पढ्न करिब 3 मिनेट लाग्छ

मङ्सिर १२, गोरखा । तपाईं मनकामनामा उत्पादन भएको रसिलो सुन्तला खान चाहिरहनुभएको छ तर व्यापारीले अन्यत्रकै सुन्तला दिएर मनकामनाको हो भन्दै ढाँटेका छन् भने अब चिन्ता लिनु पर्दैन । तपाईंले चाहेअनुसार नै मनकामनामा उत्पादित स्वादिलो सुन्तला स्टिकर टाँसेर बजारमा झारिएको छ ।

सुन्तलाको दानामा टाँसेको ‘मनकामनाको सुन्तला’ स्टिकर हेरी घरछेउको बजारबाट मनकामनाको सुन्तला सजिलै किन्न सक्नुहुन्छ ।

मनकामनामा उत्पादित सुन्तलाको ‘ब्रान्ड चोरेर अन्यत्रको सुन्तलाको बिक्री बढेपछि’ जिल्ला कृषि विकास कार्यालय गोरखाको प्राविधिक सहयोगमा साना किसान कृषि सहकारी संस्थाले मनकामनाको सुन्तलामा स्टिकर ९लोगो० टाँस्न सुरु गरेको हो । कृषि राज्यमन्त्री राधिका तामाङले शनिबार मनकामनाको ढाँडबारीमा आयोजित एक कार्यक्रममा सुन्तलामा स्टिकर टाँस गर्नुभएको हो । यस अभियानले मनकामनाको सुन्तला बजारीकरणमा सहयोग गर्ने उहाँको भनाइ छ ।

राज्यमन्त्री तामाङले भन्नुभयो, “मनकामनाको सुन्तला हो भन्दै व्यापारीले अन्यत्रकै सुन्तला महँगोमा बेचेका थिए । म पनि कयौँ पटक झुक्किएकी छु । अबदेखि उपभोक्ता झुक्किनु पर्दैन ।”

सुन्तलामा स्टिकर टाँसेपछि आम उपभोक्तालाई मनकामनाको सुन्तला चाख्ने अवसर मिलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले बताउनुभयो ।

साना किसान कृषि सहकारीको ६ लाख रुपैयाँ लगानी र जिल्ला कृषि विकास कार्यालयमार्फत प्याक्ट कार्यक्रममार्फत १० लाख रुपैयाँले मनकामनाको ढाँडबारी क्षेत्रको सुन्तलाको बगैँचा व्यवस्थापन तथा सुन्तलामा स्टिकर टाँसी बजारीकरण गरिएको हो ।

स्थानीय कृषक टङ्कप्रसाद दुवाडीका अनुसार आँबुखैरेनी, बनौती, मनकामना कच्ची सडकको स्तरोन्नति नहुँदा सुन्तलाको ढुवानीमा समस्या भएको छ । केही कृषकले मनकामनास्थित केवुलकारबाट सुन्तलाको ढुवानी गरे पनि अधिकांश कृषकले साना ट्रक, जिपमार्फत सुन्तला ढुवानी गर्दै आएका छन् । उहाँले भन्नुभयो, “बिभिन्न रोगले सुन्तलाको पुराना बगैँचा सखाप बनायो । फलेका सुन्तला पनि बाटो राम्रो नहुँदा समयमै बजारसम्म ढुवानी गर्न सकिएन ।” मनकामनाको सुन्तला मुग्लिन, नारायणगढ, पोखरा, आँबुखैरेनी, गोरखाबजार, काठमाडौँलगायत सहरमा बिक्री हुँदै आएको छ ।

“बजारमा मनकामनाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बिक्री हुँदा उपभोक्तालाई मार परेको छ,” साना किसान सहकारीका अध्यक्ष कृष्णबाबु श्रेष्ठले भन्नुभयो, “मनकामनाको सुन्तला खाने हो भने स्टिकर टाँसेको सुन्तला किन्नुस् ।” सुन्तलाको पकेट क्षेत्र मनकामना, ताङ्लीचोक, मकैसिङ, घैरुङ, देउरालीलगायत गाविसमा सुन्तला उत्पादन वृद्धि गर्न बगैँचा सुधार कार्यक्रम लागू गरिएको छ ।

सुन्तला प्रवद्र्धन गर्न महोत्सव

गोरखामा उत्पादित सुन्तलाको प्रवद्र्धनका गर्न ताङ्लीचोक याङ्दीको सुन्तला उत्पादक कृषि सहकारी संस्था लिमिटेड र जिल्ला कृषि विकास कार्यालयले सुन्तला महोत्सव गरेका छन् । शनिबारदेखि याङ्दीमा सुरु भएको महोत्सव आज सकिँदैछ । सुन्तला महोत्सवको शनिबार कृषि राज्यमन्त्री राधिका तामाङले अवलोकन गर्नुभएको थियो ।

महोत्सवमा सुन्तला प्रदर्शनीका साथै तरकारीबालीको प्रदर्शनी गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिनुभयो । याङ्दीका कृषक डिलबहादुर थापाका अनुसार गत वर्षको तुलनामा सुन्तलाको दाना साना छ भने उत्पादनमा वृद्धि भएको छ । थापाले भन्नुभयो, “सुन्तलाको फूल खिलेर दाना लाग्ने बेलामा पानीको अभाव भयो जसले गर्दा साना दाना लागेको छ । खडेरीले गर्दा सुन्तला रसिलो पनि छैन ।” किसानले सुन्तला बिक्री गरी लाखौँ आम्दानी लिने गरेका छन् । सुन्तलाले बर्सेनि आम्दानी दिए पनि बगैँचाको सुधार, मलखादको व्यवस्थापन र पुराना रूख काँटछाँट नगर्दा सुन्तला उत्पादनमा ह्रास आएको छ । रासस