पढ्न करिब 2 मिनेट लाग्छ

साउन २१, ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ ।

पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यसको सफल परीक्षण गरिसकेको छ ।

यस सम्बन्धी आवश्यक प्रविधि भित्र्याएर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ प्रशोधन गर्न सफल भइसकेको प्रतिष्ठानले जनाएको छ ।

पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधि नेपालमा सफल भइसकेको प्रतिष्ठानअन्तर्गत प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले बताए । एक किलोग्राम प्लास्टिकबाट आठ सय मिलिलिटर भन्दा बढी पेट्रोलियम पदार्थ उत्पादन भइरहेको पनि उनले बताए ।

तेलको गुणस्तर र प्रयोग कहाँ एंव कसरी गर्ने भन्ने विषयमा अहिले अध्ययन/अनुसन्धान भइरहेको छ, उनले भने, “यी विषयमा पनि अध्ययन सकिएपछि हामी स्थानीय निकायसँग सहकार्य गरेर सहरी क्षेत्रमा थुप्रिएका प्लास्टिकको व्यवस्थापनतर्फ लाग्नेछौं ।”

पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरा नेपालका लागि नयाँ विषय भए पनि विश्वका लागि भने होइन । पेट्रोलियम पदार्थबाट नै पोलिथिन बन्ने भएकाले पोलिथिनलाई तताएर फेरि पेट्रोलियम पदार्थ बनाउन सकिन्छ ।

नेपालमा दुई वर्ष पहिले प्रतिष्ठान र ‘इको प्लास्टिक जापान’ नामक संस्थाबीच यो क्षेत्रमा अध्ययनका लागि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

‘सुरुको वर्षमा एक किलो झोलालाई मात्रै प्रशोधन गर्ने मेसिन थियो, अहिले प्रतिष्ठान आफैँंले १० किलो प्रशोधन गर्न मिल्ने मेसिन खरिद गरेको छ,’ उनले भने, “अध्ययन सकिएपछि प्लास्टिकको व्यवस्थापनका लागि टन प्रशोधन गर्ने मेसिन खरिद गर्नुपर्छ ।”

पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने हो भने यसबाट दोहोरो फाइदा लिन सकिन्छ, डा ढुंगेलले भने, ‘खपत भएका पोलिथिनको व्यवस्थापन हुँदा वातावरणमा स्वच्छता र सफाइमा सहयोग पुग्न छ भने पेट्रोलियम पदार्थको उत्पादन स्वदेशमै हुनेछ ।’

“भोलि सबै प्लास्टिकलाई प्रशोधन गर्दा आयात हुने पेट्रोलियम पदार्थको मात्रा समेत कम गर्न सकिनेछ,” उनले भने ।

अहिले नगरपालिकाको संख्या ह्वात्तै बढेको छ । फोहोरमैलाको व्यवस्थापन नयाँ नगरपालिकाका लागि प्रमुख चुनौती भएको सन्दर्भमा दुई÷चारवटा नगरपालिका मिलेर पोलिथिन प्रशोधन गर्ने उपकरण किन्न र सञ्चालन गर्न सकिन्छ, यसबाट फोहरमैला समेत व्यवस्थापन हुने दावी डा ढुंगेलको छ ।

उनले भने, “खरिद गर्न रकम मिलाएर हालेर सबैलाई पायकपर्ने ठाउँमा प्रशोधन केन्द्र चलाउन सकिनेछ ।” प्रतिष्ठानले स्थानीय निकायसँग सहकार्य बढाउने पनि उहाँले बताउनुभयो । पोलिथिन झोला प्रशोधन गर्ने खर्च पेट्रोलियम पदार्थले नै पुर्याउनेछ डा ढुंगेलले भने । रासस