भदौ १९, काठमाडौँ | ‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुलाई लैजान आग्रह गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले अन्तिम छनोटबाट बाहिरिएका उनीहरुलाई लैजाने इजरायल सरकारसँग आग्रह गरिएको बताए ।

नेपालबाट अन्तिम छनोटमा परेका एक हजार १३२ जना केयरगिभर इजरायल गइरहेका छन् । तर, ४२५ जना लक्की ड्र गरिँदा छनोटमा परेका थिएनन् । उनीहरुले भाषा र सीप परीक्षा पास गर्नुका साथै अन्तर्वार्ता समेत पास गरेका थिए । तर, अन्तिममा इजरायलले गरेको लक्की ड्र मार्फत १ हजार १४७ जना छनोटमा परेका थिए । ती मध्ये २५ जना मेडिकल परीक्षणमा असफल भएका छन् ।

गत ३० साउनमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेरसँगको भेटको क्रममा श्रममन्त्री कुँवरले उक्त कुरा उठान गरेका थिए । ‘४२५ जनाले भाषा पनि पास गरेका छन् । सीप पनि पास गरेका छन् । अन्तर्वार्ता पनि पास गरेका छन् । लट्रीमार्फत ४२५ जना जान पाएनन् । हामीले पहिला उहाँहरुलाई लैजान आग्रह गरेका छौं’ मन्त्री कुँवरले भने ।

जवाफमा राजदूतले गोदेरले सरकारसँग समन्वय गरेर अगाडि बढ्ने जवाफ दिएका थिए । राजदूत गोदेरले कृषि क्षेत्रमा पनि एक हजार जना नेपाली कामदार लैजाने बताएका थिए । मन्त्री कुँवरले भने पहिला अड्किएका ४२५ जनालाई लगिदिनुपर्यो भनेर अनुरोध गरेका थिए ।

‘इजरायलका राजदूत आउँदा थप एकहजार जना कृषि क्षेत्रमा लिन्छु भन्नुभयो । एक हजार जनाको माग देखाउनुभयो । हामीले के भन्यौं भने त्यो काम त गर्दै गरौंला, तर, ४२५ जना जो सीप र भाषा सिकेर अड्किएर बसेका छन् । उनीहरुलाई लिइदिनुपर्यो भनेर आग्रह गरेका छौं’ उनले भने ।

कृषि क्षेत्रका लागि डिमाण्ड लिँदा पहिलाकै प्रक्रिया अनुसार लिने र ती मान्छेहरु पनि त्यही प्रक्रियामा सहभागी हुनुपर्ने बताएका थिए । तर, ती व्यक्तिहरुले सबै प्रक्रिया पुरा गरेको तर, अन्तिममा जान नपाएको भन्दै लगिदिन अनुरोध गरिएको मन्त्री कुँवरले बताए ।

कृषि क्षेत्रमा लैजाने कामदारको पनि प्रक्रिया अगाडि बढाउने र उनीहरुलाई पनि लगिदिन आग्रह गरिएको उनको भनाई छ । ‘अर्काको देशको कुरा हो । हामीले रिक्वेष्ट मात्र गर्ने हो । सम्बन्धित देशहरु पनि सेन्सेटिभ भइदिनुपर्यो नि । उहाँहरुले हामी हाम्रो मन्त्रालय र सरकारसँग सोध्छौं भनेका छन् । सरकारसँग समन्वय गर्छौ भनेका छन्’ उनले भने ।

नेपाल र इजरायल सरकारबीच सन् २०२० मा श्रम सम्झौता भएको थियो । सोही आधारमा सन् २०२१ मा नेपालबाट १ हजार जना नेपाली सहायक कामदार (केयर गिभर) लैजाने सहमति भएको थियो । सोही सम्झौताको आधारमा इजरायलले नेपालबाट कृषि क्षेत्रमा पनि एक हजार कामदारको माग गरेको हो । नेपालले त्यसका लागि आवश्यक तयारी थालेको छ ।

‘लक्की ड्र’ बाट छनोटमा नपरेकालाई पनि इजरायल लगिदिन इजरायलसँग नेपालको आग्रह
Leave a Comment