काठमाडौँ | गैरकानुनी रूपमा स्पेनमा बस्दै आएका तीन नेपालीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरी नेपाल फर्काएको छ।
स्पेनले निष्कासन गरेका नेपालीहरूमा मोहन ओली, नुरुपा छिरिङ घले, र सुस्मिता घर्ती रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले जनाएको छ। ओलीलाई कतार एयरलाइन्समार्फत, जबकि घले र घर्तीलाई इन्डियन एयरलाइन्समार्फत नेपाल ल्याइएको हो।
युरोपका विभिन्न देशहरूमा गैरकानुनी रूपमा प्रवेश गरी लुकीछिपी काम गर्ने नेपालीहरूको संख्या उल्लेख्य छ। यस्ता नेपालीहरूलाई बेलाबखत अध्यागमन प्रहरीले पक्राउ गरी निष्कासन गर्ने गरेको नेपाली समुदायले बताउँदै आएका छन्।
यसअघि माघ पहिलो साता पनि पाँच जना नेपाली स्पेनबाट निष्कासित भएका थिए। तीमध्ये अनिल बिसी, चिरञ्जिवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की, र लोकेन्द्र केसी रहेका थिए। उनीहरूलाई पनि कतार एयरलाइन्समार्फत नेपाल पठाइएको थियो।
स्पेनले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरेको हो। चार जनासँग पासपोर्टसमेत नभएको र पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका कारण उनीहरूलाई पक्राउ गरी नेपाल फर्काइएको स्पेनिस अधिकारीहरूले जनाएका छन्।