२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक खाताप्रति महिलाको बढ्दो आकर्षण

२०७६, २५ भाद्र बुधबार ०८:२५

विमलबहादुर विष्ट | भदौ २५, डोटी | जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई जानुभएको छ । 

ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ आफू घर आउँदा उहाँले आफँै पनि बोकेर आउने गर्नुहुन्थ्यो । दुःख गरी कमाएको पैसा आफूले बोकेर ल्याउँदा होस् वा अरू कसैको हातमा पठाउँदा, बाटोमा पैसा लुट्छन् कि भन्ने डर सधैँ हुन्थ्यो, खेमराजलाई । 

अचेल भने खेमराज विक ढुक्कसँग पैसा पठाउने गर्नुहुन्छ । उहाँकी धर्मपत्नी ईश्वरीले करीब एक वर्षपहिले डोटीमा रहेको एभरेष्ट बैंकमा खाता खोलेपछि अब खेमराजले न त पैसा बोकेर ल्याउनुपर्छ न बाटोमा लुटिने डर छ । श्रीमान्ले अहिले खातामै पैसा पठाउन थालेपछि आफू निकै खुशी भएको खेमराज विककी श्रीमती ईश्वरी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्ले पैसा खातामै पठाइरहनुहुन्छ, मलाई चाहिएको जति झिक्छु, बाँकी बैंकमै रहन्छ, न चोरको डर, न हराउने डर छ अहिले त ।” 

सोही गाउँकी ३० वर्षीया उसा बोहराले पनि बैंकमा खाता खोल्नुभएको छ । रोजगारीका लागि मलेसियामा रहेका उहाँका श्रीमान्ले मलेसियाबाट पैसा पठाउँदा उहाँकै खातामा पठाउने गर्नुहुन्छ । आइएमई गर्नुपर्ने, अर्काको खातामा पैसा मगाउनुपर्ने झन्झटबाट अहिले आफू मुक्त भएको उषा बोहराले  बताउनुभयो । 

ईश्वरी र उषाजस्तै ३५ वर्षीया पवित्रा बोहराले पनि बैंकमा खाता खोल्नुभएको छ । पवित्राका श्रीमान् श्रीमती खेतीपातीकै काममा घरैमा व्यस्त हुनुहुन्छ । उहाँहरुले पालेका कुखुरा, बाख्रा बिक्रीबाट आएको सानोतिनो कमाई घर खर्चबाट बचेपछि बैंकमा जम्मा गर्ने गर्नुभएको छ । विगतको तुलनामा अहिले गाउँतिरका महिलाहरु बैंक खाता खोल्नतिर आकर्षित भएका छन् । धामीगाउँमा रहेको ३० सदस्यीय महिला समूहमा सबैले बैंकमा खाता खोलेका छन् । “कुनै सदस्यको आफ्नो नाममा नभएर श्रीमान्को नाममा होला, कुनैको आफ्नै नाममा होला”, समूहकी सदस्य पवित्रा बोहराले भन्नुभयो, “प्रत्येक घरका एक जनाको बैंकमा खाता छ, सबैले पैसा बैंकमै जम्मा गर्ने गरेका छन् ।” 

सुरक्षित वैदेशिक रोजगार र बचतका बारेमा छलफल गर्नका लागि गठन भएको एकता सुरक्षित आप्रवासन समूह गठन भएपछि सबैले बैंक खाता खोलेको पवित्रा बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब तीन वर्ष भयो हामीले समूह गठन गरेको, यसअघि गाउँमा धेरै भए चार÷पाँच जनाको मात्रै खाता थियो होला तर अहिले समूहका सबै सदस्यको नाममा खाता रहेको छ ।” 

सुरक्षित आप्रवासनको क्षेत्रमा जिल्लामा काम गर्दै आएको ‘निड्स नेपाल’ नामक एक गैरसरकारी संस्थाले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरणमा बैंक खाताको महत्वका बारेमा जानकारी गराएपछि आफूहरुले खाता खोलेको समूहकी अध्यक्ष उषा बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी मुख्य रुपमा वैदेशिक रोजगारको विषयमा छलफल गर्ने गर्छौं । त्यसका साथसाथै बचतको विषयमा पनि छलफल गर्ने गर्छौं र बैंकमा नै सबै कारोवार गर्छौं ।” यति मात्र नभई उक्त समूहको मासिक बचतका लागि निड्स नेपालले सहयोग गरिरहेको छ । 

संस्थाले प्रतिव्यक्ति खाजाबापत दिँदै आएको रु ३० खाजा नखाई बचत गरिरहेका छन् महिलाहरुले । यसरी जम्मा गरेको रकम हाल कोषमा रु ५२ हजार भएको छ । उक्त कोषको रकम चलाएबापत समूहका सदस्यहरुले १२ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ भने समूहभन्दा बाहिर यदि कसैले ऋण लिए २४ प्रतिशत ब्याज तिर्नुपर्ने नियम बनाइएको उक्त समूहकी सदस्य प्रतिभा बोहराले जानकारी दिनुभयो  । मुख्यतः वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने हिसाबले आफूहरुले परियोजनामार्फत महिलालाई सचेत गराइरहेको निड्स नेपालका कार्यक्रम संयोजक प्रकाशचन्द्र मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा कमाएको पैसा कसरी सुरक्षित घरमा पुर्याउने भन्ने उद्देश्यले हामीले यो कोष र समूह बनाएका हौँ, हामीले सोचेअनुसार काम भइरहेकाले हामी पनि खुशी छौँ ।” विदेशमा कमाएको पैसा सुरक्षित ल्याउन नसक्दा बाटैमा लुटिने र कामका लागि गएकाहरु उतै हराउने जस्ता घटना डोटीमा धेरै हुने गरेको पाइएकाले यसबारेमा सचेतना जगाउन आवश्यक रहेको कार्यक्रम संयोजक मडैले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण