९० लाखसम्म तिरी जंगल, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर अमेरिका पुगेका थिए फिर्ता भएका नेपालीहरु

साझासवाल

काठमाडौँ | बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हत्कडी र ट्रान्जिटसम्म नेलसमेत लगाएर स्वदेश फिर्ता गरिदिएका ८ जना नेपाली ५० देखि ९० लाखसम्म तिरेर अमेरिका पुगेको खुलेको छ।

अध्यागमन विभागले उनीहरूलाई प्रहरीको मानव बेचबिखन ब्यूरोमा सोधपुछका लागि बुझाएको थियो। ब्यूरो उच्च स्रोतका अनुसार मानव तस्करीमा उजुरी नदिने भएपछि परिवारको जिम्मा लगाइएको छ।

पछि सम्पर्कमा आउनेगरी विवरण राखी ८ जनालाई नै परिवारको जिम्मा लगाइएको ब्यूरोले जानकारी दियो।

सोधपुछका क्रममा उनीहरूले ५० देखि ९० लाखसम्म तिरेर अमेरिका गएको पुष्टि भएको थियो। करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए ।

मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए। ‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए’ प्रहरीले पाएको बयानमा उल्लेख छ,‘त्यहाँ पुगेलगत्तै समातियौं।’

प्रहरीसँग उनीहरुले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जानु परेको जिकिर गरेका थिए।

अमेरिकामा राष्ट्रपति बनेपछि अवैध हिसाबले बसेका विदेशीलाई स्वदेश फर्काउनेगरी निर्णय भएको थियो। सोहीअनुसार ८ नेपालीलाई अमेरिकाको ग्रिफान एयरको चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडिएको थियो।