२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

डा रुइत जन्मभूमि फर्किँदा

२३ फाल्गुन २०७९, मंगलवार ०७:५३

फागुन २३, ताप्लेजुङ | आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । “आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ”, गृहजिल्ला ताप्लेजुङ आउनुभएका डा सन्दुक रुइतले भन्नुभयो । 

जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताउनुभयो । सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाड्नुभएका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुग्नुभएको हो । आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आउनुभएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुग्नुभएको छ । उहाँ लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुग्नुभएको हो ।

हजारौँको आँखामा ज्योति दिनुभएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ । सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ ।

यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उहाँको भनाइ थियो । हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उहाँको भनाइ थियो ।

यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताउनुभएको छ । यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उहाँको भनाइ छ । यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उहाँले प्रष्ट पार्नुभयो । यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उहाँले बताउनुभयो । तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ । उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ । 

कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उहाँले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताउनुभएको छ । निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो । छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उहाँको भनाइ छ । 

टिपताला नाका हाल बन्द रहेको छ । कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ । झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ । सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे । 

सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत

सात वर्षको हुँदा उहाँका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पु¥याउनुभएको थियो । उहाँलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ । बाटोमा हिँड्दै गर्दा उहाँका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उहाँले सुनाउनुभयो ।

आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहनुभएको देखिन्थ्यो । “आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ”, डा रुइतले भन्नुभयो ।

उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन । गाउँमा बिजुली, टेलिफोन कुरै भएन । याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो । गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे । त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उहाँलाई लाग्ने गरेको छ । त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उहाँलाई आइरहन्छ । 

गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उहाँलाई लाग्छ । अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन् । राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ । ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ । 

डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ । यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गर्नुभएका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गर्नुभयो । विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गर्नुभयो । उहाँ अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित हुनुहुन्छ । 

उहाँलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन् । उहाँले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गर्नुभएको बताइन्छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उहाँ पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित हुनुभएको छ । झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गर्नुभएको थियो । 

यसैबीच सोमबार गाउँमा पुग्दा उहाँलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन् । विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाउनुभएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि । उहाँलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए । 

तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उहाँ आफ्नो गाउँमा पुग्नुभएको हो । शिविरमा उहाँले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गर्नुभएको छ । 

गाउँमा फर्किएर ज्योति दिएकामा उहाँप्रति गाउँलेले खुसी व्यक्त गरे । यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए । चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ । बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो । 

आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन् । दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु यस्तो छ आजको मौसम पूर्वानुमान