असार ३०, लमजुङ | लमजुङको सुन्दर बजारस्थित एक कृषक समूहले फर्जी बिल पेस गरी रकम भुक्तानीको दावि गरेको पाइएको छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा चालू आर्थिक वर्षको एक अनुदान कार्यक्रमका लागि फर्जी बिल पेस गरी रकम भुक्तानी दाबी गरेको पाइएको हो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालू आर्थिक वर्षमा सञ्चालन गरेको भैसी पकेट क्षेत्र स्थापना कार्यक्रमअन्तर्गत सुन्दर बजार नगरपालिका-२, परेवाडाँडास्थित हाँडेटार कृषक समूह छनाेट भएको थियो । समूहका लागि ९० प्रतिशत अनुदानमा १३ लाख ५० हजार रुपैया बजेट विनियोजन भएको थियो । तर अनुदान पाए पनि कृषकहरूले मापदण्डबमोजिमका कुनै पनि गतिविधि नगरी फर्जी बिल बनाएर रकम दाबी गरेको पाइएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार अपरान्ह मात्रै कागजपत्र मिलाएर रकम भुक्तानीका लागि पेस भएपछि शंका लागेर प्रत्यक्ष फिल्डमा गएको कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले बताए । ‘अन्तिम समयमा फाइल आयो, शंका लागेर स्थलगत फिल्डमा गइयो,’ डा. श्रेष्ठले भने, ‘फिल्डमा हेर्दा मापदण्डबमोजिम संरचना छैन, विलमा उल्लेख गरेअनुसार खरिद गरिएका सामग्री तथा उपकरण भेटिएन ।’

समूहमा आवद्ध कतिपय कृषकहरुले पुरानो गोठ देखाउदै नयाँ गोठ निर्माण गरिएको प्रतिवेदन प्रस्तुत गरेका र केही कृषकहरूले भने नयाँ गोठ निर्माण गरे पनि गोठमा एउटा पनि भैसी नभेटिएको कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ ।

भैसी पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत सो समूहका लागि एउटा सामूहिक भैसीपालनका लागि गोठ तथा डुढ सुधार, पाँचवटा गोठ विस्तार, एउटा च्याफकटर खरिद गर्नुपर्ने जस्ता गतिविधि रहेका थिए । कार्यविधिअनुसार काम गरेको नपाइएपछि समूहले पेस गरेको बिलबमोजिम रकम भुक्तानी गर्न नसक्ने कार्यालय प्रमुख डा. श्रेष्ठले बताए ।

सम्झौताअनुसार काम नगरेको र फर्जी बिल पेस गरेको सम्वन्धमा सम्वन्धित कृषक समूहले भने अलिअलि काम भएको तर विविध कारणले काम पूरा हुन नसकेको स्वीकार गरेको छ । मापदण्डबमोजिम काम नहुँदा भएको काम मात्रको बिल पेस गरिएको हाँडेटार कृषक समूहका अध्यक्ष हिरालाल नेपालीको दाबी छ ।

‘हाम्रो समूहका सदस्यहरूले काम पूरा नगर्नु भएकै हो,’ नेपालीले भने, ‘तर हामीले नभएको कामको विल पेस गरेका होइनौ, भएको कामको मात्रै भुक्तानी मागेका हौँ ।’

चालू आर्थिक वर्षको सुरुमा कोरोनाको प्रभाव, त्यसपछि स्थानिय तह निर्वाचनको प्रभाव र पछिल्लो समय आवश्यकताबमोजिम कामदार नपाउँदा अपेक्षित प्रगति हुन नसकेको कृषकहरूको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि जिल्लामा व्यवसायिक दूध र मासु उत्पादन वृद्धिका लागि भैसी पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रम सञ्चालन गरेको हो । सोही कार्यक्रमका लागि कृषकहरूको माग र सम्भाव्यता अध्ययन गरी सुन्दर बजार-२, हाँडेटार क्षेत्रका विविध कृषकहरूलाई समेटेर कृषक समूह गठन भएको थियो । सो समूहमा १९ जना कृषक आवद्ध छन् । कार्यविधिअनुसार समूहमा आवद्ध कृषकहरूमध्ये आधिकांशले कार्यविधिअनुसार काम नगरी अनुदान पचाउने ध्येय राखेको कार्यालयको बुझाई छ ।