२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय जनगणना : पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारेको विवरण सङ्कलन गरिँदै

२०७७, २६ चैत्र बिहीबार ०५:०५

सिद्धराज भट्ट । चैत २६, सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ । 

तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले यो पटकको जनगणना कार्य यसअघिका जनगणनाको तुलनामा फरक र विस्तृत ढङ्गले गर्न लागिएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “जनगणना कार्यका लागि कैलाली जिल्लामा दुई सहित सुदूरपश्चिम प्रदेशभरी ३७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भइरहेको छ ।”

जनगणनाको आवश्यक पूर्वतयारीका लागि धनगढीमा तालीम गोष्ठी सञ्चालन भइरहेको छ । पूर्वतयारीस्वरूप सुपरीवेक्षक तालीम, इलाका जनगणना अधिकारीको तालीम, प्रशिक्षकका रूपमा शिक्षकलाई तालीमजस्ता कार्य भइरहेका छन् । जनगणनाका लागि वैशाख २६ देखि जेठ १४ गतेसम्ममा घरपरिवारको सूचीकरण गर्ने तयारी छ । जनगणनाका क्रममा  सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्याङ्क सङ्कलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था, वडाको प्रमुख राजस्वको स्रोत, सीमान्तकृत लोपोन्मुख जात, वडामा भौतिक, स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति, वन्यजन्तु, जङ्गली जनावरबाट पुग्ने गरेको क्षतिको विवरणसमेत सङ्कलन हुँदैछ । 

सामुदायिक प्रश्नावलीको उत्तरदाताका रूपमा वडाध्यक्ष वा वडासचिव रहने छन् । गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । राष्ट्रिय जनगणना, २०७८ देशभरका घर दैलोमा निश्चित समयभित्र पुगी सबै घर, परिवार तथा व्यक्तिको विवरण सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रशोधन एवं प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो । नेपालमा पहिलोपटक जनगणना विसं १९६८ देखि शुरु भएको हो । 

विसं २०७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशमा सङ्घीय व्यवस्था पछिको पहिलो जनगणना हो । राष्ट्रिय जनगणना कार्य वा तथ्याङ्क सङ्कलनको कार्य दुई चरणमा सञ्चालन हुँदैछ । पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घरलगायतको विवरण र दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घर परिवार तथा व्यक्तिको जनसाङ्खिकलगायतका विवरण सङ्कलन गर्ने तयारी छ । 

जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य गर्न देशभर झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक खटाउने तयारी छ ।  जनगणनासम्बन्धी तालीमलाई चरणबद्ध रूपमा सञ्चालन गरी केन्द्रीय र प्रादेशिकस्तरमा पर्याप्त सङ्ख्यामा विशेषरूपले प्रशिक्षित प्रशिक्षक उत्पादन गर्ने र जिल्ला एवं स्थानीय जनगणना कार्यालयस्तरमा सञ्चालन हुने सुपरीवेक्षक र गणक तालीममा दक्ष स्रोत व्यक्ति÷प्रशिक्षक उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

यसका लागि केन्द्रदेखि स्थानीयस्तरसम्म सञ्चालन हुने तालीमलाई सहजीकरण गर्न केन्द्रमा २८० र प्रदेशमा एक हजार ५५० प्रशिक्षक उत्पादन गर्ने योजना रहेको जनाइएको छ । विसं २०६८ मा भएको राष्ट्रिय जनगणनअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला