै कुसंस्कार र विकृतिको सिकार भएको पाइन्छ । अरु समाजमा भन्दा यिनमा धेरै विसमताहरु छन् । जातजाति, भाषाभाषी, धर्मसंस्कार, पेसाव्यवसाय, आर्थिक अवस्था आदिका आधारमा हाम्रो मानवीय समाज वर्गीयतामा विखण्डित छ । ठुला ठुला विभाजनका रेखाहरु कोरिएका छन् । मानव मानव बिच ठुला खाडलहरु छन् । यही विभाजन अहिले आएर देश, भूगोल, नश्ल र पार्टीको रुपमा संस्थागत बनिरहे जस्तो पनि देखिन्छ । कतिपय विकासोन्मुख मुलुकमा यसले अति संकीर्णता र जर्जरता पनि हाँसिल गरे जस्तो देखिन्छ ।

हो, म यही समाजको मानिस त हुँ तर मेरो अल्प बुद्धि र अल्प आयुले यसको अध्ययन र लेखनमा पनि अपूर्णता देखायो । मलाई माफ गर भाइ । यस्तै संकीर्णताको कारण आज म सामाजिक लेखकको रुपमा उभिन सकिरहेको छैन । 

प्रिय भाइ !

तिमीले मलाई साहित्यको विषयमा लेख्न भन्यौ । हिजोआज मैले साहित्यमाथि ठुलो अन्याय गरेको छु । मैले पूर्वीय होस या पाश्चात्य कुनै पनि साहित्यको अध्ययन गर्न छाडेको छु । साहित्यका कुराहरु मलाई बनावटी कथा मात्र लाग्न थालेका छन् । समसामयिक साहित्यकारका धेरै कृतिहरु हेर्छु । तिनमा पनि कुनैमा शब्द मात्रै थुपारिएको पाउँछु । कुनैमा भाव मात्र थुपारिएको पाउँछु । कुनैमा काल्पनिकता मात्र भेटिन्छ । मैले सोच्छु, साहित्य भाषामा मात्र सीमित छैन । भाषा त कुनै एउटा माध्यम मात्र न हो । भाव त्यसको चेतना हो । विषयवस्तु त्यसको मस्तिष्क हो । कला त्यसको सजावट हो । रुप त्यसको जीवन हो । प्रभाव त्यसको समाज हो । जीवन, समाज, मानवीय संवेग र अनुभूतिहीन साहित्यदेखि मलाई विरक्त लाग्न थालेको छ । यसैले हुन सक्छ, हिजोआज मैले साहित्यमाथि घोर अन्याय गरेको छु । साहित्यले पनि मलाई अन्याय नै गरेको छ । किनकि धेरै दिनदेखि साहित्यका लागि मैले आफ्नो निद्रा, भोकप्यास, ऐसआराम, स्वास्थ्य र समयको बलिदानी दिएको छैन । साहित्यले मलाई बलिदानी दिन बाध्य पारेको पनि छैन । हुन सक्छ हिजोआज मैले आफ्नो लागि मात्र बाँच्न थालेको छु । अरुलाई बिर्सिएको छु । मेरो मगजको अनुभूतिमूलक पाटो बाँझो पारेको छु । प्रिय भाइ ! साहित्यको प्रसङ्ग आउँदा म निरुत्तर छु । मलाई माफ गर । कुनै दिन, कुनै पल, कुनै घटनाले जगायो भने फेरि पनि साहित्यमाथि न्याय गर्न आउने नै छु भाइ । तिम्रो लागि मात्र साहित्यमा कलम चलाउन नसकेकोमा धेरै धेरै दुःखी छु भाइ । 

प्रिय भाइ !

तिमीले पत्रपत्रिकाको विषयमा कलम चलाउन भन्यौ ।  मैले पत्रकारिताको ठुलो सम्मान गर्छु । सबैको खबर लेख्दालेख्दै बेखबर बनिरहेका पत्रकार दाजुभाइ दिदीवहिनीको विवसतालाई मैले नजिकबाट हेरेको छु । सूचना मानव जातिको पहिलो आँखा हो । अरुको आँखा खोल्ने कार्य आफैमा सम्माननीय छ । तर भाइ, हिजोआज यसको पवित्रता र निष्पक्षतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यो विभिन्न शक्ति केन्द्रको हतियार हुन थाले जस्तो आभास भइरहेछ । आफ्नो धर्म बिर्सिएर लरबराए जस्तो पाएको छु । पत्रकारिता सबै जनताको साझो चौतारी बन्न छोडेको हो कि भन्ने प्रश्न चिन्ह खडा भएजस्तो मान्छु । थोरै थोरै बुझेर धेरै धरै गफ चुट्दा आफैमाथि अन्याय त गर्दिन भन्ने डरले यो क्षेत्रमा पनि कलम चलाउन सकिन भाइ । 

प्रिय भाइ !

यस्तै यस्तै तिमीले धेरै विषय दिएका थियौ । सबैको सन्दर्भ उल्लेख गर्न पनि सकिन । तिमीले दिएका सबै विषयमा यस्तै यस्तै केही न केही कमजोरीले गर्दा कलम चलाउन सकिन । त्यो कमजोरी विषयको होइन । मेरो हो । अहिले भने म दोष नै दोषको भकारी जस्तो भएको छु कि ? 

यसैले म महान दोषी पनि भएँ कि ? दोषीले मात्र सारा संसार दोषी मात्र देख्छ । हुन सक्छ, यो चिठीमा मैले दोष मात्र थुपारेको छु कि ?  

प्रिय भाइ !

यसलाई दोषको रुपमा मात्र नबुझिदिनु होला । यो मेरो झिनोमसिनो गुनासो मात्र हो । तिम्रो माया र घोचपेँचको शक्तिले म जाग्न चाहन्छु । प्रिय भाइ ! मलाई निदाउन र हराउन दिने छैनौ भन्ने आशामा छु । 

प्रिय भाइ !

जाँदा जाँदै तिमी, तिम्रो पत्रिका सहारा न्यूज, पत्रिका परिवार र सम्पूर्ण पाठक वर्गमा नजिकिदै गरेको हरितालिका, विजयादशमी र दिपावलीको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । सहारा न्यूज वास्तविक दीनहीनको सहारा बनोस् । राष्ट्र निर्माणको बलियो खम्बा बनोस् ।

प्रिय भाइ !

अवश्य पनि मलाई निदाउन दिने छैनौ भन्ने आशामा यो चिठीको बिट मार्छु । 

उही तिमीलाई माया गर्ने दाजु 

राजु वि.क.

यस बिषयमा तपाइको प्रतिक्रिया...!