जेठ १६, काठमाडौं | तारा एयरलाइन्सको विमानको भग्नावशेष सोमबार बिहान फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ । विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए ।

नेपालस्थित भारतीय दूतावासले ठाणेका अशोक त्रिपाठी (५४), उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिक त्रिपाठी (१८) पनि यात्रा गरेको जनाएको छ ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुबैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यसै क्रममा चारैजना नेपाल आएका थिए । दुबै छोराछोरी वैभवीसँग बस्थे, अशोक एक्लै बस्थे । प्राप्त जानकारी अनुसार अशोकसँगै उनका काका पनि जान लागेका थिए । तर अन्तिम समयमा उनले योजना परिवर्तन गरे ।