पढ्न करिब 3 मिनेट लाग्छ

सञ्चिता घिमिरे । वैशाख १९, काठमाडौँ । निषेधाज्ञाका कारण देशभरका धेरै सडक निर्माण अघि बढ्न सकेका छैनन् । अहिले धेरै जिल्लामा निषेधाज्ञा जारी भएको र नभएका जिल्लामा पनि कोभिड–१९ सङ्क्रमण बढिरहेकाले काम गर्ने वातावरण नभएको सडक विभागले जनाएको छ ।

अहिले कतिपय जिल्लामा नै र कतिपय जिल्लामा आंशिक निषेधाज्ञा जारी भएकाले निर्माण अवरुद्ध भइरहेको विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताउनुभयो । उहाँका अनुसार निर्माणस्थलमा पहिला नै निर्माण सामग्री र कामदार रहेका ठाउँमा काम भइरहेको छ । निर्माण सामग्री वा नयाँ कामदार लैजान नपाउने हुँदा काम भइरहेका बाहेक नयाँ ठाउँमा काम शुरु हुन सकिएको छैन ।

निषेधाज्ञा जारी हुनु पहिलेभन्दा अहिले झण्डै आधा काम भइरहेको हुनसक्ने प्रवक्ता सापकोटाले बताउनुभयो । निषेधाज्ञा जारी भएको चौथो दिनसम्म कति योजना वा ठेक्कामा काम जारी छ र कति अवरुद्ध भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सङ्क्रमितको सङ्ख्या उच्च रहेको काठमाडौँ उपत्यकामा निर्माण एक्कासि घटेको छ । उपत्यकाका जिल्लामा सानातिना काम जारी राख्न खोजिएको भए पनि त्यसमासमेत बाधा आएको छ । उपमहानिर्देशक नेपालले भन्नुभयो, “उपत्यकामा निर्माणको काम ठप्प जस्तै छ ।”

निषेधाज्ञा जारी भएका बाहेक अरू जिल्लामा पनि अहिले काम हुन सकेको छैन । निषेधाज्ञा जारी भएका जिल्ला भएर सामग्री लानुपर्ने जिल्लामा पनि समस्या देखिएको प्रवक्ता नेपालले बताउनुभयो । गत आर्थिक वर्षमा पनि अन्तिम चौमासिकमा नै बन्दाबन्दीको कारण निर्माणमा बाधा पुगेको थियो । दुई सातासम्म निर्माण ठप्प भएको थियो । निर्माणलाई पुनः सञ्चालन गर्न व्यवसायी र विभागले सक्रियता देखाएका थिए । त्यसपछि सरकारले निर्माण अघि बढाउन सक्ने गरी व्यवस्था मिलाएको थियो । उहाँले भन्नुभयो, “यसरी काम गर्न सकिन्छ भनेर मापदण्ड आएपछि गर्न सकिनेछ ।”

सङ्क्रमण बढिरहेर निषेधाज्ञा जारी भएमा स्वास्थ्य सावधानी अपनाएर निर्माणलाई निरन्तरता दिन सकिने प्रवक्ता नेपालले बताउनुभयो । गत आवमा जस्तै छुट्टै क्याम्प बनाएर त्यसमा कामदार राख्न सकिनेछ । त्यो क्याम्पमा प्रवेश गर्नु पहिले कामदारले अनिवार्य परीक्षण गराएर काम गराउन सकिने उहाँले बताउनुभयो । सडक निर्माणका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने भए पनि पुल निर्माण एउटै ठाउँमा बसेर गर्न सकिने हुँदा क्याम्पमा बसेर काम गर्न समस्या नहुने उहाँले बताउनुभयो । पहिले जसरी नसकिने भए पनि कामदारलाई साना सानो समूहमा राखेर काम गराउन सकिनेछ । उहाँले भन्नुभयो, “एउटै समूहमा बसेर काम गर्दा जोखिम हुँदैन ।”

अहिले निषेधाज्ञा जारी भएको थोरै दिन मात्रै भएकाले केही दिनपछि सरकारको पनि यस्तो समयमा पूर्वाधार निर्माण कसरी अघि बढाउने भन्ने मापदण्ड आउनसक्ने प्रवक्ता नेपालले बताउनुभयो । अहिले सङ्क्रमण दर दैनिक बढिरहेकाले सामान्य अवस्थामा जसरी विकास निर्माणको काम गर्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर कतिपय ठेक्काको निर्माण अघि बढाउन सकिनेछ । उहाँले भन्नुभयो, “निर्देशन र मापदण्ड आएमा त्यहीअनुसार अघि बढ्न सकिन्छ ।”

निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा काममा अघि बढाउन नसकिने अवस्था रहेको डिभिजनले जनाएको छ । बाँके र पाल्पामा निषेधाज्ञाका कारण निर्माण सुस्त भएको त्यहाँको डिभिजनले विभागलाई जानकारी गराएका छन् । उहाँका अनुसार अरू जिल्लामा र आयोजनाको खबर आउन बाँकी छ । उहाँले भन्नुभयो, “निषेधाज्ञा नभएका स्थानमा पहिले जसरी नभए पनि काम भइरहेको जानकारी आइरहेको छ ।”

वर्षौंदेखि सडक विभागको आधाभन्दा बढी निर्माणको काम अन्तिम चौमासिकमा हुने गरेको थियो । गत आवमा कोभिड बढेकाले सरकारले अन्तिम चौमासिकमा बन्दाबन्दी जारी गरेकाले निर्माण अवरुद्ध भएको थियो । चालु आवमा पनि जारी निषेधाज्ञाका कारण वार्षिक लक्ष्य पूरा नहुने देखिएको छ । रासस