2026-09-20 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डलरको तुलनामा नेपाली मुद्रा सबैभन्दा कमजोर अवस्थामा, अर्थतन्त्रमा कस्तो प्रभाव?

जेठ ६, काठमाडौं | नेपालको केन्द्रीय ब्याङ्कका अनुसार अमेरिकी डलरको तुलनामा अहिले नेपाली मुद्रा सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। विभिन्न कारणले नेपाली मुद्राको अवमूल्यन हुँदा नेपालमा डलर हालसम्मकै बलियो भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू भनाइ छ।

अर्थशास्त्रीहरूका अनुसार नेपाली मुद्रा कमजोर बन्दा नेपाललाई “अनुकूलभन्दा प्रतिकूल प्रभाव” नै धेरै पर्ने देखिन्छ।

यद्यपि त्यसका केही सकारात्मक प्रभाव पनि नेपाली अर्थतन्त्रमा पर्न सक्ने उनीहरूको भनाइ छ।

मुद्रा अवमूल्यनको कारण

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार रुस-युक्रेन युद्धका कारण निम्तिएको परिस्थिति नेपाली मुद्रा कमजोर बन्ने कारणमध्येको एक हो।

त्यस्तै लगानीकर्ताहरू अमेरिकातर्फ आकर्षित हुनु र भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर हुनु पनि कारण भएको उनको भनाइ छ।

अर्थशास्त्री केशव आचार्यका अनुसार केही महिनाअघि अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर बढाएपछि धेरै लगानीकर्ता डलरतर्फ आकर्षित भएका छन्।

“त्यसले गर्दा विश्वभरि शेअर बजारमा लगानी गरिरहेकाहरूले डलरमा लगानी गर्न थालेका छन्,” उनले भने।

“भारतीय बजारमा लगानी गरिरहेकाहरू पनि अमेरिकी डलरमा आकर्षित भएकाले त्यहाँ भारतीय रुपैयाँको मूल्य पनि कम भएको छ।”

उनी भारतीय मुद्रा कमजोर बन्ने बित्तिकै नेपाली मुद्रामा त्यसको प्रभाव परेको बताउँछन्।

नेपाली मुद्राको अवस्था

नेपाल राष्ट्र ब्याङ्कले शुक्रवार एक अमेरिकी डलरको खरिद दर १२४.०७ रुपैयाँ तोकेको छ। विक्रीदर भने १२४.६७ रुपैयाँ छ।

ठिक एक महिनाअघि एक अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ १२ पैसा र विक्रीदर १२२ रुपैयाँ ७२ पैसा थियो।

भारतको केन्द्रीय ब्याङ्कका अनुसार शुक्रवार एक डलरको विनिमय दर ७७ भारतीय रुपैयाँ ६९ पैसा तोकिएको छ।

त्यहाँ ठिक एक महिनाअघि त्यस्तो दर ७६ रुपैयाँ ४१ पैसा मात्र थियो। विगत एक वर्षमा भारतीय रुपैयाँको ६ प्रतिशत अवमूल्यन भइसकेको बताइन्छ।

राष्ट्र ब्याङ्कका अधिकारी र अर्थशास्त्रीका भनाइमा नेपाली मुद्राको अवमूल्यन हुँदा पर्न सक्ने तीन प्रतिकूल प्रभाव:

१) व्यापार घाटा बढ्न सक्छ

नेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलर महँगो हुँदा नेपालको व्यापारघाटा उच्च हुने सम्भावना रहने अर्थशास्त्रीको भनाइ छ।

अर्थशास्त्री आचार्य भन्छन्, “हामी कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत आयात गर्छौँ। भारतबाट हुने चोरी निकासीको हिसाब गर्दा त त्यो अझै धेरै हुन्छ।”

“डलर महँगो हुँदा हाम्रो व्यापार घाटा र शोधनान्तर घाटा बढ्न सक्छ।”

राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट पनि डलर महँगो हुँदा व्यापार घाटा उच्च हुनेतर्फ ध्यान दिनुपर्ने अवस्था रहेको बतउँछन्। “अहिलेको परिस्थिति हेर्दा हामीले अझै केही समय केही वस्तुको आयात रोक्नुपर्ने जस्तो देखिन्छ,” उनले भने।

२) विदेशी मुद्रा सञ्चितिमा कमी

डलरको भाउ बढेको कारणले नेपालबाट विदेशिने मुद्रा धेरै हुन जाने र त्यसको प्रत्यक्ष प्रभाव विदेशी मुद्राको सञ्चितिमा पर्न सक्ने भट्टको भनाइ छ। “विदेशी मुद्रा सञ्चिति जोगाउन संवेदनशील हुनुपर्ने अवस्था छ,” उनी भन्छन्।

आचार्यका अनुसार नेपालले कैयौँ वस्तु आयात गर्नेदेखि नेपाल विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका कम्पनीलाई समेत डलर तिर्नुपर्ने हुन्छ। त्यस्तै विदेशी ऋणको भुक्तानी पनि डलरमा नै हुन्छ।

“सबैतिरको भुक्तानी डलरमा हुँदा हाम्रो विदेशी विनिमयको भण्डारमा चाप पर्छ,” उनी भन्छन्। राष्ट्र ब्याङ्कका अनुसार हाल साढे छ महिनाको आयात धान्ने विदेशी मुद्रा नेपालमा रहेको छ।

३) महँगी बढ्ने सम्भावना

आचार्यका भनाइमा डलर बलियो र नेपाली मुद्रा कमजोर बन्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पनि पर्न सक्छ।

“यसले गर्दा उपभोक्ता त महँगीले भुतुक्कै हुने अवस्था आउने भयो,” उनी भन्छन्।

“रुस-युक्रेन लडाइँले धेरै समस्या भइरहेका बेला डलरका कारण आम मूल्यवृद्धि हुने देखिन्छ।”

नेपालमा खाद्यान्न र तेलजस्ता वस्तुहरू समेत डलर तिरेर आयात गर्नुपर्ने अवस्था रहेकाले त्यसको प्रभाव सबै क्षेत्रमा पर्न सक्ने उनको भनाइ छ।

सकारात्मक प्रभाव

डलरको भाउ बढ्दा विशेषगरी निर्यातमूलक क्षेत्रलाई सकारात्मक प्रभाव पर्न सक्ने पनि अर्थशास्त्रीको भनाइ छ।

तर नेपालमा स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने निर्यातमूलक वस्तु कम भएकाले कच्चा पदार्थ डलरमै किन्नुपर्ने अवस्था रहेको आचार्य बताउँछन्।

त्यसको प्रभावले नेपालबाट निर्यात गरिने वस्तु बढ्ने उनको अनुमान छ। “डलर बलियो हुँदा हाम्रा जस्ता देशले गरेको उत्पादन सस्तो पर्थ्यो तर हामीले त्यो गर्न सक्ने अवस्था पनि देखिँदैन,” उनले भने। त्यस्तै विदेशबाट नेपालमा विप्रेषण पठाउनेहरूलाई सटहीदर बढी हुँदा नेपालमा पाउने रकममा केही फाइदा पुग्ने र पर्यटन क्षेत्रमा केही सुधार हुन सक्ने अपेक्षा पनि कतिपय अर्थशास्त्रीको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो