2026-08-31 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्वी चितवनमा हावाहुरी र असिनाले पुर्याएको क्षतिको विवरण तत्काल लिइने

नारायण अधिकारी | वैशाख ८, चितवन | शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत सङ्कलन गर्ने निर्णय गरिएको हो । 

कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति पुगेको छ । क्षतिको कृषि ज्ञानकेन्द्र भरतपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र स्थानीय तहहरुसँग समन्वय गरेर विवरण लिई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित निकायमा पठाइने भएको छ । बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले हावाहुरी र असिनाका कारण पूर्वी चितवनका कृषकले ठूलो नोक्सान व्यहोर्नु परेको भन्दै राहतका लागि आवश्यक पहल थाल्नुपर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानले मल बीउ वितरण गर्न आग्रह गर्दै अहिलेका बालीलाई आवश्यक पर्ने मल बीउ व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मल, बीउ, औजार र कृषिजन्य उत्पादनको ढुवानीमा रोक नलगाइएको तर भीडभाड गर्न नहुने बताउनुभयो । कृषि ज्ञान केन्द्रको सिफारिसमा कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्न प्रशासन सकारात्मक रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा कृषिज्ञान केन्द्रका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, साल्ट ट्रेडिङ लिमिटेडका चितवन प्रमुख बुद्धिविनोद दाहाल र कृषि सामग्री केन्द्र चितवनका प्रमुख रवीन्द्र गौतमले कृषि उत्पादन, बजारीकरण र मल बीउको अहिलेको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । 

भरतपुर अस्पतालको अन्य सेवा सुचारु 

कोभिड १९ को सङ्क्रमण देखिएर राखिएको भरतपुर अस्पतालमा अन्य अत्यावश्यक सेवा बन्द नहुने जनाइएको छ । कोरोना सङ्क्रमण देखिएकालाई अस्पतालको एउटा भवनको भुइँ तलामा आवतजावत बन्द गराएर राखिएको हुँदा अत्यावश्यक सेवा सुरक्षित तवरबाट सञ्चालन गरिएको छ । 

अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा सङ्क्रमण भएकालाई अस्पतालको ब्लक ए को भुइँतलामा आवतजावत बन्द गरी आवश्यक प्रविधि जडान गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “अन्य सेवालाई समेत प्रभावकारी बनाउन सेवाग्राहीलाई असर नपर्ने गरी व्यवस्थापन गरिएको छ ।” अस्पतालको बि ब्लकमा प्रसूति सेवालगायतको नेपाल सरकारका प्राथमिकतामा रहेका सेवा रहेका छन् । 

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीद्वारा जारी विज्ञप्तिमा ब्लक ए को माथिल्लो तलामा आकस्मिक शल्यक्रियाको व्यवस्था र अस्पतालको आकस्मिक सेवाका लागि आएका बिरामीको उपचार प्रक्रियालाई व्यवस्थित बनाइएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “सबै आकस्मिकमार्फत भर्ना भएका बिरामीका लागि यस अस्पतालका विभागहरु खुल्ला छन् र कोभिड–१९ को त्रासका कारण हतोत्साहित हुनु नपर्ने जानकारी गराउँदछौँ ।”

सङ्क्रमण देखिएका बिरामी राखिएको आइसोलेसन क्याबिनमा इन्टरनेट र सिसीटिभी मनिटरिङमा रहेको हुनाले अन्य कुनै पनि हाल प्रद्धत्त सेवा अवरुद्ध नहुने र निर्धक्क सेवा लिनसमेत आग्रह गरिएको छ । सो अस्पतालमा हाल कोभिड–१९ पुष्टि भएका जिल्लाकै राप्ती नगरपालिकाका दुईलाई राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

केन्द्रीयस्तरको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्् । सामान्य समस्या भएमा अस्पतालका विज्ञ चिकित्सकसँग टेलिफोन संवादमार्फत सेवा लिन सकिने पनि विज्ञप्तिमा जनाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पोजेटिभ देखिएका बिरामीसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मीले पूर्ण सुरक्षित भएर उपचार एवं परामर्श दिने भएकाले उपचार गर्न आउने अन्य बिरामी डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । निःशुल्क र न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदै आएको सरकारी अस्पतालको सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले व्यवस्थापन गरिएको अधिकारीले जानकारी दिनुभयो । 

यसैबीच भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई आइतबार १०० थान एन९५ मास्क प्रदान गर्नुभएको छ । उहाँले अस्पताल विकास समितिका अध्यक्ष अधिकारीको रोहबरमा मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीलाई मास्क हस्तान्तरण गर्नुभएको हो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको राजभण्डारीले बताउनुभयो । यसअघि राजभण्डारी अध्यक्ष हुँदा अस्पताल विकासमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । 

तितेपाती मिसाएको स्यानिटाइजर 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले तितेपाती मिसाएर ह्याण्ड स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयले बनाएको स्यानिटाइजर कृषक एवं कृषि उत्पादन ओसारपसार गर्नेलाई वितरण गरिने छ । 

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रद्वारा ह्याण्ड स्यानिटाइजर उत्पादन गरिएको हो । केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरियाका अनुसार ह्याण्ड स्यानिटाइजरमा तितेपातीको तेल शून्य दशमलव १२ प्रतिशत, इथानल ८० प्रतिशत, ग्लिसिरल एक दशमलव पाँच प्रतिशत, हाइड्रोजन पेरोक्साइड शून्य दशमलव १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरेर तयार गरिएको हो । 

विश्वविद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको प्रत्यक्ष निगरानीमा स्यानिटाइजर निर्माण गरिएको कडरियाले जानकारी दिनुभयो । सापकोटाले नेपालमा पाइने तितेपातीको मोलिक्युलर एन्ड बायोकेमिकल प्रोपर्टीजमा विद्यावारिधि गर्दै हुनुहुन्छ । पहिलो चरणमा १८० लिटर तयार गरिएको स्यानिटाइजरलाई २०० एमएलको बोटलमा प्याकिङ गरिएको छ । एक व्यक्तिलाई २०० देखि ६०० एमएलसम्म दिइने कडरियाले जानकारी दिनुभयो । रसायनशास्त्री सापकोटाले बजारमा रासायनिक पदार्थको अभाव रहेको र आफूहरु थप रासायनिक पदार्थ खोजिरहेको भन्दै पर्याप्त हुनासाथ ठूलो परिमाणमा ह्याण्ड स्यानिटाइजर उत्पादन गरी निरन्तररूपमा वितरण गर्ने बताउनुभयो । 

भरतपुर महानगरपालिका आसपासका कृषक एवं कृषि वस्तु बिक्रेतालाई प्राथमिकता दिएर स्यानिटाइजर वितरण गरिने जनाइएको छ । अनुसन्धान तथा प्रसार निर्देशनालयको आर्थिक एवं प्र्राविधिक सहयोगमा स्यानिटाइजर निर्माण गरिएको हो । मास्क, पञ्जा, स्यानिटाइजरजस्ता सामान्य आधारभूत वस्तु प्रयोग गर्न नपाई कोरोना भाइरसको सङ्क्रमणको जोखिममा पनि कृषि उत्पादन घरघरमा पुर्याइरहेका कृषक एवं कृषि उत्पादकले यसको प्रत्यक्ष लाभ लिने छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला