२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

३० भाद्र २०८२, सोमबार ०७:४९

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।
आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिनुहुन्थ्यो । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उहाँ उत्तिकै आशावादी हुनुहुन्छ । रसिलो आँखा पार्दै उहाँले भन्नुभयो, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भन्नुभयो, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थप्नुभयो, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताउनुभयो । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताउनुभयो । उहाँले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताउनुभयो ।

सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाउनुभयो ।
यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन