नवदुर्गा गाउँपालिका उत्कृष्ट घोषित

Posted on: 11 Oct, 2020

असोज २५, डडेलधुरा | डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । 

सात स्थानीय तह रहेको डडेल्धुरामा नवदुर्गाले दिएको स्वास्थ्य सेवा सन्तोषजनक रहेको पाइएकाले जिल्लाको उत्कृष्ट घोषणा गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले उत्कृष्ट घोषणा गरेसँगै शनिबार गाउँपालिकालाई प्रमाणपत्र तथा रु ४० हजार नगद प्रदान गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताउनुभयो । 

गाउँपालिकाको सुरक्षित मातृत्व, बाल स्वास्थ्य सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन, संस्थागत सुत्केरीलगायत कार्यक्रम सन्तोषजनक रहेको र तथ्याङ्क अभिलेखीकरणदेखि पोषणको क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!