पुस २६, काठमाडौँ | नेपाली कांग्रेसका चार नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा फरक मत राखेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका हुन्।

‘पार्टी प्रमुख प्रतिपक्षी भूमिकामै बस्नुपर्छ भनेर चार जना नेताले भन्नुभएको छ,’ एक नेताले भने, ‘तर अरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमै बस्ने निर्णयमा सहमति जनाएका छन्।’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीहरू र पूर्वपदाधिकारीहरू छन्। तत्काल केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा केन्द्रीय कार्यसम्पादन समिति बसेर आधिकारिक निर्णय गर्न सक्छ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय लगत्तै संसदीय दलको बैठक राखेर सुनाइएको थियो। जसमा सांसद प्रदीप पौडेलले मात्र फरक मत राखेका छन्। संसदीय दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्।