२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

२०७८, ५ आश्विन मंगलवार ०५:१०

असोज ५, नवलपुर (रासस)। विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् ।

जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ ।

सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ–बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउनुहुन्छ । “सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ”, लामिछानेले भन्नुभयो, “झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पुर्याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पुर्याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ ।”

नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेले बताउनुभयो । “बिरामीलाई चाँडो अस्पताल पुर्याउनुपर्ने हुन्छ । तर बाटोको अवस्थाका कारण एम्बुलेन्स कुदाउन सक्ने स्थिति नै छैन”, लामिछानेले भन्नुभयो, “विस्तारै जाँदा अस्पताल ढिला पुगिने बाध्यता एउटा छ, अर्को बाटोमा भएका खाल्डाखुल्डीका कारण बिरामीको ज्यान शिथिल हुन्छ ।” यो सडकमा रहेको खाल्डाखुल्डीका कारण साह्रै समस्यामा हुने गरेको लामिछानेले बताउनुभयो ।

सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गर्नुभयो । “पहिला महिनाको बढीमा दुईपटक सवारी सर्भिसिङ गर्दा हुन्थ्यो”, चौधरीले भन्नुभयो, “अहिले दुईपटक काठमाडौँ पुगेर आउँदा गाडी सर्भिसिङ गराएन भने चलाउनै नसकिने हुन्छ ।” सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चौधरीको भनाइ छ ।

घाम लाग्दा धुलो, पानी पर्दा हिलो

सडकको दुरवस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती–१६ डण्डामा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका सन्तोष पोखरेलले बाटोमा उड्ने धुलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउनुहुन्छ । “पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ”, पोखरेलले भन्नुभयो, “मोबाइलका सामान लिन दैनिकरूपमा नारायणगढ जानुपर्ने मलाई बाटोको हिलो र धुलोका कारण झनै समस्या पर्ने गरेको छ ।”

बाटोमा भएको खाल्डाखुल्डी र घाम लाग्दा उड्ने धुलो तथा पानी पर्दा हुने हिलोका कारण मोटरसाइकल चलाउन पनि समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । “नारायणगढ पुगेर सामान ल्याउन भनेर मोटरसाइकलमा जानसक्ने अवस्था नै छैन”, पोखरेलले भन्नुभयो, “डण्डाबाट नारायणगढ पुग्दा मान्छे पूरै धुलैधुलो भइन्छ, बाटोको अवस्थाका कारण यो सडकमा मोटरसाइकल चलाउन नपरे हुन्थ्योजस्तो लाग्छ ।”

नारायणगढ–बुटवल सडकको खण्ड–१ मा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब १५ किलोमिटर सडकमात्रै गाडी गुडाउन सकिने अवस्थाको छ । दाउन्नेको १४ किलोमिटर उकालो सडकमा पक्की सडक देख्नै मुस्किल छ । दुम्किबासबाट दाउन्नेसम्मको सडकको सबै कालोपत्र उप्किएर ग्रामीण क्षेत्रको कच्ची सडकजस्तै बनेको छ ।

दशैँमा सरर गाडी गुडाउन पाइने

नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड–१ मा रहेका सबै खाल्डाखुल्डी दशैँ अगाडि नै पुरेर सकिने बताउनुभयो । “चिनियाँ कम्पनीका प्रमुख मान्छेले दशैँसम्म सबै खाल्डाखुल्डी पुरेर सकाउने प्रतिबद्धता जनाउनुभएको छ”, आचार्यले भन्नुभयो, “पुल निर्माणका लागि बनाइएका डाइभर्सनबाहेक सडकमा रहेका सबै खाल्डाखुल्डी पुरेर दशैँमा सरर गाडी गुडाउन पाइन्छ ।” निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरुले भनेअनुसार काम गरेको बताउनुभयो ।

“केही समय अगाडि मात्रै नयाँ म्यानेजर आउनुभएको छ” आचार्यले भन्नुभयो, “आयोजनालाई ब्लेम नलाग्ने (अबजस नआउने) गरी तीव्ररूपमा काम गर्छु भनेर उहाँले हामीसँग प्रतिबद्धता जनाउनुभएको छ ।” मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने सूचना अधिकारी आचार्यको भनाइ छ । नारायणगढ–बुटवल सडकको खण्ड–१ मा काम सुरु भएको साढे दुई वर्षको अवधिमा करिब आठ प्रतिशत मात्रै काम सकिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध