साउन २०, काठमाडौँ | नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेको छ । भेटवार्टा बंगलादेशको राजधानी ढाकास्थित हसिनाको कार्यालयमा भएको थियो ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ८ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल अहिले बंगलादेश भ्रमणमा रहेको छ ।

भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

सभापति खरेलले बंगलादेशकी प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीच संसदीय कार्यक्रमको आदानप्रदान अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिएको ढाकास्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले जलविद्युत, व्यापार र पर्यटन क्षेत्रमा स्थापित संयन्त्रमार्फत सहकार्यलाई तीव्रता दिएमा दुवै देशलाई फाइदा पुग्ने बताएकी थिइन् ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले भेटमा सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको योगदान र सहयोगको स्मरण गरेकी थिइन् । नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ रहेकोमा उनले सन्तोष व्यक्त गरेकी थिइन् ।

बिहीबार बंगलादेशको विदेश मामिलासम्बन्धी संसदीय समितिसँग नेपालको संसदीय प्रतिनिधिमण्डलले अन्तरक्रिया गरेको थियो । दुवै देशका संसदमा मित्रता समूहको स्थापनालगायत संसदीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा अन्तरक्रिया केन्द्रित थियो ।