कात्तिक २४, काठमाडौँ | माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको शव बिहीबार नेपाल पठाइएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्याल सहितको पहलमा ढुंगेलको शव परिवारलाई पठाइएको हो।

माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको अर्यालले बताए। तर, माल्टामा रहेका नेपालीहरुले सहयोग संकलन गरेर शव पठाइएको उनले बताए।

माल्टाको कानुनी व्यवधान समाधानका लागि कूटनीतिक पहल भएको अर्यालले बताए।

४५ दिन अघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना हुनुपरेको थियो। एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो। ढुंगेल काम गर्नका लागि गएको कम्पनीले पनि आवश्यक सहयोगको प्रतिबद्वता जनाएको थियो।

यसैबीच माल्टामै मृत्यु भएका आकास बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए।