नबीनबाबु अधिकारी । भदौ ७, सिन्धुली (रासस)। सिन्धुलीको तीनपाटन गाउँपालिकाले आन्तरिक किचलोका कारण चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउन सकेको छैन । यसका लागि पटक–पटक बसेको कार्यपालिकाको बैठक अनिर्णय भएपछि अहिलेसम्म बजेट आउन नसकेको हो ।

स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र असार २५ गतेसम्म बजेट ल्याई सक्नुपर्ने प्रावधान छ । असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । गत असार २५ मै बजेट ल्याउने गरी असार १८ गते र २३ गते बसेको कार्यपालिकाको बैठक अनिर्णय बनेपछि बजेट ल्याउन नसकिएको गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्षले पालिकाले निर्माण गर्दै गरेको प्रशासनिक भवनलाई १५ प्रतिशत रकम भेरिएन्स गरी थप गर्नुपर्ने र १५ प्रतिशत रकम छुट्याउने प्रतिबद्धता नआएसम्म कार्यपालिकाको बैठक नराख्ने अडानका कारण बजेट आउन ढिलाई भएको हो ।”

कार्यपालिकाका सदस्यले दबाब दिएपछि गत साउन ३२ मा कार्यपालिकाको बैठक बसेको र सो बैठक पनि अध्यक्षको अडानका कारण निर्णयमा पुग्न नसकेको बताइएको छ । उहाँले भन्नुभयो, “यस पछि यही भदौ ६ गते आइतबार भएको कार्यपालिकाको बैठकमा अध्यक्षबाट गाउँ सभाको मिति तय र बजेट निर्माण गर्ने दुई प्रस्ताव पेस भयो ।’’ पछिल्लो बैठकमा कार्यपालिका सदस्यले प्रशासनिक भवनमा १५ प्रतिशत रकम थपको विषय टुङ्गो लगाउनुपर्ने र खरिद नियमावली संशोधनसहित पास भएको भनिएको र कार्यपालिका सदस्यलाई थाहा नभएकाले छलफल गरी विवाद समाधान गर्न प्रस्ताव राख्न आग्रह गरेको बताइएको छ । उपाध्यक्ष तामाङले भन्नुभयो “अध्यक्षले यी दुई विषयमा आलटाल गर्न खोजेपछि विवाद बढ्यो र बैठकले निर्णय गर्न सकेन ।”

कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यले सुरुदेखि हालसम्म बसेको कार्यपालिकाको बैठकले गरेका निर्णय उपलब्ध गराउन माग गरेको वडा नं १ का वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठक यही साउन १० गते डाकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१५ प्रतिशत रकम थप गर्ने र खरिद नियमावली संशोधनसहित पास भएको छैन, अध्यक्षले पास भएको भन्दै हिडेपछि हामीले कार्यपालिकाले गरेका सबै निर्णय माग गरेका हौ ।”

वडा नं ११ का वडाध्यक्ष हितलाल श्रेष्ठले भेरिएन्स रकम थप गर्ने भनी झुक्याउन खाेिजएको र भेरिएन्सबापतको रकम अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका मिलेमतोमा रु ७१ लाख रकम झिकेको पाईएको आरोप लगाउनुभयो ।

यस्तै वडा नं ८ का वडाध्यक्ष रेखराज अधिकारीले बोलपत्र प्रक्रियाबाट भवन निर्माण भइरहेको र अध्यक्षलाई निर्माण गरिरहेको निर्माण व्यवसायीलाई बोलाउन र स्टमेटभन्दा बढी काम भएको भए कति काम भयो स्थलगत अवलोकन गर्न आग्रह गरेका बताउनुभयो । उहाँले भन्नुभयो“अध्यक्षको रु ७१ लाख थप्नुपर्ने अडानका कारण हालसम्म पनि बजेट आउन नसकेको हो ।”

जनताका विकासमा बजेट ल्याउनुपर्नेमा अहिले जनप्रतिनिधि आरोप प्रतिआरोपमा उत्रिएका छन् । भेरिएन्स रकम छुट्याउनुपर्ने अध्यक्षको अडान र भेरिएन्स गरेर रकम दिन आवश्यक नभएको कार्यपालिका सदस्यको अडानका कारण विवाद झन बढ्दो अवस्थामा छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाले कार्यपालिकाले गरेका निर्णय सबै आफूसँग सुरक्षित रहेको र सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले बैठकमा प्रस्ताव गरिएको र निर्णय भएको बेहोरा सबै आफूसँग रहेकाले निर्णयअनुसार नै आफू अघि बढेको बताउनुभयो । बजेट निर्माणमा कार्यपालिका सदस्यले नै अवरोध सिर्जना गरेको उहाँले आरोप लगाउनुभयो ।

अध्यक्षले भेरिएन्स रकम थप गर्नुपर्ने अडान लिए पनि निर्माणको जिम्मा पाएको एमएम÷पाएन्स जेभीले भेरिएन्स गरेर थप रकम माग नगरेको निर्माण व्यवसायी भरत कार्कीले बताउनुभयो । स्टमेट र नक्साअनुसार काम गरेको उहाँले जानकारीदिनुभयो । आफूले सम्झौता रकमअनुसार नै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने बताउनुभयो ।

विसं २०७६ माघ ९ मा रु चार करोड, ८२ लाख आठ हजार २२६ मा २०७९ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

Related News