चैत १९, काठमाडौँ । डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती त्यहाँका किसानहरुले पहलकदमी थालेका छन् । यसैक्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले आज (बिहिवार) कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

त्यसक्रममा किसानहरुले मन्त्री अर्याललाई त्यहाँ उत्पादित जुनार उपहार दिँदै सिँचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ती सिचाईको व्यवस्थाका निम्ती सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन बृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिनुभयो । उहाँले जुनार उत्पादन क्षेत्रमा सिचाईको व्यवस्था समेत गरिने बताउनुभयो ।

भागेश्वर गाउँपालिका ५ चुल्ल–शिराड डडेलधुराका किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् ।

अहिले बजारीकरणका निम्ती १३ सय किलो जुनार लिएर काठमाडौंमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिनुभयो । ‘बाउबाजेको पालादेखी नै डडेलधुरामा जुनारको खेती गर्दै आएको हो तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था थियो’, उहाँले भन्नुभयो, ‘बजार नपाउने समस्या थियो । त्यसैले अहिले हामीलृ कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौं आएका हौ ।’

जुनार लिएर काठमाडौं आएका समूहका अगुवा किसान नारायणदत्त जोशीले सिचाईको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरु राख्यौ ।

उहाँले जुनारको बजारीकरण र सिँचाईका निम्ती सहयोग गर्छौ भन्नुभएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेलधुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रबद्र्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्र डडेलधुराले बजारीकरणका निम्ती ढुवानीमा सहयोग गरेपछी किसानहरु काठमाडौंसम्म जुनार लिएर आएका हुन् । केन्द्रले नयाँ बिरुवा रोप्नका निम्ती समेत सहयोग गरेको छ ।

द लोकल्स काठमाडौंले बजारीकरणमा सहयोग गर्दै आएको छ ।

द लोकल्सका सञ्चालक सुहृद चापागाईले किसानहरुबाट उचित मूल्यमा जुनार लिएर विभिन्न बजारहरुमा बजारीकरणमा सहयोग गर्दै आएको बताउनुभयो ।